सप्तरीका शीर्ष स्रष्टा ‘आदि महाकवि’ उदयानन्द अर्याल
महेन्द्र राजमार्ग अहिले पूर्व–पश्चिम राजमार्गको नामले चिनिएको छ । पूर्वमा सप्तकोशीपारि र पश्चिममा बलानपारि फैलिएको सप्तरी जिल्ला अहिले कोशी र बलान नदीबिच समेटिएको छ । सप्तरीको शिरान चुरे पवर्तको फेदैफेद गएको पूर्व–पश्चिम राजमार्गको ५९ किलोमिटर खण्ड यस जिल्लामा पर्दछ । पूर्वबाट कोशी ब्यारेज पार गरी अघि बढ्दा यस राजमार्गमा भारदह, बरमझिया, कञ्चनपुर आदि गाउँ भेटिन्छ । राजमार्ग छेवैको बरमझिया बजारमा उत्पादित पेडा (मिठाई) निकै लोकप्रिय छ । बरमझियादेखि पूर्व र कोशी टप्पु वन्यजन्तु आरक्षदेखि पश्चिमको इलाकाभित्र औरा, मुखियापट्टी, बिसवारी, बैरवा आदि गाउँ पर्दछ । वैरवा (अर्थात् बैरवा) गाउँको नाम कसरी रहन गयो भन्ने सवालमा बिर्तावाल वीरेश्वर अर्यालले बसोवास गरेकाले वा उनले वैरवा गाउँ बसाएको सन्दर्भमा वैरवा (अपभ्रंश भएर बैरवा भनिएको) नाम कायम भएको बढी तार्किक देखिन्छ । तर कतै कतै उदयानन्द अर्यालका पिताको नाम विश्वेश्वर अर्याल भनिएको पनि देखिन्छ ।
वैरबा गाउँमा लक्ष्मीनारायण मन्दिरको स्थापना यी उदयानन्द अर्यालले नै गरेका थिए । इतिहासकार हरिकान्त लाल दासले आफ्नो पुस्तक ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’मा उल्लेख भए अनुसार शाहवंशका संस्थापक राजा द्रव्य शाहलाई सहयोग गर्ने नारायणदास अज्र्यालका वंशज विश्वेश्वर अज्र्यालले जीविकोपार्जनका निम्ति पश्चिम नेपालबाट पूर्वतर्फ आई सेन वंशीय राजा मुकुन्द सेन दोस्रोबाट सप्तरी जिल्लाको बैरवा गाउँमा बिर्ता पाएका थिए । १८१६ सालपछि उनी विजयपुरका युवराज कर्ण सेन र शाहज्यादी मैयाँलाई पढाउने काममा नियुक्त भएका थिए । त्यसबापत उनलाई सप्तरी जिल्लामै दुधैला र मुसहर्निया गाउँको बिर्ता प्राप्त भएको थियो । उनै विश्वेश्वर अज्र्यालका छोरा उदयानन्द अर्याल (अज्र्याल) आफ्नो समयका प्रकाण्ड विद्वान् थिए ।
उदयानन्द अर्याल नेपाली भाषाका ठूला कवि थिए । साथै संस्कृत, हिन्दी, उर्दू, फारसी, नेवारी, भोजपुरी, मैथिली भाषामा पनि प्रवीण थिए । इतिहासकार दासका अनुसार, पुख्र्यौली हिसाबले ज्योतिषशास्त्रमा उनको दखल थियो । मुख्तियार भीमसेन थापाको समयमा यिनी अमिनको रूपमा नियुक्त भएका थिए । वैरबाको दक्षिण दिशामा अवस्थित भारदहको कंकालिनी मन्दिरको स्थापना पनि कवि उदयानन्द अर्यालले गरेका थिए ।
नेपालका ‘महाकवि’
कवि उदयानन्द अर्याल नै नेपालका आदिकवि वा महाकवि हुन् भन्ने धारणा व्यक्त गर्न थालिएको छ । यद्यपि भानुभक्त आचार्यलाई आदिकवि र लक्ष्मीप्रसाद देवकोटालाई महाकविको उपाधि दिइएको छ । खस साहित्यमा यो एक जटिल विषयको रूपमा उत्पन्न भएको देखिन्छ । यी महान् व्यक्तित्वको विषयमा शोध गरेर धेरैले स्नातकोत्तर प्राप्त गरेका छन् । तर कता–कता उदयानन्द अर्यालले पाउनैपर्ने वास्तविक पहिचान र सम्मान पाउन नसकेको निष्कर्ष निकाल्ने गरिन्छ । कवि उदयानन्द अर्याललाई उचित पहिचान दिलाउन उनको स्मृतिमा स्थापित ‘उदयानन्द स्मृति प्रतिष्ठान’ क्रियाशील रहेको देखिन्छ । उक्त प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा वि.सं. २०७८ मा कवि अर्यालको जन्मस्थल सप्तरीको वैरबामा एक साहित्यिक सम्मेलन आयोजना गरेर उनलाई उचित पहिचान र सम्मान दिन राज्य व्यवस्था र साहित्यिक क्षेत्रको ढोका ढकढकाएको देखिन्छ ।
शाह राजवंशको शासन व्यवस्थामा तनहुँ, कास्की, लमजुङको बोलबाला थियो । त्यसैले उनीहरूले तनहुँका भानुभक्तलाई साहित्यको शीर्षमा स्थापित गरे । कवि उदयानन्द अर्याल आदिकवि भए पनि उनलाई चिन्ने काम उनीहरूले गरेनन् । उदयानन्द अर्याल खस साहित्यका स्रष्टा भए पनि मधेसका भएकाले उनीप्रति विभेद भयो । आज शासन व्यवस्था बदलिएको छ । स्रष्टा भानुभक्तलाई प्रदान गरिएको आदिकविको पगडी खोस्ने कुरा होइन, तर समय र सिर्जनाको धरातलमा निष्पक्ष मूल्यांकन हुनुपर्छ । पात्रताको उचित मूल्यांकन नभए इतिहास रुन्छ ।
पात्रताको उचित मूल्यांकन नगरी पारितोषिक तोकिएमा दूधमा विष मिसाएसरह हुन्छ, जुन नाङ्गो आँखाले देखिँदैन तर सेवन गरे ज्यान जान सक्छ । गुरु द्रोणाचार्यले छोरा अश्वस्थामालाई दुर्योधनको सट्टा अर्जुनसँग मित्रता साध्न सुझाएका थिए । तर अश्वस्थामाले त्यसलाई नकार्दै सबै शिष्यभन्दा अर्जुनलाई बढी स्थान दिएर पक्षपात गरेको आरोप लगाए । गुरु द्रोणाचार्यले भनेका थिए— नदीले पात्र हेरेर जलको मात्रा कम बेसी दिँदैन । यो उसले लिएर आएको पात्रतामा निर्भर हुन्छ कि उसले कति जल प्राप्त गर्छ । अञ्जुली लिएर गएमा त्यति मात्र जल प्राप्त गर्न सक्छ, जति उसको अञ्जुलीमा अट्छ । गाग्री लिएर गएमा उसले गाग्रीभरि जल प्राप्त गर्न सक्छ । त्यसैले पात्र मात्र भएर सबै प्राप्त हुँदैन, त्यसका लागि पात्रता पनि त्यतिकै आवश्यक हुन्छ भनी भनेका थिए ।
कवि उदयानन्द अर्याल के र कति कारणले आदिकवि वा महाकवि हुन् भन्ने विषयमा आवश्यक छलफल हुनुपर्छ । इतिहास र प्रतिभाप्रति कुनै कारणले अन्याय परेको छ भने न्याय दिनु बौद्धिक र साहित्यिक जगतको जिम्मेवारी पनि हो । कवि उदयानन्द अर्याल, आदिकवि भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको काल र योगदानको तुलनात्मक अध्ययन गरिनु आवश्यक देखिन्छ । यस प्रश्नलाई अनन्तकालसम्म निरुत्तर बनाएर राख्न सकिँदैन । इतिहासप्रति वर्तमानले उठाएको प्रश्नको उत्तर वर्तमानले नै खोजेर भविष्यलाई सुम्पिनुपर्छ र त्यही नै सम्मानजनक हुन्छ ।
कवि उदयानन्द अर्यालले समुचित पहिचान पाउन नसकेकामा उनको समयमा नेपाल राज्य बन्दै गरेको अवस्थाबाट गुज्रिरहेको अर्थात् साहित्यिक जगत् संस्थागत भइनसकेको अवस्थालाई एक प्रमुख कारणको रूपमा लिन सकिन्छ । यस लेखको आसय ऐतिहासिक स्रष्टाहरूको तुलनात्मक अध्ययन गर्नु होइन । अपितु यस आलेख नेपाली कविता इतिहासको पूर्वप्राथमिक कालखण्डलाई नियाल्नुपर्छ कि भन्ने धारणाको औचित्यलाई बल प्रदान गर्ने उद्देश्यबाट प्रेरित छ । कवि अर्यालको जन्मस्थान, जन्मतिथि, अवसानतिथिसँगै उनका कृति, भूमिका, योगदान आदि विषयमा आवश्यक अध्ययन हुन जरुरी छ । इतिहासका पुराना पानाहरूमाथि जमेको धुलो पुछिनु आवश्यक छ ।
नेपाली कविताको विकास क्रमलाई प्राथमिक काल (वि.सं. १८२६¬¬–१९४०), माध्यमिक काल (वि.सं. १९४१–¬१९७४) र आधुनिक काल (वि.सं. १९७५ यता) गरी तीन कालखण्डमा विभाजन गरिन्छ । प्राथमिक कालखण्ड पनि दुई चरणमा विभाजित छन् — वि.सं. १८२६ देखि १८७२ सम्मको अवधि पहिलो चरण हो भने वि.सं. १८७२ देखि १९४० सम्मको अवधि दोस्रो चरण । पहिलो चरणलाई पूर्वाद्ध वा पूर्वप्राथमिक काल र दोस्रो चरणलाई उत्तराद्र्ध वा उत्तरप्राथमिक काल पनि भनिन्छ ।
पूर्वप्राथमिक कालको आरम्भ कवि सुवानन्द दास रचित ‘पृथ्वीनारायण’ कविताबाट भएको मानिन्छ । सुवानन्द दासको यही ‘पृथ्वीनारायण’ कविता (वि.सं. १८२६) नै लिखित पहिलो नेपाली कविता हो ।
पूर्वप्राथमिक कालका मुख्य कविहरूमा सुवानन्द दास, शक्तिवल्लभ अर्याल र उदयानन्द अर्यालको नाम आउँछ । वीरन्दना, युद्ध वर्णन, विजययात्रा र राजभक्ति यस चरणका कविताका मुख्य प्रवृत्ति हुन् । वीरधाराका कविताको प्रधानता रहेको यस चरणमा कवित्त छन्द शैलीका साथै वर्णमात्रिक छन्दहरूको पनि प्रयोग भएको पाइन्छ । लोकलयात्मक कवित्त छन्द एवं लोकगाथा प्रभावित विषयवस्तु ग्रहण गरेर कविता रचना गर्ने कविहरूमा सुवानन्द दास र वर्णमात्रिक छन्दलाई काव्याभिव्यक्तिको माध्यम स्विकार्ने कविहरूमा शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, राधा वल्लभ हुन् ।
सुवानन्द दासकृत ‘वीरवन्दना’ वा ‘पृथ्वीनारायण’ र ‘साढ्याको कवित्त’, शक्तिवल्लभकृत ‘तनहुँ भकुण्डो’ एवं उदयानन्दकृत ‘सिंह प्रताप वर्णन’ वा ‘पुरानु बातको अर्जी’, सुन्दरानन्द बाँडाको ‘आशानदी’, राधावल्लभ अर्यालको ‘साँढ्याको कवित्’, रामभद्रपाध्या रेग्मीको ‘बंधुविनपराष्टकं’, गुमानी पन्तको ‘फुटकर कविता’, रत्नाकर पण्डितको ‘गीत’, लक्ष्मीनारायणको ‘हरिश्चन्द्रविलाप’ आदि कविता यस चरणका प्रमुख कविता हुन् ।
यस चरणका कविहरूले साधारणतः बोलचालको भाषा नै प्रयोग गरेको पाइन्छ, तापनि सुवानन्द दास र उदयानन्द अर्यालका कवितामा हिन्दी, अवधि, उर्दू र नेवारी भाषाका शब्द समेत प्रयोग भएको पाइन्छ । यसर्थ कवि दास नै नेपालका आदिकवि हुन् भन्नुपर्छ । धादिङ जिल्लाको नेत्रावती डबजोङ पालिकास्थित कटुन्जे उनको जन्मस्थानमा नेपालको पहिलो कविको रूपमा उनको प्रतिमा स्थापना गरिएको छ ।
प्राथमिककालीन नेपाली कविताको पहिलो चरण वीरवन्दना वा वीरधारा हो । यस धारामा वीर काव्यको प्रबलता देखापर्छ । समकालीन वीर तथा वीराङ्गनाहरूको सौर्य, वीरता र विजयका गाथाप्रति समर्पित कवितालाई वीरकाव्यको संज्ञा दिइएको छ । वि.सं. १८०१ देखि १८७२ सम्मको अवधि नेपाल एकीकरणको र राज्यविस्तारको अवधि हो । पृथ्वीनारायण शाहले वि.सं. १८०१ को नुवाकोट विजयद्वारा एकीकरण अभियान प्रारम्भ गरेको एकीकरणकालीन कविताहरूको केन्द्रीय भाव शुरवीरहरूको स्तुति नै हो । वीरधाराको युग धेरै लामो नभए पनि त्यस अवधिमा अनेक कविको अभ्युदय भएको पाइन्छ । यस चरणका कविताले युगीन परिस्थितिको चित्रण सजीव ढङ्गले गरेका छन् ।
वीरकालीन कवि उदयानन्द अर्याल विशिष्ट प्रतिभा र बहुमुखी व्यक्तित्वका धनी थिए । उदयानन्द अर्याल नेपाली साहित्यका त्यस्ता पहिला कवि हुन्, जसले फुटकर कविताबाहेक खण्डकाव्य र महाकाव्यको पनि रचना गरे । कविताको ठूलो रूप महाकाव्य र खण्डकाव्य समेत रचना गरेर उनले आफूलाई प्रतिभावान् कवि प्रमाणित गरे । उदयानन्द अर्यालले ऐतिहासिक विषयवस्तुको ग्रहण गरी राष्ट्रियता एवं सांस्कृतिक दृष्टिकोणका साथै वीरताको वर्णन गरेका छन् । उनले ‘पुरानु बातको अर्जी’ कवितामा राष्ट्रनिर्माता पृथ्वीनारायणको वीरताको वर्णन गरी प्रतापसिंह शाह र बहादुर शाहका पालामा भएका घटनाको वर्णन गरेका छन् । कवि उदयानन्द अर्यालका रचनामा २६ श्लोकको ‘पुरानु बातको अर्जी’, ११ श्लोकको कुलवर्णन कविता र हात्ती मर्दा लेखिएको एउटा फुटकर श्लोक मात्र प्राप्त छन् । हाल यिनका नाममा ‘बेतालपचीसी खण्डकाव्य’ र ‘पृथ्वीन्द्रोदय’ महाकाव्य पनि जोडिन आएका छन् ।
खण्डकाव्य र महाकाव्यको प्राप्तिले कवि उदयानन्दलाई एउटा सशक्त कविका रूपमा स्थापित गरेको छ । ‘पुरानु बातको अर्जी’मा उनले पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहसम्म तीन पुस्ताको वीरगाथा गाएका छन् । प्रतापसिंहका पालामा भएको कविलासपुर युद्धका साथै बहादुर शाहको नायबीमा भएको बाइसी–चौबीसी युद्धको वर्णन कवितामा गरिएको छ । कविले श्री ५ पृथ्वीबहादुर शाह, प्रतापसिंहको सुशासक छविलाई सामुन्ने ल्याउने प्रयास गरेका छन् । जसमा यी तीनै राजाको वीरताको वर्णन गरेका छन् ।
खोज–अनुसन्धानबाट उदयानन्दले रचना गरेका थुप्रै काव्यकृतिहरू फेला परेका छन् । उनको कृतिहरूमा ‘वंश वृत्तान्त’, ‘पुरानु बातको अर्जी’, ‘बेतालपच्चीसी’ (खण्डकाव्य), ‘पृथ्वीन्द्रोदय’ (महाकाव्य), ‘दुःस्वप्न दोषहरस्तोत्र’, ‘सोमेश्वर विजय वर्णन’, ‘कुल वर्णन’का साथै फुटकर कविता पनि छन् ।
उदयानन्दको कवि व्यक्तित्वलाई अध्ययन गर्दा उनी राष्ट्रियता र वीरताप्रति आस्था राख्ने कवि थिए । उनले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक विषयका साथै एकीकरण अभियानको चित्रण यथार्थ स्पष्ट रूपमा गरेका छन् । उनले प्रस्तुत गरेका तत्कालीन युग चेतना र सामाजिक चेतनाको अभिव्यक्ति उनका रचनामा प्रस्ट भेटिन्छ । उनले कवितामा तत्कालीन न्याय व्यवस्थालाई झल्काएका छन् । उनले पौराणिक राजाहरूको न्याय व्यवस्थालाई आदर्श मानेका थिए । घर–घरका झगडाका कुरा काटेर हिँड्ने खराब प्रवृत्ति, अरूको कुभलो गर्ने खराब मन आदि प्रवृत्ति कवितामा उल्लेख गरेर समाजका सूक्ष्मतम पक्षको पनि चित्रण गरेका छन् । उनी संस्कृत र नेपाली भाषाका ज्ञाता पण्डित एवं ज्योतिष पनि थिए । उनी वीरधाराका एक अग्रीम एव सर्वश्रेष्ठ कवि हुन् ।
उदयानन्दले नेपाली साहित्यमा पहिलोपटक महाकाव्यको रचना गरेकाले महाकविको सम्मान पाउनु उचित छ । ‘पृथ्वीन्द्रोदय’ महाकाव्यमा पृथ्वीनारायणले टुक्रा–टुक्रा भएको नेपाललाई एकीकरण गरी विशाल राष्ट्र निर्माण गर्ने प्रयास गरेको, राष्ट्रभित्र शान्ति सुव्यवस्था कायम गरी जनतालाई सुख–सुविधा दिन खोजेको आदि वर्णन गरिएको छ । यो महाकाव्य शृङ्गार रस, हास्यरस, करुण रस, रौद्र रस, वीर रस, भयानक रस, वीभत्स रस, अद्भूत रस र शान्त रसले भरिएको छ । उनको महाकाव्यमा नेपाली भाषाका साथै अरबी, फारसी, हिन्दी, नेवारी र संस्कृत भाषाको समेत प्रयोग भएको देखिन्छ । तलको पद्यमा हिन्दी, फारसी, अरबी र नेपाली मिश्रित छ–
‘बाहाखातिर फलिसेर करके आया फउज गाफिली,
मादा हो रहि जफत होगइ गरम ज्यादा त हावा पाडी,
पाहा (म) देछ कि मालुमी बनी बड़े छोडो मकानपुर भली,
जाबो फेर होगि भनियो लेख्यो जवान बिच पढी ।
संस्कृत पद्य— ‘हा कष्ट ललिता लवकलतिका दावाग्निना दह्यते ।’
गोरखा दरबारका राजपुरोहित
इतिहासमा उल्लेख भए अनुसार नारायणदास अर्याल गोसाइँकुण्डको दर्शन गर्ने उद्देश्यले यात्रा गर्ने क्रममा लमजुङ आइपुगे । त्यहाँ लमजुङ राजाका पण्डित गणेश पाण्डेसँग सम्पर्क भएपछि तिनीहरूबिच आपसी सल्लाह भई त्यहाँका राजा यशोब्रह्म शाहका कान्छा छोरा राजकुमार द्रव्य शाहलाई गोरखा ल्याई राजगद्दीमा बसाले । त्यसपछि तीन सय वर्षसम्म अर्यालहरूले गोरखा दरबारमा राजपुरोहितका काम गरे । यस अर्याल वंशमा धेरै विद्वान् ज्योतिषी र कविहरू पैदा भए । त्यही क्रममा गोरखा दरबारका भलो गर्ने ६ थरहरूमा एक घर अज्र्याल (अर्याल)हरू थिए ।
कवि उदयानन्द अर्यालले ‘कुलवर्णन’मा आफ्नो वंश र आफ्नो परिचय दिएका छन् । तर त्यसमा पनि उनले जन्म मितिबारे उल्लेख गरेका छैनन् । गोरखाका राजा पृथ्वीनारायण शाहले वीरेश्वर अज्र्याललाई पूर्वी क्षेत्रको चौदण्डी राज्यको स्थिति बुझ्न पठाएका थिए । उक्त घटना सन् १७७२–७३ भन्दा अघिको थियो । त्यही साल पृथ्वीनारायणका सेनापति रामकृष्ण कुँवरको नेतृत्वमा चौदण्डी (उदयपुर) र सप्तरी विजय गरिएको थियो । यसरी वीरेश्वर अर्याल चौदण्डीमा पृथ्वीनारायणले विजयी गर्नुभन्दा केही वर्षअघि नै आएर बसेका थिए । साधुको भेषमा आएका उनलाई चौदण्डीका राजा मुकुन्द सेनले आश्रय दिएका थिए । साधुको ज्योतिषज्ञानबाट प्रभावित भएर राजा मुकुन्द सेन (द्वितीय)ले आफ्नो राज्यको अधीनमा पर्ने सप्तरी जिल्लाको बैरवा गाउँमा ९१७ बिघा, हथिनामा १० बिघा गरी जम्मा ९२७ बिघा जग्गा बिर्ता दिएका थिए । त्यसपछि वीरेश्वर अर्याल बैरवामा घर बनाई बसोबास गर्न थालेका थिए । त्यहीँ वि.सं. १८१२ मा (सन् १७५५ ई.) मा उदयानन्द अर्यालको जन्म भयो । चौदण्डी (उदयपुर)माथि पृथ्वीनारायणले विजय गरेको (सन् १७७२ मा) तीन वर्षपछि उदयानन्द अर्यालको जन्म भएको देखिन्छ । यसबाट प्रस्ट हुन्छ कि उनको जन्म सप्तरीको बैरवामा भएको थियो । नेपालकै आदि महाकवि उदयानन्द अर्यालको जन्मभूमि सप्तरी भएकामा सप्तरीवासी गौरवान्वित छन् ।
‘कुलवर्णन’का अनुसार धवलु अज्र्यालका छोरा जयभद्र र जयभद्रका छोरा परशुराम तथा उनका माहिला छोरा धरणीधर भए । धरणीधरका भाइ इन्द्रमणि भए । इन्द्रमणिका छोरा वीरेश्वर भए । वीरेश्वरका छोरा विशेश्वर र उनका छोरा महाकवि उदयानन्द अज्र्याल भए । वंशावली अनुसार अर्यालहरूमा धवलु अज्र्याल, जयभद्र अज्र्याल, वाचस्पति अज्र्याल, सत्यघर अज्र्याल, शारडघर अज्र्याल चक्रमणि अज्र्याल, वैयाकरण केशरी अज्र्याल, न्यायकेसरी अज्र्याल, दैवज्ञकेशरी अज्र्याल, लक्ष्मीनारायण अज्र्याल, शक्तिवल्लभ अज्र्याल, राधावल्लभ अज्र्याल, ललितावल्लभ अज्र्याल र मोक्षेश्वर अज्र्याललाई अज्र्याल परम्पराका विशिष्ट विद्वान् भनी गणना गरिन्छ ।
महाकवि उदयानन्द अर्याल संस्कृत भाषाका विद्वान् थिए । नेपाली साहित्यका शिरोमणि थिए । अनेकानेक भाषाका ज्ञाता थिए । ज्योतिष थिए, अमिन थिए । उनी तत्कालीन जैसी कोठा (हालको परराष्ट्र मन्त्रालय)मा जागिर खाएकाले परराष्ट्र मामिलाका जानिफकार थिए । धार्मिक तथा आध्यात्मिक पुरुष थिए । सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरको संस्थापक थिए । माटोमुनि भगवतीको प्रतिमा रहेको स्वप्न पाएर उनले उत्खनन गर्दा प्रतिमा भेटी प्रतिमा भेटेकै स्थानमा मन्दिर निर्माण गरी देवीलाई स्थापित गरेका थिए । उनले आफ्नै गाउँ बैरवामा पनि लक्ष्मीनारायणको मन्दिर निर्माण गरी मन्दिरको स्थायी व्यवस्थाका लागि जग्गा दिई गुठी स्थापना गरे ।
कवि अर्याल साहित्यजगत्का आधार स्तम्भ हुन् । यद्यपि उनी नेपाली कविताका प्रथम रचनाकार होइनन् तर काव्य रचना, विशिष्ट प्रतिभा र व्यक्तित्वका कारणले उनलाई नेपाली साहित्य जगत्ले शिखर सम्मान दिनु अपरिहार्य छ । नेपाल सरकारले कवि उदयानन्द अर्यालको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । त्यति मात्र पर्याप्त होइन । अरु पनि केही गर्न आवश्यक छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
-
लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
-
‘ऊनको स्वीटर’ले कौडा भाकामा ल्यायो नयाँ गीत ‘मखमली’
-
आयोजना कार्यान्वयनमा स्वामित्व अभाव प्रमुख समस्या