बालकुमारी घटना : ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइने

काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउने भएको छ । शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा सो निर्णय भएको हो ।
प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार बिहानको छलफलमा ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधानकार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ । त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गरेको श्रेष्ठको भनाई छ ।
प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वालाको पीएसओको लापरबाही देखिएकाले उनलाई पनि निलम्बन गर्ने निर्णय गरिएको छ । उच्च स्तरीय बैठकमा भएका निर्णयलाई कार्यान्वयन गर्न यतिबेला प्रहरीको बैठक बसिरहेको छ । यसबारे आजै निर्णय गरिने बताइएको छ ।
बैठकले ईपीएस कोरियाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । साथै मृतकको शव परिवारलाई बुझाउने र छानबिन समितिले गरेको निर्णय अनुसार थप कारबाही गरिने मन्त्री श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री