मन्त्री ज्वालाका पीएसओ र गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई कारबाही

काठमाडौँ । बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोगको आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएपछि मन्त्री ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।
प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । बालकुमारी घटनामा पीएसओ र प्रहरी अधिकारीको कमजोरी देखिएकाले निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत भएको थियो ।
छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताएका छन् ।
शनिबार बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरुसँग बालकुमारी घटनाबारे ब्रिफिङ लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने,‘आज बिहान मात्रै गृह मन्त्रालय र सम्बन्धित सुरक्षा अधिकारीहरु, प्रमुख जिल्ला अधिकार सबैको चाहिँ संयुक्त बैठक बसेर हामीले यथार्थ पत्ता लगाउने कोसिस गर्याैँ । र, अनि तुरुन्तै राजनीतिक तहमा पनि छलफल गरेर केही कदमहरु चाली सकिएको छ । हामीले यो आईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ । अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक शनिबार बस्ने जानकारी दिए । मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तुरुन्तै राहत दिने निर्णय गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार