श्वेत लुट
‘यो मोरो सोझो छ । गरिखाला जस्तो छैन ।’ छोरोको इमानदारीमाथि साहिँला जिम्वालले चिन्ता जाहेर गरे ।
यहाँ सीधा बन्नु पाप भयो । रन्जन सहर लाग्यो । जागिर भनेजस्तो मिलेन । घर फर्कने पैसा थिएन । साथीसँग पैसा मागेर गाउँ फर्क्यो । नागरिकता बोेकेर तुरुन्त जिल्ला गयो । महिना दिनभित्र पासपोर्ट बनायो । देशमा बस्न मन लागेन । गाउँको खेतबारी बन्धकी राखेर विदेश हानियो ।
दुई वर्ष नबित्दै बाढी तथा पहिरोले घर बगायो । खेतबारी सकियो । देश भए पो शासक हुन्थे । जिम्मेवारी लिने अधिकारी हुन्थे । तस्करको कालो बजारमा छक्कापञ्जा र लुटभन्दा अरू भएन । पीडामा आफन्त हुने भएनन् । मरेको लासलाई झैँ सबैले छोडिदिए । बुढा बाआमाका लागि घर नबनाई भएन । दाजुभाइ पर्ने एक मित्रसँग घडेरी माग्यो । उसले मौकामा चौका मार्यो । दोब्बर पैसा असुल्यो ।
जब जग्गा पास गर्न उसैको कारमा जिल्ला जाँदै थियो । मित्रले प्याच्च भन्यो, ‘यो फटाहा छ ।’
सोझोको रिस कडा हुने नै भयो । रञ्जनले भन्यो, ‘हेर मित्र, तिमीले बेइमानी गरेर बङ्गला गाडी जोड्यौ नि... खाडी देशमा भए तीन पटक घाँटी रेट्थ्यो । बाँकी देशमा १० भन्दा बढी वर्ष कारावास हुन्थ्यो । जसजसले बढी कमाए । के त्यो श्वेत लुट होइन र ?’
हेलम्बु–६, सिन्धुपाल्चोक