शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

नथाक्ने पाइला, नसिद्धिने सौन्दर्य

शनिबार, १४ पुस २०८०, १२ : ४०
शनिबार, १४ पुस २०८०

कहिलेकाहीँ जब आफ्नाहरू नै पराइ हुन्छन् । पराइहरू चाहिँ आफन्त बन्न आउँछन् । यो पवित्र प्रेमको परिणाम हो भनेर सोच्नै धेरै पर्दैन । प्रकृतिले दिएको सुन्दरताको स्वभाव हो । त्यसैले त देश–विदेशका यात्री यात्रामा निस्केर संसार घुमिरहेछन् । यो घुमघामको सौजन्यमा प्रकृति र प्रेम, जीवन र प्रकृति निकट भएर घुमन्तेलाई यात्रामा आत्मबल बढाइदिँदै उत्साहित पारिरहँदोरहेछ । हिँडेर नथाक्ने पाइला, देखेर नसिद्धिने सौन्दर्यमा समाहित हुँदै यात्राले विश्राम लिन नमान्दोरहेछ ।

असीम सुन्दरताहरूले यात्रारत हरेक यात्रीहरूलाई मायालु शुभेच्छाको सन्देश दिँदै आरामदायी यात्राको अविस्मरणीय छाप दिने । खुसी निम्त्याएर जिन्दगी रमाउने र बाँच्ने प्रेरणा प्रदान गर्ने । यति भएपछि हिँड्नलाई कठिन पनि नलाग्दोरहेछ । बरू बाटो नछोटियोस्, यसरी नै हिमाल, पहाड, झरना, खोला, वनजङ्गल हेर्दै हिँडिरहन पाइयोस् भन्ने चाहना हुँदोरहेछ ।

बाटाभरि यात्री, होटलभरि यात्रीकै हुल । जति हुल भए पनि हुलदङ्गा छैन । बस्न, खान र हेर्नुपर्ने दृश्यको कुनै कमी छैन । मन हर्ने प्रकृतिको शान्त किनार । जहाँ एक देशका, एकै प्रदेशका वा एउटै धर्मकर्मका मानिस होइन अनेक देशका भ्रमणशील मानिसको जत्था, जो एउटै जातधर्म र देश भएर हिँड्नुसम्म हिँडेका छन् । अनि घुमन्ते स्वभावमा मृदुमुस्कानका साथ बोल्दै, हाँस्दै, हेर्दै, रमाउँदै लम्किरहेका छन् । त्यहाँ उमेरको हिसाब छैन । हिँड्न सक्ने र नसक्नेको पनि तुलना गर्न नसकिने रहेछ । दुवै नक्कली खुट्टाको सहाराले पनि मजाले हिँडिरहेछन् । ओछ्यानमा आराम गर्नुपर्ने उमेरकाहरू पनि उकाली र ओराली गर्दै रमाइरहेका छन् ।

तिनलाई कुनै अहम् छैन । मिलनसार सबै । प्रकृतिप्रेममा हुरुक्कै । हिमालका प्रशंसक । नेपालप्रेमी पर्यटकहरू । आधार शिविरको यात्रामा लागेपछि आफ्नै देशभन्दा प्यारो ठान्दारहेछन् नेपाली भूमिलाई । हाम्रा प्रकृतिका सच्चा पारखी । हाम्रा जाज्वल्यमान हिमालका भक्त उनीहरू ।  

हरियालीको यो घनाजङ्गलमा तिनै पर्यटकहरूको आउजाउ, ओहोरदोहोर ओइरो लागेको छ । जाने गइरहेका छन् उकालो । फर्किने फर्किरहेछन् ओरालो । सबैका अनुहारमा थकितपन, मलिन र निन्याउरो कुनै केहीको आभास महसुस हुँदैन । बरु खुसीका छचल्कन, हाँसोका फोहोरा अनुहारमा प्रतिविम्बित छ । त्यसैले उन्मुक्त उत्साहित पाइला सबैको लम्किरहेको देख्न सकिन्छ ।

लुक्लाबाट प्रारम्भ हुने पैदलयात्रामा मन माफिकका प्रकृतिले पाइलैपिच्छे अँगाल्छन् । तिनले आँखैभरि चुम्न आउँछन् । यति भएपछि प्रकृतिको काखमा लुटुपुटु गर्दै यात्राले फड्को मार्न थाल्छ । घनघोर एकान्तको जङ्गली पाटो । तर बाटोले डोर्‍याउँदै पाहुनाहरूलाई सकुशल गन्तव्यतिर लैजान्छ । 

थाकेर गलेको ज्यानलाई एकछिन बिसाउ भनेर बसिरहन र बिसाइरहन पनि मन नमान्दोरहेछ । अझ अगाडि देख्नुपर्ने नयाँ दृश्यसँग साक्षात्कार हुनुको हतारो सबैलाई हुँदोरहेछ । विदेशी पाहुनाहरूको के कुरा हामी नेपाली मन पनि उत्तिकै ‘एक्साइटेड’ हुँदै हिँड्छ ।

Gyanednra bibas (3)

यात्रीको गफगाफ, भरियाले बजाएका गीतको गुञ्जन त छँदै छ । यसमा खोलाखहरेको आवाज पनि मिसिएर प्रतिध्वनित हुन पुग्छ । खोट लगाउने ठाउँ नै नभएको सुहाएको सुन्दर र सन्तुलित संयोजन । सुहाउँदो रूप–सौन्दर्य । बैँसालु अङ्ग–अवयवहरूको आकर्षक बान्की प्रदर्शित । तिनैमा लोभी नयन भुतुक्क हुने । यति भएपछि नवागन्तुक मन्त्रमुग्ध । 

ढुङ्गामा पनि सुन्दर आकृति कपिएको भेटिन्छ । अग्ला चट्टानी पर्वत पनि मिलेर बसेको देखिन्छ । सुरिला रुख, फैलिएका बोटवनस्पतिले पनि प्राकृतिक सौन्दर्य पेस गरिरहेको हुन्छ । झोरझाडीमा पनि प्रकृतिको मुस्कान देख्न पाइन्छ । खोलाखहरेका ढुङ्गामा समेत सौन्दर्यको बिस्कुन सुकाइएको मनोहर दृश्यसँग रमाउन पाइन्छ । मानव निर्मित घरआँगन पनि उसरी नै स्वाभाविक सिँगारिएको, सजाइएको छ ।

हेर्दाहेर्दै कति छिटो बाटो छोटिन्छ । देख्दादेख्दै कति दृश्यहरू पछाडि ओझेल पर्छन् र फेरि नयाँ देखा पर्छन् । कति र के मात्र हेर्ने ? झरनाको छङ्गछङ्ग छँदै छ । दुधकोसी नदीको शान्त सुसाइको शीतलता पनि छँदै नै छ । वनमा चराका अनेक जात चरनमा निर्धक्क चरिरहेकै छन् । जनावरका चालचुल पनि सुनिन्छ । आकर्षक होटल, बगैँचा, फूल, बारी र बाटोको सुव्यवस्था उदाहरणीय लाग्छ ।

यात्रामा हिँड्ने हिम्मत हुनुपर्ने रहेछ । मात्र खुट्टा नदुखे पुग्ने रहेछ । भोक लागे खान पाइहालिन्छ । प्यास लागे पानी पिउनु छँदै छ । आँखाभरि प्राकृतिक सौन्दर्यले माया गर्न आइहाल्ने रहेछ । अलिकति हिँडेर यसो बिसाउँ कि एकैछिन भन्यो बस्ने ठाउँ आइहाल्छ । चियाकफी, कोकफ्यान्टा, चाउचाउ, बिस्कुट के खाने ? इच्छाअनुसार खान पाइन्छ । हेरेर धित मर्छ तर हेर्नुपर्ने सुन्दरताका दृश्य निख्रिँदैन ।

अलिकति उकालो चढेर बिसाउँदै गर्दा लामो झोलुङ्गेपुल देखापर्छ । यही रहेछ ‘हिलारी पुल ।’ यो पुल तरेर पारि पुगेपछि नाम्चे नजिकिँदै आएको थाहा हुन्छ । तर कठिन उकालोको सामना गर्नुपर्ने हुन्छ । साहसी यात्रीका लागि यो केही होइन । तल अहिले भर्खरै छोडेर आएको बाटो, दुधकोसी, होटल, जङ्गल आदि हेर्दा आफूले धेरै यात्रा पार गरिसकेको गर्व पनि लाग्दोरहेछ । हिँड्नलाई जाँगर थपिने रहेछ ।

Gyanednra bibas (2)

चिसो लेकाली हावाको स्पर्शले रोमाञ्चित हुँदै । अनेक किसिमका वन्य सुगन्धका वासनाले लट्ठ पर्दै । मादक, मनमोहक यी प्रकृतिका छटा, छवि, विम्ब–प्रतिविम्बमा लोभिँदै, लट्ठिँदै । अगाडि बडेमानका चट्टाने पर्वतको गजब आकृति र अवस्थिति हेर्दै । हिँड्नुको मज्जा अलग्गै । हिँडिरहनु एकोहोरो गफ सुन्दै अनेक देशका पर्यटकसँग घुलमिल हुँदै । आहा, कति मज्जा, साँच्चै यो पदयात्रा मार्ग त्यत्तिकै यतिबिघ्न प्रसिद्ध कहाँ हुन्थ्यो होला र ! विदेशीहरू त्यत्तिकै यता कहाँ आएका हुन् र ? सहरभन्दा धेरै टाढा भए पनि मनमाफिकका दृश्य र खानपान सबै सुविधा पाइन्छ । 

सडक सञ्जालसँग नजोडिएर पनि यी ग्रामीण बस्ती दुर्गमको दुःखमा दुःखी छैनन् । होटल व्यवसायबाट मनग्यै आम्दानी छ । हिँडेरै, पैताला दुखाएरै, भारी बोकेरै गुजारा गर्नेहरू छन् । हर्षले रमाउँदै विकसित देशका पर्यटक दिनहुँ आइरहेकै छन् । थाकेर लखतरान हुँदासम्म पनि खुसीले विभोर छन् । यसरी टाढा टाढाबाट परदेशी पाहुना सर्वाधिक महत्त्वको पदमार्गमा पाइला टेकिरहेछन् । सर्वाेच्च चुली चुचुरा हेर्न धाइरहेका छन् । यो धोको र ध्याउन्नलाई बाटाभरि भेटिने दृश्यहरूले मुस्कानसहित स्वागत गर्छन् ।

यस्तो अनुपम प्राकृतिक विरासतमा पाइला चाल्दा जिन्दगीभरकै सन्तुष्टि पाएर अहोभाग्य ठानिरहेछन् प्रत्येक यात्रीले आफूले आफैँलाई । भरदिन हिँडेरै गन्तव्य छिचोल्दै । खुट्टा दुखाउँदै, पहाडपर्वतका कठिनाइ झेल्दै आधारशिविर पुग्नु त अझै टाढा छ । हतोत्साहित नभई बरू उल्लासले उत्साहित पाइलैपिच्छे । प्रेरणा बटुल्दै प्रकृतिबाट । पुग्ने हतारोसँगै बाटोमा देखिने दृश्यपानको तृप्ति र प्यास भनिसाध्य छैन । 

अक्करे भिर छिचोल्नु त केही होइन उकाली–ओरालीको पट्यारलाग्दो यात्रा सुक्खा, निरस, उदास उदास केही लाग्दैन रहेछ । आँखैमा मायालु म्वाइको मिठासको प्राकृतिक प्रेम पाएपछि । आँखैमा प्रकृतिप्रेमको स्वागतले सत्कार गरेपछि । धेरै देशका अनेक जातधर्मका सयौँ पाहुनाका मुहारमा झल्किने खुसी कति हो कति ! हिँडेर नथाक्ने पाइला, देखेर नसिद्धिने सौन्दर्यमा हिँड्न थालेपछि एकैछिनको खुसी जिन्दगीभरिकै प्राप्ति हुने रहेछ ।

क्रमशः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप