जीतपुरसिमरामा प्रयोगशालासहितको कृषि तथा पशु सेवा केन्द्र निर्माण गर्न प्रधानमन्त्रीसँग माग
बारा । जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरभित्र प्रयोगशालासहितको एकीकृत कृषि तथा पशु सेवा केन्द्र निर्माण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । माओवादी पार्टीको मधेस प्रदेश भेलामा नगरप्रमुख पौडेलले बाराको जीतपुरसिमरामा आधुनिक प्रयोगशाला सहितको पशु तथा कृषि सेवा केन्द्र निर्माण गरिदिन लिखित रूपमै आग्रह गरेका हुन् ।
यसअघि पुस १० गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा आगामी असार मसान्त सम्म देशभर ३० वटा प्रयोगशाला सहितको कृषि तथा पशु सेवा केन्द्र निर्माण सम्पन्न गर्ने घोषणा गरेका थिए ।
सोही घोषणाको आधारमा नगरप्रमुख पौडेलले प्रधानमन्त्रीलाई भेटेर सरकारको किसानमैत्री लोकप्रिय कार्यक्रम भएकोले एउटा कार्यक्रम उपमहानगरलाई प्रदान गर्न प्रस्ताव गरेका हुन् । नगरप्रमुख पौडेलले प्रधानमन्त्रीले देशभर ३० स्थानमा प्रयोगशाला सहितको एकीकृत पशु तथा कृषि सेवा केन्द्र निर्माण गर्ने घोषणा गरेकोले सो कार्यक्रम जीतपुर सिमराका पनि आवश्यक भएको बताएका छन् । प्रयोगशाला सहितको कृषि तथा पशु सेवा केन्द्र निर्माणमा कति बजेट आवश्यक हुन्छ, संरचना कस्तो बन्ने भन्ने विषयमा भने अहिले टुङ्गो भई नसकेको नगरप्रमुख पौडेलले जनाएका छन् ।
उनले प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावमा जीतपुर सिमरा उपमहानगरले पशुपालन, माछा, तरकारी, धान, उखु गहुँ खेती, लगायत कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान दिँदै ठुलो परिणाममा निकासी समेत भइरहेको जनाएका छन् ।
‘देशको सबैभन्दा ठुलो र पुरानो पाडा, राँगा बजार यसै उपमहानगरमा छ, यहाँ दैनिक २५ हजार लिटर दूध उत्पादन भएर काठमाडौँ लगायतका देशभरका ठुला सहरहरूमा निकासी हुने गर्दछ’ प्रस्तावनामा उल्लेख छ ‘गुणस्तरीय तरकारी उत्पादन भई राजधानीमा सहज पहुँच समेतका लागि काठमाडौँ महानगर र जीतपुरसिमरा उपमहानगरबिच भगिनी सम्बन्ध स्थापित भैसकेको छ । तर पशु चौपाया माछा तथा कृषि वाली लगायतमा बेला बेलामा लाग्ने रोगको पहिचान र उपचार प्रविधि र प्रयोगशालाको कमीले समयमा हुन नसकी किसानलाई ठुलो नोक्सानी हुने गरेको छ ।’
पूर्व–पश्चिम राजमार्ग तथा बारा–पर्सा औद्योगिक कोरिडोरसँग जोडिएको यो पालिकाको अधिकांश वडाहरू ग्रामीण भेगमा पर्दछ । ग्रामीण भेगमा ती वडाहरूमा स्थानीयहरूको मुख्य पेसा खाद्य वाली उत्पादन, तरकारी खेती, माछा पालन, पशुपालन लगायत रहेको छ । नगरप्रमुख पौडेलले उपमहानगरभित्र एउटा आधुनिक प्रयोगशाला नहुँदा साह्रै समस्या भएकोले केन्द्रीय सरकारसँग सहयोग माग्नु परेको बताएका छन् ।
काठमाडौँमा आयोजित माओवादी केन्द्रको बैठकमा मधेस प्रदेशमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोग सदस्य र केन्द्रीय सल्लाहकारमा सहभागी भएका थिए । पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लीलामणि पोखरेलको अध्यक्षतामा भएको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’