प्रेस काउन्सिल ऐन संशोधन हुनुपर्छ : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।
काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उनले नयाँ ‘मिडिया’ का कारण उत्पन्न भएको चुनौती समाधान गर्न उक्त ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।
‘डिजिटल प्लेटफर्म’ मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्ने र सरकारले चाहेमा यो प्रक्रिया चाँडै टुङ्गो लाग्ने पनि उनले बताए । नियमनकै लागि वर्षौँ लगाएर नयाँ ऐन ल्याउनुभन्दा पनि यही कानुनमा संशोधन प्रभावकारी हुने र त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने उनको सुझाव थियो ।
नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरु सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने जानकारी दिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन गर्दै आएको सिर्जनात्मक कामको प्रशंसा गरेका थिए । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले र दीपक पाण्डेले अनलाइन मिडियालाई समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्न सुझाव दिए ।
राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवं आजको अभिमुखीकरण कार्यक्रमका विषय विज्ञ डिल्लीराम भट्टराईले आचारसंहिता र काउन्सिलले जारी गरेका निर्देशिकाहरुको पालना गर्दा पेशागत मर्यादा र गरिमा अझ बढ्ने बताए ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही यसै हाम फाल्नेलगायतका प्रवृत्ति देखिएको उल्लेख गर्दै पत्रकारिता पेसा मुलुकको सबैभन्दा बढी जिम्मेवार पेसा हो भनेर काम गर्न सुझाव दिए ।
काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरुलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण कार्यक्रम गरी पत्रकारिता पेसा र आचारसंहिताका बारेमा जानकारी गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा