शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

दुहुनो भैंसी चोरी भएको २४ घण्टा नबित्दै प्रहरीले फेला पार्‍यो, तीन जना पक्राउ

शुक्रबार, १३ पुस २०८०, १६ : २७
शुक्रबार, १३ पुस २०८०

बारा । इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत पथलैया चौकीले भैंसी चोरी भएको २४ घण्टा नबित्दै चोरलाई पक्राउ गरेको छ भने भैंसीसमेत बरामद गरेको छ । कलैया उपमहानगर–२०, सखुईबाट गएराति चोरी भएको दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब २ बजेर ३० मिनेटमा पथलैया चोकबाट दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले गाडी चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रकाश राई, सोही ठेगाना भएका सहचालक २२ वर्षीय विशाल भन्ने आयुष राई र कलैया उपमहानगर वडा नं २० का २७ वर्षीय अरमान अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भैंसी चोर्ने मुख्य नाइके अन्सारी हुन् । बा.प्र.०३–००१ च १४०५ नम्बरको पिकअप गाडी चेकजाँचको क्रममा दुहुनो भैंसी भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त भैंसी कलैया उपमहानगर–२०, सखुईका रामराज चौधरीको घरबाट चोरी भएको हो । बिहीबार राति भैंसी चोरी भएको उनले बताए ।

राति ३ बजेतिर उठेर हेर्दा गोठमा भैंसी नदेखेपछि आफूहरुले बिहान ५ बजेसम्म आसपासका क्षेत्रमा खोजी गरे पनि नभेटिएको उनले सुनाए । घरमा ६ जनाको परिवारलाई यही भैंसीको दुध बेचेर पाल्दै आएको उनको भनाइ छ । बजारमा दुहुनो भैंसीको मूल्य १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्दछ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले गाउँमा दुहुनो भैंसी र पाडा चोरी भएका धेरै उजुरी आएकाले चेकजाँचमा कडाइ गर्ने गरेको बताए । 

‘भैंसी किनबेच गरेको बिल र अन्य कागजपत्र नभएसम्म पथलैया चेकपोष्टबाट भैंसी र पाडा बोकेको गाडी अगाडि बढ्न नदिन सबै मातहतका चौकीलाई मैले निर्देशन दिइसकेको छु,’ उनले भने, ‘हामीकहाँ केही दिनअघि ३–४ वटा भैंसी चोरी भएको लिखित उजुरी आएको छ, त्यसैको चेकजाँच गर्ने क्रममा यो भैंसी भेटिएको हो ।’

दुई साता अघि जीतपुर सिमरा वडा नं १९ र २० बाटमात्रै ४ वटा भैंसी हराएको उजुरी इप्रका सिमरामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप