मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलको प्रस्तावकलाई कारबाही गर्नुपर्छ : सभापति यादव

शुक्रबार, १३ पुस २०८०, १५ : ५१
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण को २५औँ वार्षिकोत्सव (रजत) का अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले विना योजनाको विमानस्थलमा अर्बौको लगानी गराउनेलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

‘कुनैपनि लगानी विना लक्ष्य, उद्धेश्य र बिजनेस बिना गरिँदैन । थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठुलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न’ यादवले भने,’यसको पछाडि क–कसको स्वार्थ छ, समितिले अध्ययन गर्दैछ । पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको छ, यथार्थ छानबिन हुन्छ र दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।

यस्तै, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको भन्दै समितिका सभापति यादवले यस्ता राष्ट्रिय महत्त्वका आयोजना परियोजना बनाउँदा दीर्घकालीन सोच राखेर मात्र अघि बढ्नुपर्ने बताए ।

यसैगरी नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हट्न नसकेको प्रति दुख व्यक्त गर्दै सभापति यादवले यसको छुटकाराका लागि नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सरकारलाई आवश्यक सुरक्षा व्यवस्था तथा नीति निर्माणमा लाग्न समितिले निर्देशन दिएको बताए ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ईयूको आफ्नै स्वार्थ रहेको भन्दै प्राधिकरण टुक्र्याउने सर्तलाई नेपालले मान्नुपर्ने बताए ।

प्रतिउत्तरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन उद्योग र हवाई क्षेत्रको सुधारमा सरकार गम्भीर रुपमा लागेको र गेमचेञ्जरको रुपमा रहेको निजगढ विमानस्थल निर्माणको अपरिहार्यता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप