सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

रोटीबेटीको सम्बन्ध यथास्थितिमा राखेर आर्थिक क्षेत्रमा साझेदारी गर्नुपर्छ

शुक्रबार, १३ पुस २०८०

भारत सरकारको समन्वयमा विभिन्न राजनीतिक दलका १२ जना युवा नेता १० दिन लामो भारत भ्रमण सकेर फर्किएका छन् । यस क्रममा भारतीय पक्षले नेपालबाट भ्रमणमा पुगेका युवा नेतालाई आफ्नो विकास, योजना र लक्ष्यका बारेमा १० दिनसम्म जानकारी गराइरह्यो । भावी दिनमा भारतले लिने योजना, भारतको चाहना र नेपालप्रतिको बुझाइ कस्तो रहने भन्नेबारे राम्रोसँग बुझाएको छ । यस्तै नेपालबाट पुगेका युवा नेताले नेपालतर्फको आफ्नो विचारसमेत राखेका थिए । यही भारत भ्रमणको विषय र त्यहाँ भएका गतिविधिबारे रातोपाटीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग गरेको कुराकानीको सम्पादित अंश:

–भर्खर तपाईंहरू १० दिन लामो भारत भ्रमण सकेर फर्किनुभएको छ । समग्रमा भन्दा कस्तो रह्यो भारत भ्रमण ?

भारतको सरकारले समन्वय गरेर ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ को निम्तोमा हामी युवा नेता भारत भ्रमणमा गएका हौँ । त्यस क्रममा हामी राजधानी नयाँ दिल्ली, हिमाञ्चल र मुम्बईलगायत भारतका धेरै स्थानमा घुम्यौँ । यो बिचमा भारतका उद्योगी, व्यवसायी, ब्युरोक्र्यासी, राजनीतिक दल र विश्वविद्यालयका प्राध्यापकसँग समेत बसियो । यस क्रममा भारतले विगतको भन्दा फरक ढङ्गले प्रस्तुत हुन खोजेको पाइयो र नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाउने इच्छा देखाएको पाइयो । नेपालको पुरानो पुस्ता विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ पुस्तासँगको समन्वयमा सम्बन्ध अघि बढाउन चाहेको पाइयो ।

–भ्रमणका क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेट गर्नुभयो । त्यस क्रममा नेपालप्रतिको बुझाइ कस्तो पाइयो ?

हिजो मुम्बईमा नेपाली मेनपावरले सेक्युरिटी गार्ड, भरियालगायतका काम गर्ने गरेका थिए । तर आज यो परिवेश फेरिएको छ । नेपालसँग सूचना प्रविधि क्षेत्रमा दक्खल जनशक्ति छ, यिनीहरूलाई भारतीय बजारमा भूमिका दिइनुपर्छ । यसको योजनाबारे हामीले भारतीय पक्षसँग राम्रोसँग सोध्यौँ । नेपालबारे भारतीय पक्षले पशुपतिनाथलाई आदर्शको भावले हेर्छन् र अन्य विषयमा ‘गिभ एन्ड टेक’ का पक्षमा भारतीय देखिन्छन् । अब उनीहरू नयाँ ढङ्गबाट नेपालसँग सम्बन्ध अघि बढाउन चाहन्छन् र यो क्षेत्र आर्थिक क्षेत्रका रूपमा रहन सक्छन् । यो विषयमा उनीहरूको पनि सहमति छ ।

–यसको अर्थ भारतीय पक्ष नेपालसँग आर्थिक रूपमा नयाँ ढङ्गको सहकार्यका लागि भारतीय नयाँ सोच के पाउनुभयो ?

अन्य विषयमा बिस्तारै खुलाउँदै वा खुल्दै जाला । तर स्वच्छ ऊर्जाको विषयमा भारतीय पक्ष स्पष्ट छ । यतिबेला उनीहरूलाई जलविद्युत्को ठुलो आवश्यकता छ । कार्बन उत्सर्जनमा भारतीयलाई विश्वको दबाब छ । सोअनुसार अघि बढ्न कोइला र थर्मल पावर प्लान्टबाट उत्पादित बिजुली भारतले चलाइरहेको छ । तर अन्तर्राष्ट्रिय स्तरमा कार्बन उत्सर्जन घटाउन गरेको सहमतिमा ‘फोसिल्स फ्युल’ बाट उत्पादित बिजुलीको मात्रा घटाउनु छ । यसका लागि उनीहरूले भुटानबाट धेरथोर बिजुली ल्याइरहेका छन् र यो सूचीमा नेपाललाई समेत समेट्न चाहन्छन् अर्थात् उनीहरू नेपालबाट बिजुली किन्न चाहन्छन् ।

भारत भ्रमणका क्रममा हामी सिम्ला पुग्यौँ । त्यहाँ सतलजले १५ सय मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाले मात्रै पनि पुगेको छैन । यस्तै भारतीय आन्तरिक उत्पादनले समेत विश्वले तय गरेको लक्ष्य भेट्न मुस्किल हुँदा सहज ढङ्गबाट त्यसलाई भेट्टाउन नेपाल राम्रो अवसर हुन सक्छ ।

–उनीहरूले नेपालबाट १० औँ हजार मेगावाट बिजुली लाने योजना बनाएका छन् । भ्रमणका क्रममा बिजुलीसँग सम्बन्धित नयाँ योजना केही पाउनुभयो ?

भारतलाई यतिबेला ठुलो मात्रामा बिजुली चाहिएको छ । यसको आपूर्ति नेपालबाट सहज हुनेमा भारतीय पक्ष स्पष्ट छ । यो विषयमा उनीहरू अघि बढिरहेका छन् । यसअघि केही आयोजनाबाट फिर्ता गए पनि अब नजाने गरी अघि बढ्न खोजेको पाइएको छ । यतिबेला सतलजले अरुण तेस्रो बनाइरहेको छ । पश्चिम सेती र पञ्चेश्वर पनि छिट्टै बनाउने योजनामा भारतीय पक्ष काम गरिरहेको देखिन्छ । भारतको नीति आयोगसँग पनि हामीले छलफल गरेका थियौँ । त्यस क्रममा उनीहरूले सन् २०४७ सम्म विकसित मुलुकमा परिणत हुने र २०५० सम्म विश्वको ठुलो अर्थतन्त्र बन्ने योजना भारतले बनाएको छ ।

nainsingh mahar

यसको लक्ष्य तय गर्न भारतलाई ठुलो मात्रामा स्वच्छ ऊर्जा चाहिन्छ । भारतलाई चाहिने स्वच्छ ऊर्जा नेपालबाट प्राप्त गर्न सकिने भारतले राम्रोसँग बुझेको छ । नेपालको नेतृत्वले पनि सिङ्गो नेपाललाई एकमत बनाएर विकासमा अघि बढ्ने गरी भारतसँग आर्थिक लाभ लिनुपर्छ । भारतले विकसित मुलुकमा परिणत हुने समय तय गरेको अवधिमा नेपाल पनि विकसित मुलुकमा परिणत हुनुपर्छ ।

–भारतले नेपालबाट ती युवालाई भ्रमणमा लग्यो, जो भोलिको नेपालका नेतृत्व तहमा पुग्ने छन् । तपाईं पनि यसैका सूचीमा हुनुहुन्छ किनकि नेपाली कांग्रेसबाट राजनीति गरिरहनुभएको छ । यस क्रममा तपाईंहरू भारतीय पक्षसँग कसरी प्रस्तुत हुनुभयो ?

हामीले भारतका प्रत्येक निकायसँग नेपालबारे स्पष्ट धारण राखेका छौँ । त्यस क्रममा उनीहरू र हामीबिच आर्थिक साझेदारी गरेर नै अघि बढ्नुपर्ने निष्कर्ष आयो । रोटीबेटीको सम्बन्ध यथास्थितिमा राखेर आर्थिक क्षेत्रमा साझेदारी गर्नुपर्छ भनेर भनेका छौँ । यो काम प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणका क्रममा समेत अघि बढेका छन् । भारतीय पक्षलाई हामीले नेपालमा लगानी गर्न र लगानीको लाभ लिन सुझाव दियौँ । नेपालको जलविद्युत्मा नै लगानी गरेर पनि भारतले ठुलो लाभ लिन सक्छ । किनकि भारत ठुलो बजार पनि हो र नेपालमा गरेको लगानीको प्रतिफलसमेत भारतले लिन सक्छ ।

–तपाईंले अघि सुरुमा नै भन्नुभएको थियो । एउटा भारतसँग नजिकको सम्बन्ध भएको पुस्ता चाहिँ बुढ्यौलीमा परिणत भइसक्यो । यो हिसाबमा भावी नेतालाई भारत भ्रमण गराइएको छ । यस हिसाबले भावी नेतालाई देश भ्रमण गराएर आफ्नो विचार, नेपालमाथि आफ्नो चाहना बुझाउन खोजेको हो कि ?

हामीले भारतका धेरै क्षेत्रका धेरै व्यक्तित्वसँग भेटघाट गर्‍यौँ । भारत नेपालसँग नयाँ ढङ्गले अघि बढ्न चाहन्छ । यतिबेला नेपालका नयाँ उद्योगी–व्यवसायी, पत्रकार, नेता र ब्युरोक्र्यासीसँग पनि भारत नजिक हुन चाहेको देखिन्छ ।

भारत भ्रमणमा जाने युवा नेताहरू नै भोलिको नेपालका उच्च पदस्थ हुन् । यस हिसाबमा नेपालका भावी नेतालाई १० दिनसम्म राखेर ‘नाडी छाम्यो’, हैन त ? अर्थात् भारतीय पक्षले नेपालका भावी नेताको विचार, भारतप्रतिको बुझाइ राम्रोसँग बुझ्यो ।

यसमा त दुई मत नै छैन । हामी भारतका धेरै निकायसँग बस्यौँ । नीति आयोगसँग समेत छलफल गर्‍यौँ । यस क्रममा उनीहरूले हामीप्रति आफ्नो धारणा बनाएका छन् । यही आधारमा भोलिका दिनमा उनीहरूले आफ्नो रणनीति बनाउने छन् भन्नेमा दुई मत छैन । अब कुनै ठुलो गडबडी भएन भने भारतले नेपालसँगको सम्बन्धलाई युवा पुस्तामार्फत नयाँ ढङ्गले अघि बढाउन चाहेको देखिन्छ ।

–अब अलिकति भारतीय विकासमा केन्द्रित रहौँ । तपाईं यसबिचमा धेरै पटक भारत जानुभएको होला । सुरुको पटक भारत जाँदा र यस पटक जाँदा विकासमा कति फरक पाइयो ?

यसबिचमा भारतमा व्यापक रूपमा विकास भइसकेको पाइयो । अमेरिकाको सहरसँग भारतीय सहरको तुलना गर्दा कुनै हिसाबमा कमजोर रहेको पाइएन । भारतीय जनताको आवश्यकता बुझेर भारत सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली र खेलकुदलगायत आधारभूत आवश्यकता पूर्ति गरेको देखिन्छ ।

यसबाट आफ्ना जनतालाई गाउँमा नै रोक्न भारतले चाहेको पनि देखिन्छ । यतिबेला प्रत्येक भारतीय जनता सन् २०४७ सालमा भारतलाई सन् २०४७ सालमा विकसित मुलुक बनाउँछु भनेर लागेका छन् । त्यहाँको स्विपर, पत्रकार, नेता, उद्योगी, व्यवसायी, डाक्टरलगायत सबै एकमत देखिन्छन् ।

–तपाईंले भनेजस्तै भारतको एउटा गाउँ अमेरिकाको गाउँसँग कुनै हिसाबमा कमजोर छैन । यसलाई नेपालको डडेलधुरासँग तुलना गर्‍यो भने कति फरक हुन्छ होला ?

धेरै फरक पाइन्छ । बिजुली, सडक र खानेपानीको आवश्यकता पूर्ति भए पनि धेरै फरक पाइन्छ । पञ्चायतमा भएको विकासभन्दा त ८० गुणा बढी विकास भएको पाइन्छ । तर यतिबेला मात्रै पुग्ने स्थिति नरहेको भारत भ्रमणका क्रममा पाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया