कांग्रेस बैठकमा मन्त्री साउदको ब्रिफिङ : नेपालको अन्तराष्ट्रियस्तरमा नेपालको छवि बढेको छ

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउने गरी काम गरेको ‘ब्रिफिङ’ गरेका छन् । सरकारका तर्फबाट भइरहेका काम कारबाहीबारे कांग्रेस बैठकमा जानकारी गराउँदै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रको हित र सुरक्षा तथा विश्व शान्तिका दृष्टिकोणले क्रियाशील रहेको बताएका हुन् ।
‘संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भएर परराष्ट्र नीति सञ्चालन गरिरहेको, असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तअनुसार सरकार अघि बढिरहेको कुरा केन्द्रीय समिति बैठकमा राखेँ’, मन्त्री साउदले बैठकको ब्रिफिङलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने, ‘छिमेकीसहित सबै राष्ट्रहरूसँगको सम्बन्ध सुमधुर भएको,आपसी हित र फाइदाका कुरामा सँगै अघि बढ्ने प्रतिवद्धताहरु आएको छ ।’
त्यस्तै उनले यो बिचमा उच्चस्तरीय भ्रमणहरू भएको तथा नेपालका तर्फबाट पनि प्रधानमन्त्रीसहित मन्त्रीस्तरीय भ्रमण भएको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउने काम गरेको बताए ।
साथै उनले सरकारले मुलुकको सुरक्षा, आर्थिक कूटनीति र आप्रवासीको सामाजिक सुरक्षाजस्ता कुराहरूलाई अत्यन्त महत्त्व दिएर काम गरिरहेको जानकारी दिँदै भने, ‘रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता, घाइते र बेपत्ताको स्थितिबारे कूटनीतिक वार्ता र छलफल गरिरहेका छौँ ।’ त्यसैगरी उनले विपिन जोशीलाई फिर्ता ल्याउनेबारे कतारसँग छलफल भइरहेको जानकारी गराएका छन् ।