मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सुस्त भयो धुलिखेल–खावा सडक बिस्तार

शुक्रबार, १३ पुस २०८०, १३ : ४३
शुक्रबार, १३ पुस २०८०

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडक खण्ड विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले दुई हप्ताअघि निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो । “प्रधानमन्त्रीले प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो, तर निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ”, धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष विनोद गौतमले भने ।

प्रधानमन्त्री प्रचण्ड काभ्रेपलान्चोकको पाँचखालमा करिब तीन हप्ताअघि एक कार्यक्रममा आउँदा उनले सडकको अवस्था तथा विस्तारको कामलाई तीव्रता नदिएकोप्रति चासो दिएका थिए । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाइ कालो पत्र गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबिच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नति सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । आगामी चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडक खण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको हो । निर्माण सुरु भएको १९ महिना बितिसक्दा जम्मा १५ प्रतिशत मात्रै काम भएको जनाइएको छ । 

उक्त सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो । कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार सम्झौताअनुसार समयावधिको करिब ८७ प्रतिशत समय सकिँदा १५ प्रतिशत मात्रै काम हुनु  निर्माण कम्पनीको लापरबाही भएको बताए ।

डिभिजन कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधे पनि कम्पनीले कुनै जवाफ नपठाएको उनको भनाइ छ । पत्रको बेवास्ता गरेपछि कार्यालयले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै लिखित स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिँदै आएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक पटक छलफल गराएको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडक खण्डबाट अनधिकृतरुपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोप लगाउँदै आएका छन् । 

सडक धुलाम्मे हुँदा स्थानीयले सडकमा पाइपद्वारा पानी हाल्दा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गरेको छ । पुनः निर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीले गर्दा १९ महिनाको अवधिमा दुई सयभन्दा बढी दुर्घटनामा यात्री घाइते भएका छन् । “समयमै काम नगरी यात्रीलाई सास्ती दिने निर्माण कम्पनीलाई हदैसम्मको कारबाही गर्नुपर्छ”, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने । 

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि गत महिना दायाँबायाँका रुख काटेका थिए । त्यसपछि काम ठप्प प्रायः छ । हाल सडक मापदण्डभित्र पर्ने विद्युत्का खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त क्षेत्रमा करिब एक सय विद्युत्को खम्बा सार्नुपर्ने देखिएको छ । 

तीन महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप