मोरङको जङ्गल छोडेनन् हात्तीले, यतै बस्न लागेका हुन् ?
विराटनगर । कानेपोखरी–७ को कानेपोखरी बजारमा ३६ वर्षदेखि होटल चलाएर बसेका राम रायमाझी अहिले साँझ पर्नासाथ होटल बन्द गर्छन् । तीन दर्जनजति घर तथा होटल रहेको उक्त बजार पूर्वपश्चिम राजमार्गमा आवत–जावत गर्नेहरुका लागि खाजा खाने खास ठाउँ हो । त्यहाँ तोङ्बा, सुकुटी, सेकुवाका पारखीहरु प्रशस्तै भेटिन्छन् । पछिल्लो समय रायमाझीले होटलमा तोङ्वा राख्न छाडेका छन् । किनकि तोङ्वाको गन्ध थाहा पाउने बित्तिकै जङ्गली हात्ती आएर आक्रमण गर्न सक्छन् ।
त्यही डरले उक्त बजारमा लोकल रक्सी पार्ने काम लगभग बन्दजस्तै भएको छ । ३६ वर्षसम्म होटल सञ्चालन गरेर बस्दा रायमाझीलाई यो पटकको जस्तो हात्तीको बथान आएको र यति लामो समय बसेको थाहा छैन ।
बेलबारी–१०, भाउन्नेका राजु मगर पूर्वपश्चिम राजमार्गमै दैनिक मकै पोलेर बेच्ने गर्छन् । तर, उनी आजकाल साँझ पर्न नपाउँदै पोका पन्तोरा कसेर सिटी सफारीमा हाल्छन् र साँझमै घर पुग्छन् । किनकि साँझ परेपछि हात्तीको आक्रमणमा पर्ने डर उनलाई छ । ‘कतिखेर निस्कन्छ, थाहै छैन । भाग्नु त पर्यो नि,’ उनी भन्छन् ।
मकै पोलेरै व्यापार गरिरहेका जगत ठकुरीको पीडा पनि उस्तै छ । ‘भर्खरै कानेपोखरी बजारमा हात्ती निस्किएको थियो । लेटाङतिर गयो । पहिलेपहिले त साँझसम्म मकै बेच्थ्यौँ । अहिले साँझसम्ममा घरै पुगिसकेका हुन्छौँ,’ उनी सुनाउँछन् ।
हाइवेमा मकै पोल्ने मगर र ठकुरीजस्तै स्थानीय तरकारी, फलफूल बेच्ने दर्जनौँ मानिस आजकाल साँझसम्म बस्नै डराउँछन् ।
जङ्गल छेउ हाइवेमा पसल तथा व्यापार गर्नेहरु मात्रै हात्तीको त्रासमा छैनन् । विगत डेढ महिना यता सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी र पथरीमा हात्तीले बालीनाली सखाप पारिदिने हो कि, घर भत्काइदिने हो कि, ज्यानै लिने हो कि भन्ने त्रासमा छन् स्थानीय ।
स्थानीय जनप्रतिनिधिलाई जनताले हात्ती आउने गुनासो गरेर हैरान बनाउँछन् । ‘जनप्रतिनिधि बन्यौँ, जनताले भनेको ठाउँमा नजाउँ भने भएन । दिनरात सुत्न नपाउने अवस्था आयो,’ कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी भन्छन्, ‘हात्तीको यस्तो त्रासको अवस्था त अहिलेसम्म मैले थाहा पाएको थिइनँ ।’
जनप्रतिनिधि मात्रै होइन, स्थानीय प्रहरीलाई पनि उत्तिनै हैरान छ । शान्ति सुरक्षाको जिम्मा पाएको, सीमित स्रोत, साधनको भरमा सानो सानो टुकडीको रुपमा बसेको प्रहरी चौकीमा रातबिरात हात्तीले सताएको फोन आउँछ । प्रहरीले निर्धारित र नियमित काम गर्न सकेकै छैनन् । तनाव हात्तीकै छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल भन्छन्, ‘डेढ महिना यता अरु काम गर्नै पाएका छैनौँ, खाली हात्ती आएको भनेरमात्रै फोन आउँछ ।’
हात्ती प्रायः दिउँसोको समयमा हाइवेको उत्तरतिरको जङ्गलमा बस्छन् । जङ्गलमा खानेकुरा सकिएको कारण साँझ पर्नै नपाइ किसानले लगाएको बाली नालीमा पस्न खोज्छन् । प्राकृतिक हिसाबले शान्तिपूर्ण ढङ्गले जङ्गलमा विचरण गर्न दिइनुपर्ने हात्तीलाई स्थानीयले कहिले ड्रोन उडाएर तनाव दिन्छन्, कहिले ढोल, झ्याम्टा, भाला, खुकुरी, ढुङ्गाको झटारोले आक्रमण गर्छन् । साइरन बजाउँछन् । हात्ती पनि चयनले बस्न पाएको छैन ।
झापाको मेचीनगर नगरपालिका, हल्दीबारी क्षेत्र सधैँ हात्तीबाट प्रभावित हुने गर्दथ्यो । तर, लामो समयपछि यतिबेला मोरङमा बसिरहेका हात्तीले मोरङलाई नै बढी प्रभावित बनाएका छन् ।
‘बेलबारीको बेतना सिमसारको क्षेत्रमा २८–३० वटा छन् । लगभग ४ वटा सुन्दरहरैंचाको लाटीझोडा साझेदारी वनतिर गएका छन् । उर्लाबारीको मंगलबारेबाट मधुमल्लाको पूर्वतिर ३ वटासम्म रैथाने हात्ती छन् । जाँते एरियामा पनि केही हात्ती घुमिरहेको जानकारीमा आएको छ,’ मोरङका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताए ।
अहिलेसम्म हात्तीले २० जना किसानको घर तथा बालीनालीमा क्षति पुर्याएको छ । यही सिजनमा झापा, मोरङ र सुनसरीमा गरी ६ जनाको ज्यान पनि लिइसकेको छ ।
मोरङमा यति ठुलो समूहमा यति लामो समय हात्ती बसेको २०–२५ वर्ष यताको इतिहासमा अहिलेसम्म नसुनिएको घिमिरे बताउँछन् । यसरी हात्ती कहिलेसम्म बस्छन् भन्ने टुङ्गो नभएपनि पुस अन्तिमतिर फर्किन्छन् भन्ने अनुमान गरिएको उनको भनाइ छ ।
अहिले धेरै समय हात्ती टिक्नुमा झण्डै आधा दर्जन हात्तीका छावा छन् । उनीहरु लामो समयसम्म हिँड्न सक्दैनन् । त्यसकारण पनि हात्ती यतै अल्मलिएको घिमिरेको दाबी छ ।
हात्ती विज्ञ अर्जुन कार्की अहिले हात्ती भएका क्षेत्रहरु पहिला हात्तीले विचरण गरेकै ठाउँ भएको बताउँछन् । ‘लामो समयदेखि झापाको बाहुनडाँगीमा ब्लक गरेका थियौँ । तर, उनीहरु यस पटक भत्काएर छिरे,’ कार्कीले भने ।
हात्ती करिडोरको चर्चा
केही समय अगाडि हात्ती प्रभावित क्षेत्रमा पुगेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती करिडोर बनाउने र पर्यटकलाई फोटो खिचाएर आम्दानी लिने भाषण गरे । उनै कार्कीले प्रदेश सरकारको बजेटमा हात्ती करिडोर क्षेत्रका लागि सम्भाव्यता अध्ययन गर्न भनेर ५० लाख रुपैयाँ राखेका छन् । प्रदेश सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय सहयोग लिएर हात्ती करिडोर बनाउनु पर्ने हात्ती विज्ञ अर्जुन कार्की बताउँछन् ।
तर, सरकारले बाहुनडाँगीमा हात्तीको समस्या भए पनि चारआलीको जङ्गलमा घेराबारा गरेको उनले बताए । ‘जङ्गलमा हात्ती चर्न दिनुपर्नेमा जङ्गललाई घेरा लगाएर बस्तीमा पठाएको अवस्था छ,’ उनले भने, ‘मेची खोलाबाट हात्तीलाई भारततिरै फर्काउनका लागि राज्यले ध्यान दिनुपर्छ । यो वर्षमात्रै ६ जनाको मृत्यु भएको छ । ५० लाख क्षतिपूर्तिमै सकिएको छ । यसरी मान्छे र राज्यको सम्पत्तिलाई क्षति हुन दिनुभएन । भारतबाट आउने हात्तीलाई रोक्न सीमा क्षेत्रको १७ किलोमिटर क्षेत्रमा ग्रीन बेल्ट बनाएर हात्ती रोक्नुपर्छ ।’
यद्यपि अहिले मान्छेहरु हात्तीमैत्री बन्दै गएको कार्कीको अनुभव छ । ‘पहिलेपहिले एउटा हात्ती आउँदा २ सय मान्छे खेद्न आउँथे । अहिले मानिस चुप लागेर बसेका छन् । हात्तीलाई यताबाट घेर्ने, उता पठाउने, उताबाट फेरि यता पठाउने काम भइरहेको छ,’ मोरङमा लामो समय हात्ती बस्नुको कारण खोतल्दै कार्कीले भने, ‘अहिलेसम्म आसाम पुगिसक्नुपर्ने हो । नेपालको जङ्गलमा अहिले हात्ती बस्न सक्ने अवस्था छैन । हात्तीलाई ढोल, ढ्याङ्ग्रा ठोकेर तर्र्साएर मेची पारी पुर्याउनु आवश्यक छ ।’
हात्ती विज्ञ सान्तराज ज्ञवालीले पनि लामो समयपछि मोरङमा हात्तीको हुल यति धेरै दिन बसेको सुनाए । यसको कारण हात्तीको बासस्थानमा सुधार आएको हुनसक्ने उनी बताउँछन् । खेती प्रणाली ढिलो भएको कारण पाक्ने बेलासम्म हात्तीले खानयोग्य कृषि उत्पादन पर्खेको पनि हुनसक्ने उनको भनाइ छ । ‘यस्तै हात्तीले आफूलाई सुरक्षित गरेको पनि हुनसक्छ,’ उनले भने, ‘मोरङका जङ्गलहरु हात्तीमैत्री भएको हुन पनि सक्छ ।’
बासस्थान पर्याप्त भएको भए उनीहरु १२ महिना नै नेपाल बस्न सक्ने ज्ञवालीको दाबी छ । ‘तर, त्यति ठुलो संख्याको हात्तीलाई कोशी पूर्वको जङ्गलले थेग्न सक्ने अवस्था देखिँदैन । यदि हात्ती बस्ने अवस्था आयो भने मानव–हात्ती द्वन्द्व अझै बढाउन सक्छ,’ उनले भने, ‘किनकि जङ्गलमा खाने कुरा नपाएर हात्ती बस्तीतिर पस्छ ।’
हात्तीको बासस्थान साँघुरिएको पनि ज्ञवालीले सुनाए । ‘खानकै लागि र पानीको लागि उनीहरु धेरै हिँड्ने खालका जनावर हुन् । उनीहरुको बासस्थान साँघुरिएको छ । ब्रम्हपुरादेखि नेपालको पश्चिमसम्म पुग्ने हात्तीहरु अहिले सीमित घेरामा रहेका जङ्गलमा बस्नुपर्ने बाध्यतामा छन्,’ उनले भने, ‘यिनीहरु प्राकृतिक ढङ्गले विचरण गर्ने जन्तु हुन् । तर, मानिसले उसलाई लखेट्ने प्रयास नै गरिहेको छ । त्यसकारण हात्ती अहिले तनावमा छन् । दोहोरो आतङ्क र असर देखिएको छ ।’
अन्तर सिमानामा भएको कारण नेपाल र भारतका कोशी प्रदेश र पश्चिम बंगाल प्रदेशको सहकार्यमा यिनीहरुको सुरक्षा र व्यवस्थापनमा सहकार्य गर्नुपर्ने ज्ञवालीको सुझाव छ । तर, हात्तीको करिडोर बनाउन सजिलो नभएको उनको भनाइ छ । ‘उदयपुरसम्म हात्तीको करिडोर बनाउने कुरा अहिले त्यति सम्भव देखिँदैन । किनकि झापाबाट उदयपुरसम्म जोडिएको झण्डै डेढ दुई किलोमिटर चौडा फैलिएको जङ्गल चाहिन्छ,’ उनले भने, ‘यो मान्छे हिँड्ने बाटो बनाएजस्तो होइन । यत्रो ठुलो जनावर हिँड्ने करिडोर बनाउन जङ्गल क्षेत्रको विकास हुनु अनिवार्य छ । बाहुनडाँगी मेचीबाट कोशी उदयपुरसम्म जङ्गलको व्यवस्थापन हुनुपर्छ । अहिले त्यस्तो भएजस्तो लाग्दैन ।’
पहाडको चुरे फेदीबाट व्यवस्थापन गर्नसके त्यो सम्भव रहेको तर यसका लागि दीर्घकालीन सोच चाहिने ज्ञवालीले प्रस्ट पारे । ‘१५–२० वर्षपछि उक्त करिडोर बन्नसक्छ । त्यसका लागि पानीको सही व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘बासस्थानको व्यवस्थापन पनि राम्रो हुनुपर्यो । त्यो एउटा सम्भावित पाटो हो तर त्यसमा पनि ग्यारेण्टी गर्न सकिँदैन । करिडोर भनेको ठूलो विषय हो ।’
ड्रोनबाट खेद्न कति सम्भव ?
बेलबारी–१० मा रातको समयमा बस्तीमा छिरेको हात्तीलाई पहिलो पटक ड्रोन उडाएर खेदाउन प्रयास गरियो । ड्रोन उडाउँदा हात्ती कान हल्लाउँदै पुच्छर ठाडो पारेर दौडियो । हात्ती भागेको हेर्न आएका मानिसले हुटिङ गरे । जहाँ हात्तीले सखाप पार्ने बालीभन्दा मान्छेले मडारेरै धेरै बाली नस्ट गरे । अहिले पनि यो क्रम चलिरहेको छ ।
बेलबारी नगरपालिकासँगको सहकार्यमा अहिले अनिल प्रधान नेतृत्वको टोलीले ड्रोन उडाएर हात्तीलाई बस्तीबाट धपाइरहेको छ । यसको प्रभावकारिता अहिलेसम्म देखिइरहेको छ । तर, यो दीर्घकालीन हिसावले भरपर्दो नरहेको विज्ञहरु बताउँछन् ।
‘भारतमा हेलिकप्टरले त केही गर्न सक्दैन । यसको प्रभावकारिता भने अब एक हप्तामात्रै हुनसक्छ । त्यसपछि हात्तीले टेर्न नै छोड्छ नि । ड्रोन उडाउनु असुरक्षित पनि बनेको छ । किनकि ड्रोन उडाउने भन्दा रमिता हेर्नेहरु पनि आइरहेका छन् । रातको समयमा हात्ती देखिँदैन,’ हात्ती विज्ञ कार्कीले भने ।
५ दिनदेखि ड्रोन उडाएर हात्ती धपाउन थालिएको हो । एउटै ड्रोनले लक्ष्मीमार्गको केराबारीमा १५ वटा हात्तीको हुल भगायो ।
हात्ती विज्ञ ज्ञवाली ड्रोन उडाएर मनोरञ्जन लिन र केही दिन धपाउन सके पनि यो दीर्घकालीन समाधान नभएको बताउँछन् ।
डिभिजन वन कार्यालय मोरङले भने विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । सामुदायिक वनसमूहले आगो बाल्नका लागि दाउरा दिएको छ । वनक्षेत्र र आवादी क्षेत्रमा बत्ती लगाएको छ । पालिकाहरुले पनि हात्ती धपाउन, दमकल र जेसीबीको प्रयोग गरिरहेका छन् । सुरक्षा निकाय, वन कार्यालय, वन उपभोक्ता समूह र स्थानीय तहले संयुक्त रुपमा काम गरिरहेका छन् ।
वन कार्यालयले विद्यार्थीहरुका लागि विद्यालयमा सचेतना कार्यक्रम पनि गरिरहेको छ । अर्थात् पहिलो पटक हुलका हुल आएको हात्तीलाई मोरङका प्रायः सबै सरकारी निकायले झेलिरहेका छन् भने हात्तीले पनि मान्छेको लखेटाइ झेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प