मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

फारवेष्ट पशुपति कप :  स्टार सिटी र इलाइट फाइनलमा

बिहीबार, १२ पुस २०८०, २० : ५८
बिहीबार, १२ पुस २०८०

कैलाली । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन् । धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन् ।  

पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब, बिएस— १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले खेलमा भएका सबै आठ गोल दोस्रो हाफमा बनाएका हुन् । 

स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११औँ मिनेटमा आफ्नो टिमका लागि खाता खोलेका कप्तान कुवेरले २१औँ मिनेटमा दोस्रो तथा २९औँ मिनेटमा तेस्रो गोलसँगै ह्याट्रिक गरेका हुन ।

स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५औँ र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१औँ मिनेटमा गोल गरेका हुन् । बिएस—१५ स्पोर्टस् एकेडेमीका लागि विदेशी खेलाडीद्वय गुइलामे डिनले दोस्रो हाफको ४०आँैं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरेका थिए । 

प्रतियोगिताको दोस्रो ह्याट्रिकसहित हालसम्म चार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका  स्टार सिटीका कुवेरसिंहले ‘म्यान अफ द म्याच’ घोषित भई रु पाँच हजारसहित ट्रफी पाएका थिए ।

आजै भएको दोस्रो सेमिफाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको इलाइट युवा क्लबले पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । इलाइटले आयोजक फारवेष्ट पशुपतिलाई ३–० गोलले पराजित गरेको हो । 

इलाइटका लागि विनोद केसी, भूपेन्द्र शाही र योहन्ना चौधरीले एक/एक गोल गरे । पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै विनोदले इलाइटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलले अगाडि रहेको इलाइटले दोस्रो हाफमा गोल थप्यो । दोस्रो हाफको ८औँ मिनेटमा भूपेन्द्र र ३४औँ मिनेटमा योहन्नाले गोल गरे । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका इलाइटका भूपेन्द्र शाही ‘म्यान अफ द म्याच’ भए । उनले रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । 

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोलीको सहभागिता छ । प्रतियोगितामा विजयी हुने टोलीले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप