बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

अन्तिम खेलमा एपीएफसँग हारे पनि सेमिफाइनलमा पुग्यो सन्दीप नेतृत्वको पर्सा

बिहीबार, १२ पुस २०८०, १५ : ०७
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सन्दीप लामिछाने नेतृत्वका पर्सा क्लब–११ लाई आठ रनले हराएको छ ।

लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबसँग पराजित भए पनि सन्दीपको टोली पार्सा–११ प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । सबै टोलीले पाँच–पाँच खेल खेलिसक्दा भारतको नोयडास्थित वन्डरर्स क्लब, पर्सा–११ र एपीएफ क्लबको समान चार–चार अंक भयो ।

त्यसपछि नेट रन रेटका आधारमा वन्डरर्स क्लब र पर्सा–११ सेमिफाइनलमा पुग्न सफल भयो । अन्तिम खेलमा जित हात पारे पनि एपीएफ क्लब भने उपाधि होडबाट बाहिरिन पुग्यो । वन्डरर्स क्लबको नेट रन रेट –०.४८२, पर्सा–११ को नेट रन रेट –०.७६१ र एपीएफ क्लबको नेट रन रेट –१.२५४ रह्यो ।

एपीएफ क्लबसँग भारतको उत्तर प्रदेश क्लब–११ पनि उपाधि होडबाट बाहिरियो । प्रतियोगितामा उत्तर प्रदेशले एक खेल पनि जित्न सकेन । त्रिभुवन आर्मी क्लब (१० अंक) र नेपाल पुलिस क्लब (आठ अंक) भने यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । लिग चरणमा आर्मीले सबै खेल जित्यो भने पुलिस क्लबले चार खेलमा जित हात पा¥यो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा अब पर्सा–११ ले बलियो प्रतिद्वन्द्वी आर्मी क्लबको सामना गर्नेछ । उक्त खेल शुक्रबार नै खेलिने छ । दोस्रो सेमिफइनल खेल पुलिस क्लब र वन्डरर्स क्लबबिच हुनेछ । उक्त खेल पनि शुक्रबार नै खेलिने छ ।

लिग चरणको अन्तिम खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्सा–११ ले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २० रनमात्र बनाउन सक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप