‘बुलेट’को कमान्ड गरेका महिलाहरू ‘ब्यालेट’मा अयोग्य ?
हरेक पुरुषको पछाडि एउटी महिला हुन्छे भनेजस्तै हरेक महिलाको पछाडि एउटा पुरुष हुन्छ । हरेक छोराको नजिक आमा हुन्छिन् भनेजस्तै हरेक छोरीको नजिक बुबा हुन्छन् । जुन मेरो पनि भोगाइ हो । बुबा जो राजनीतिमा धेरै सफल मान्छेको रूपमा दरिनु हुन्न उहाँ नै मेरो राजनीतिक जीवनको प्रेरणा हो । उहाँ नै मेरो राजनीतिको धरातल हो, जहाँ मैले टेकेकी छु ।
कक्षा ४ को कुरा हो जति बेला म पहिलो पटक कुनै राजनीतिक सङ्गठनको कमिटीमा आबद्ध भएँ । स्वभावतः राजनीतिबारे ममा कुनै राजनीतिक चेतना थिएन । थियो त केवल आकर्षण जुन मैले मेरा बुबाबाट पाएकी थिएँ । तर त्यही राजनीति र राजनीतिप्रतिको आकर्षणले मलाई मेरो गाउँमा ‘बिग्रेकी केटी’को कोटीमा पु¥याइसकेको थियो । मैले राजनीति गर्न थालेको आज झण्डै दुई दशकभन्दा बढी भएछ ।
यी दुई दशकमा यसो फर्केर मैले मेरो समाज, राजनीति र राजनीतिक संस्कार हुँदै समाजको रीतिथिति नियाल्दा ‘ओ हो’ भने जस्तो लाग्छ । तर हामी कहाँ पुग्यौँ त ? के दुई दशकअघिका कुरा आजको नेपाली समाजमा छैन ? के दुई दशकअघिको ‘बिग्रेकी केटी’को विशेषण आज मलाई अथवा मजस्तै अन्य कुनै महिलालाई लाग्ने गर्दैन ? यसो गम खाँदा म त्यसबाट बल्ल–बल्ल जोगिएँ तर अबको भावि पुस्ताले त्यस्तो विशेषण पाउनु पर्दैन भन्ने कुरा म ढुक्कसाथ भन्न सक्दिनँ ।
चितवन पटिहानी गङ्गानगरको मेरो बाल्यकाल र युवा अवस्था त्यो कालखण्ड हो, जसले मलाई जीवन, राजनीति र समाज बुझ्ने दृष्टिकोण दियो । बालसङ्गठनबाट राजनीतिमा पाइला हालेकी मजस्तै अन्य मेरा दमालीहरू मसँगै आए तर राजनीतिबाट अलप भए । उनका परिवारले राजनीति छोरी मान्छेले गर्ने काम होइन भन्थ्यो । कालान्तरमा उनीहरूको मानसिकता पनि घरजम गर्ने र सामान्य जीवन बिताउने भन्नेतर्फ मोडियो ।
सामान्य जीवन बिताउने कुरासँगै मेरो मनमा जहिलै राजनीति कसरी असमान्य भयो भन्ने तर्कना आउने गथ्र्यो । एउटा छोराले जसरी राजनीति गर्छ, त्यसैगरी एउटी छोरीले राजनीति गरी भने त्यो कुरा उसको चरित्रसँग कसरी जोडिन्छ भन्ने कुरा मैले मेरै जीवनमा नजिकदेखि नियालेँ । भलै हाम्रा अग्रजहरूले गरेको सङ्घर्षको धरातलमा टेकेर हामीले राजनीति किन नगरेको होस् ।
सबैका जीवनका लक्ष्य हुन्छन्, जुन स्वभाविक हो । कसैले घरजम गर्ने लक्ष्य लिए । कसैले समाजसेवा गर्ने लक्ष्य लिए । कसैले जागिर खाने लक्ष्य लिए । मैले राजनीति गर्ने लक्ष्य लिएँ । विभिन्न राजनीतिक आन्दोलनको बलमा मानिसहरूको चेतनामा परिवर्तन आएन भन्न सकिँदैन । पक्कै पनि नयाँ चेतना आएको छ । महिलाहरू पनि नयाँ चेतनासहितको धरातलमा उभिएका छन् ।
तर विश्वमा आएको परिवर्तन र हाम्रो देशमा आएको परिवर्तनको स्तर के हो ? यो त्यही देश होइन जहाँ पति विदेश गएको मौका छोपेर महिलाले अरूसँग ‘रासलिला रचाई’ भन्ने सन्देशको ‘छक्कापञ्जा’ले ‘हाउस फुल’ गरायो । समय त बदलियो, समयसँगै मानिसहरू पनि बदलिए तर दृष्टिकोण बदलिएन । हजुरआमा हुँदै आमा र छोरीको पालासम्म चलिरहेको निरन्तरतालाई देखेर धेरैलाई आनन्द लाग्दो हो ।
किनभने आर्थिक जिम्मेवारीसहित परिवारको रेखदेख गर्नु पनि कुनै सामान्य जिम्मेवारी होइन । यही जिम्मेवारीबाट जोगिएर ‘साधारण जीवन’ बिताउन चाहने अधिकांश महिलाले यस कुरालाई सहज रूपमा लिने भए । तर समाजको जिम्मेवारी आफ्नो काँधमा लिनबाट तर्कने कुराले पनि हामीलाई कतै यो भुमरीमा गोलचक्कर लगाइरहेको छ कि ?
जतिबेला घरमा छिमेकी गाउँलेहरू ‘सुवेदीकी जेठी छोरीको निकै नराम्रो कुरा सुनिन्छ के हो ?’ भन्दै आउने गर्थे त्यतिबेला मेरो पनि मनमा अब राजनीति छोड्नु प¥यो भन्ने नआएको होइन । म झण्डै १२ वर्षकी थिएँ, गाउँमा फलानोकी छोरी को–को केटाहरूसँग ‘नेतेनी’ बन्दै कता–कता हिँड्छे भन्ने कुरा बारम्बार आइरहन्थ्यो ।
मेरी आमा जो मभन्दा अघिल्लो पुस्ताको मान्छे हो । एउटी आमा, एउटी श्रीमती र एउटी महिला भएर सोच्दा छोरीबारे चिन्ता गरेर ‘अब तँ राजनीति, राजनीति भनेर नहिँड, गाउँमा बस्न खान भएन’ भनेर भन्नु कुनै अनौठो कुरा होजस्तो लागेन । तर मेरा बुबा मेरो आदर्श त्यसै बन्नु भएको होइन । घरमा गाउँले र आमाको एकै स्वर हुँदा बुबाले भित्र कोठामा लगेर हुन्छ कि, खानाखाने बेला हुन्छ, भनेको कुरा आज पनि मेरो मन, मष्तिष्कमा यसरी कँुदिएको छ, सायदै मेटिएला ।
‘छोरी हुनु अपराध होइन, यो त समाजमा लड्ने मजबुत आधार हो । तेरी आमा एउटी आमा मात्र होइन । यी छिमेकी र गाउँले यहाँ मात्र छैनन् यी त सिङ्गो देश र विश्वमा छन् । तैले राजनीति गर्ने भनेको यसैलाई फेर्न हो ।’ बुबाले यो सबै कुरा भन्दै गर्दा थप्नु हुन्थ्यो– ‘अरूले के भन्छन् भन्ने कुरामा मलाई धेरै चासो छैन, मलाई मेरी छोरीले के गर्छे भन्ने चासो छ । जहिलै याद राख्नु राजनीति गर्नका लागि यो घरमा कुनै रोकटोक, छेकबार हुनेछैन । मात्र मैले गरेको गलत हो अथवा सही आफै ठम्याउनु ।’
पटिहानी गङ्गानगरबाट पढ्दै हुर्किंदै आज काठमाडौं आएको पनि झण्डै डेढ दशक हुन लाग्यो । यसबीच म पुरातन सोचविरुद्ध लड्दै परिवर्तनका लागि सङ्घर्ष गर्दै माओवादीको विद्यार्थी राजनीतिमा सक्रिय भएँ । तर दुःखका साथ भन्नुपर्छ पुरानो सोचका विरुद्ध त्यत्रो सङ्घर्ष गरेको पार्टीमा पनि महिलालाई हेर्ने दृष्टिकोण हेयपूर्ण छ । पार्टी नेतृत्व अझै पनि महिलालाई नेतृत्व दिन चाहन्न । ऊ पुरुषहरूको पुरुषार्थमा विश्वास गर्छ । ‘बुलेट’को कमान्ड गरेका महिलाहरू ‘ब्यालेट’को क्षेत्रमा कसरी अयोग्य र असक्षम भए ? त्यो पनि त्यही पार्टीमा ?
बुबा जसले हामीलाई हुर्काएर यहाँसम्म पु¥याउनुभयो । बुबा जसले हामीलाई समाज बुझ्न र त्यसका अन्तरविरोधलाई हल गर्न प्रेरित गरिरहनुभयो । त्यो बुबा जसले आफ्नी छोरीले राजनीति गरोस भनेर वातावरण बनाइरहनु भयो । त्यही बुबाले छोरीलाई छोरी हुनुको पीडाबोध नहोस् भनेर पाइन्ट ल्याइदिनुभयो, त्यही मानसिकताले आज मलाई यो चेतनामा उभ्याएको छ ।
सायद मेरो हुर्काई नै त्यसरी भएको थियो, मैले कहिलै आफूलाई छोरी हुनुको असहजतामा पाइनँ । हो म पनि कमिटी गठन गर्न जाने बेलामा, सम्मेलनमा, विद्यालयमा महिनावारीका चरणमा परेँ । तर त्यसलाई जहिलै मैले प्राकृतिक र सहज रूपमा लिएँ, जुन मेरा कमिटीका केटासाथीहरूले लिन सकेनन् ।
मानिसको जीवनमा प्रेम भन्ने पनि बडो गजबको चीज रहेछ । मलाई पनि धेरैले प्रेम गर्छु भने । त्यो प्रेम थियो अथवा आकर्षण उनीहरू नै स्पष्ट थिएनन् । राजनीति र प्रेमको सम्बन्धका बीच एउटा पर्खाल छ जस्तो लाग्छ । प्रेमले घरजम गर्ने चाहना जन्माउँछ । घरजमले सन्तान जन्माउँछ । सन्तानले जहिलै पुरुष पतृसत्तात्मक सोचलाई मलजल गर्छ । त्यसपछि के छ र ? महिला घरमा कथित स्वतन्त्रतासहितको कैदी हुन्छे, पुरुष राजनीतिमा अघि बढ्छ । अनि फरि समाजको उही पुरानै गति दोहरिन्छ, जसलाई भत्काउन महिलाले सङ्घर्ष गरेकी हुन्छे ।
हुँदाहुँदै मैले प्रेम त गर्ने तर सन्तान नजन्माउने निधो गरेँ । अब प्रश्न उठ्छ कस्तो खाले प्रेम गर्ने ? सङ्गठन निर्माणका क्रममा मेरो नाम धेरै पुरुष साथीसँग जोडियो । नियतबस अथवा अन्जानबस तर मलाई कहिलै पनि मभन्दा ठुलो उमेरको पुरुष साथीले आकर्षित गर्न सकेन । जोसँग म प्रेमको गहिराइमा उत्रन सकूँ ।
समाज जसले हरेक कुराको आफ्नै खाले ढाँचा निर्माण गरेको छ, म त्यो ढाँचामा अटाउन सकिनँ । अथवा भन्नुस समाजद्वारा निर्मित विवाह प्रणाली जसको जन्म सम्पत्तीसँगै भयो र त्यसको वास्तविक हकदार पुरुषलाई बनाइयो । त्यही ढाँचाको विवाह प्रणालीलाई स्वीकार्न सकिने अवस्था रहेन । यस्तै वैचारिक उतारचढावले गर्दा होला ममा प्रेम पनि आफूभन्दा कम उमेरको पुरुषसँग गर्ने सोच हावी हुँदै गयो ।
ममा आफूभन्दा कम उमेरको पुरुषसँग विवाह गर्ने सोच हावि हुँदै जाँदा जहिलै पनि भारतीय क्रान्तिकारी नेता भगत सिंहको याद आउँछ । जतिबेला उनलाई जेलमा उनका अग्रजले बैँस छउनजेल हो भगवान नमान्ने, बूढो भएपछि सबै भगवानकै शरणमा जाने हो भनेपछि उनले ‘म नास्तिक किन भएँ’ भनेर लेखे ।
उनले उठाएको नास्तिकताको प्रश्न कसैलाई देखाइ दिनका लागि थिएन, न त कसैले केही भनेको आवेगमा । त्यस्तै ममा पनि यो कुरा कुनै आवेग अथवा समाजलाई देखाइदिन्छु भन्ने भावनाका साथ आएको होइन । यो त समयक्रममा आफै परिपक्व हुँदै गएको विचार हो । जसरी मैले राजनीति गर्नुपर्छ भन्ने विचार ममा हावि हुँदै आयो ।
आजको दिनसम्म मेरा लागि मेरो जीवनमा आदर्श पुरुषको छवि मेरो बुबाकै कँुदिएको छ । के त्यो आजीवन यसैगरी रहिरहला ? यो भन्न शायद मेरा लागि कठिन छ । त्यसैगरी जसरी पानीमा हाइड्रोजन र अक्सिजनको मलिकुल छैन भनेर प्रमाणित गर्न । राजनीतिमा लागेकी एउटी सामन्य महिलाले भोगेको यो भोगाइ उसको समयको राजनीतिक, सांस्कृतिक र वैचारिक धरातल हो, जहाँ मानिसहरूले यसरी पनि सोचे भनेर हाम्रो भावि पुस्ताले थाहा पाउने छ ।
सानो छँदा लाग्थ्यो समाजको गति निकै तीव्र छ, जसको पछिपछि म दगुर्दै छु । तर आज आएर यसो हेर्दा लाग्छ समाज आज पनि धेरै पछि छ । भलै त्यसको मानक हामीले के कुरालाई बनाउँछौँ, त्यो हाम्रो राजनीतिक वैचारिक धरातलले निर्धारण गर्छ । हामीभन्दा पछि आउने पुस्ताले यस विषयमा पक्कै सोच्नेछ तर हामीले अहिलेको जिम्मेवारी हाम्रो भावि पुस्तालाई छोडेर हामी यसबाट मुक्त हुन सक्दैनाँै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई