बुटवल उपमहानगरको १४ औँ अधिवेशन सुरु
बुटवल । बुटवल उपमहानगरपालिकाको १४औँ अधिवेशन सुरु भएको छ। बुधवारदेखि महानगरको १४ औँ अधिवेशन सुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेस गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउने लक्ष्यसहितका योजनाहरू अगाडि बढाइएको बताए ।
प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुई वटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने जानकारी दिए । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए।
बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषण स्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडीबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँको राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाइएको बताए।
बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरूलाई एउटै स्तरमा पुर्याउने गरी काम भइरहेको बताउँदै उनले प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको समेत उनले बताए ।
उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षारोपण तथा ४५ दिने सरसफाइ अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलवासीलाई प्रोत्साहन गरिएकाजस्ता उपलब्धिहरू बैठकमा प्रस्तुत गरेका थिए।
गृहिणी महिलाहरूलाई स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको बताउँदै उनले युवा इलम र महिला उद्यमशीलता कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको उनले बताए ।
यस्तै, नगर सभा अधिवेशनको पहिलो बैठकमा जलश्रोत विधेयक टेबुल गरिएको छ भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संशोधन प्रस्ताव टेबुल गरिएको छ।
बैठकमा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले विधेयक र ऐन संशोधनको प्रस्ताव टेबुल गरेका हुन्। नगर सभाको अर्को बैठक शुक्रवार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको नगर प्रवक्ता शिव रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का