बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

उच्च अदालतका न्यायाधीश नवराज थपलिया न्याय परिषद् तानिए

बुधबार, ११ पुस २०८०, १८ : १९
बुधबार, ११ पुस २०८०

काठमाडौँ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलिया न्याय परिषद्मा तानिएका छन् । गम्भीर न्यायिक विचलनको विषयमा छानबिन गर्न उनलाई परिषद्मा तानिएको हो । 

न्याय परिषद् स्रोतका अनुसार उनीमाथि गम्भीर प्रकृतिको उजुरी परेको र थप छानबिन गर्नुपर्ने भएकाले उनलाई परिषद्मा तानिएको छ । उनीमाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि भन्दै घुस उठाएको आरोप लागेको छ । परिषद्मा उनीमाथि सोही प्रकृतिको उजुरी परेको न्याय परिषद् स्रोतले जनाएको छ । 

उनीसहितका न्यायाधीशमाथि परेका उजुरीहरुको छानबिनका लागि भन्दै आइतबार मात्रै न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेका छन् । 

न्याय परिषद् काजमा तानिएका जिल्ला न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइराला तथा उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियासमेतको विषयमा विस्तृत छानबिन गर्न छानबिन समिति गठन गरिएको हो । न्याय परिषद् ऐन, २०७३ को दफा १७ र १८ मा उजुरीसँग सम्बन्धित मुद्दा वा अन्य विषयको अध्ययन तथा प्रारम्भिक छानबिन गर्ने व्यवस्था छ । सोही ऐनको दफा १९ मा दफा १७ र १८ बमोजिम विस्तृत छानबिन गर्नुपर्ने देखिएमा समिति गठन गर्नसक्ने व्यवस्था गरिएको छ । चार न्यायाधीशको विषयमा परेको उजुरी गम्भीर देखिएको र विस्तृत छानबिन गर्नुपर्ने भएकाले छानबिन समिति गठन गरिएको हो । 

विस्तृत छानबिन गर्नुपर्ने भएपछि सो सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी गरिएको छ । यसअघि नै तीन जिल्ला न्यायाधीश न्याय परिषद् काजमा तानिइसकेका छन् भने थप क्षति हुन नदिन उच्च अदालत जुम्लाका न्यायाधीश डा। नवराज थपलियालाई पनि न्याय परिषद् काजमा तानिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप