शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

सार्प सुटर सुजित सिंह : तराईका ६ वटा हत्यामा संलग्न

२ गोली प्रहार गरेर बाराबाट पक्राउ
बुधबार, ११ पुस २०८०, १५ : ५६
बुधबार, ११ पुस २०८०

काठमाडौँ । बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिक सुजित कुमार सिंह अहिले अस्पतालमा छन् । मंगलबार राति मुठभेट हुँदा २ राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।  अहिले उनको बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।

सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक १३ मा स्वर्णकारको हत्या भएको थियो ।

भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सुजित कुमार सिंह सार्प सुटर हुन् । ३२ वर्षीय सिंह ‘कन्ट्याक्ट किलर’ को रुपमा तराईमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

बारास्थित भुताही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो । सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०८० असोज ९ मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो । आरोपीहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् । सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

भारतीय सुटर सिंह बारामा ३ वटा हत्या, रौतहटमा २ वटा र सर्लाहीमा एउटा हत्यामा संलग्न रहेको बताइएको छ । एसपी काफ्ले भन्छन,‘उनी संलग्न घटनाबारे हामी अनुसन्धान गर्दै छौँ ।’ उनी भारतीय प्रहरीको पनि ‘मोस्ट वान्टेड’ सूचिमा छन् ।

सुजित कुमार सिंहको साथबाट प्रहरीले १ थान घरेलु हतियार (पेस्तोल) बरामद गरेको छ । उनी विगत ५ वर्षदेखि बारा, रौतहट र सर्लाहीमा भएका हत्याको घटनामा ‘कन्ट्याक्ट किलर’को रुपमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप