बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा

बुधबार, ११ पुस २०८०, १४ : ५६
बुधबार, ११ पुस २०८०

काठमाडौँ । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् । 

चितवनको सौराहामा मंगलवारदेखि सुरु भएको १७ औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा सुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकलि, लक्ष्मीकलि, बिजुलीकलि, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाको निर्णायक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । 

महोत्सवस्थल सौराहामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए । उनले नङ फुटे÷नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए । उनले निर्णायक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताए । 

तिमिल्सिनाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताए । उनले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रुपमा अघि बढाएको बताए ।

तिमिल्सिनाले कोरोनाभन्दा अघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताए । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरु भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप