सफिक र मसुदको अर्धशतकले पाकिस्तानलाई राहत

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिन बुधबार भ्रमणकारी टोली पाकिस्तान दबाबमा परेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पाकिस्तानले पहिलो पालीमा एक सय ९४ रन बनाउँदा ६ महत्त्वपूर्ण विकेट गुमाइसकेको छ ।
घरेलु टोली अस्ट्रेलियाले पहिलो पालीमा बनाएभन्दा पाकिस्तान अझै एक सय २४ रनले पछाडि छ । अस्ट्रेलिया पहिलो पालीमा तीन सय १८ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियन ब्याट्सम्यान पहिलो पालीमा ९६.५ ओभर क्रिजमा टिकेका थिए ।
पहिलो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाम्बुसेनले ६३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने अर्धशतक बनाउन सकेनन् । अस्ट्रेलियाका लागि डेभिड वार्नर ३८, उसमान ख्वाजा ४२, मिचेल मार्स ४१ र स्टिभन स्मिथ २६ रन बनाएका थिए ।
अस्ट्रेलियन टोलीले अतिरिक्त रुपमा मात्र ५२ रन पाएको थियो । पाकिस्तानी टोलीका बलर आमेर जमालले तीन तथा साहिन शाह अफरिदी, मिर हमजा र हसन अलीले दुई–दुई विकेट लिए । अर्को एक विकेट आघा समलमानले हात पारेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानका लागि पहिलो पालीमा दुई ब्याट्सम्यानले अर्धशतक बनाए । ओपनर अबदुल्लाह सफिक ६२ रन बनाउँदै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सान मसुदले पनि ५४ रन जोडे । यी दुई ब्याट्सम्यानको अर्धशतकका कारण पाकिस्तानले केही राहत पाएको थियो ।
पाकिस्तानका अन्य ब्याट्सम्यान भने लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर इमाम उल हक १० र बाबर आजम एक रन बनाउँदै पेभेलियन फर्किए । साउद सकिल पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । दोस्रो दिनको खेल सकिँदासम्म पाकिस्तानका लागिमोहम्मद रिजवान अविजित २९ र आमेर जमाल अविजित दुई रन बनाउँदै क्रिजमा छन् ।
पाकिस्तानले अतिरिक्त रुपमा पनि २२ रन पाएको छ । अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्सले तीन विकेट लिए । उनले १४ ओभरमा एक मेडन राख्दै ३७ रन खर्चिए । नाथन लियोनले दुई र जोस हेजलउडले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त