सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सांसदका कुरा

जाजरकोटकी सांसदको पीएचडी गर्ने धोको

द्वन्द्वकालमा श्रीमान् गुमाएकी मैनाले तीन सन्तानलाई पढाउँदै गरिन् एमए (भिडियो)
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेस जाजरकोटकी सांसद मैना कार्कीले हालै त्रिभुवन विश्वविद्यालयले गरेको ४९ औँ दीक्षान्त समारोहमा भाग लिइन् । राजनीतिक शास्त्रमा एमए गरेकी उनको पीएचडी गर्ने धोको पनि छ तर सांसदको भूमिकामा लाग्नुपर्ने भएकाले समय व्यवस्थापन गर्न गाह्रो हुने भएकोले अहिलेका लागि त्यो सपना उनले स्थगित गरेकी छिन् ।

माओवादी जनयुद्धका क्रममा सुराकीको आरोपमा शिक्षक रहेका उनका श्रीमान् जयबहादुर रावललाई २०६१ सालमा माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरे ।

जाजरकोटबाट विस्थापित भएर काठमाडौँमा बसेका बेला श्रीमान् गुमाउनुपरेपछि उनको सङ्घर्षका दिनहरू सुरु भएका थिए । एक छोरा दुई छोरीकी आमा मैनाको श्रीमानको निधनपछि छोराछोरी हुर्काउन, पढाउन र जीवन गुजारा चलाउन चुनौतीको सामना गर्नुपर्‍यो ।

उनले भनिन्– ‘धेरै सङ्घर्षका बाबजुद मैले मेरो पढाइलाई यहाँसम्म ल्याइपुर्‍याएँ, यसमा म खुसी छु । मलगायत मेरा छोराछोरी पनि खुसी छन् । मेरी ममीले यति धेरै सङ्घर्ष गरेर यहाँसम्म पढ्नुभयो भने हामीले पनि केही गर्नु पर्छ भनेर मेरा सन्ततिलाई पनि ऊर्जा थपेको छ । कलिलै उमेरमा यतिसम्म पढ्न पाएको भए अझै राम्रो हुन्थ्यो । उमेर पाको भइसकेपछि पनि मास्टर डिग्रीसम्म पढ्न पाएकोमा खुसी नै छु ।’

उनका श्रीमान्को हत्या हुँदा उनको शिक्षा एसएलसीसम्म मात्र थियो । सङ्घर्ष गर्दै यहाँसम्मको अध्ययन गरेपछि अहिले आफ्नै जिल्लाका दिदीबहिनीहरू पनि दुःख गरेर पढ्दा सकिने रहेछ हामी पनि किन नपढ्ने भन्ने उनीहरूमा पनि भावना बढेको सांसद कार्की बताउँछिन् ।

411523263_3538175896443562_3348808545229566775_n

२०४९ सालमा एसएलसी पास गरेकी कार्कीको २०५३ सालमा विवाह भएको थियो । छोराछोरी जन्मिएपछि उनले पढाइलाई अघि बढाउन सकिनन् । तर उनका श्रीमान् जयबहादुरले भने पढ्ने भए पढ भनेर ऊर्जा दिने गर्दथे । तर बालबच्चा भएको र दुर्गम ठाउँमा भएकाले उनले पढाइलाई अघि बढाउन सक्ने अवस्था थिएन ।

माओवादी जनयुद्धका बेला अस्थायी शिक्षक रहेका उनका श्रीमान् जयबहादुर नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल शिक्षक सङ्घमा आबद्ध रहेका थिए । कांग्रेस पार्टी निकट भएको आधारमा उनी अपहरणमा परेका थिए । त्यसबेला उनको पसल लुटिएको थियो । घरजग्गासमेत कब्जा गरिएको थियो । अपहरण मुक्त भएपछि २०५६ सालमा उनको परिवार गाउँबाट सदरमुकाममा विस्थापित हुँदै पछि काठमाडौँ विस्थापित भएका थिए ।

त्यसपछि वैदेशिक रोजगारीका लागि उनका श्रीमान् दुबई गए । दुबई गएको डेढ वर्ष भएको थियो । २०५२ सालतिर शिक्षा आयोगले लिएको परीक्षाको नतिजामा जयबहादुर रावलको  नाम  स्थायी शिक्षकमा निस्किएको थियो ।

उनी नेपाल फर्किएर स्थायी शिक्षकको नियुक्ति लिनका लागि जाजरकोट गएका थिए । जाजरकोटको नलगाड नगरपालिकाको तपोभूमि निमाविमा स्थायी शिक्षकको नियुक्ति लिएर गएका जयबहादुरलाई गाउँमा बसेर पढाउन माओवादी कार्यकर्ताहरूले समेत आग्रह गरेको सांसद कार्की स्मरण गर्छिन् । सो स्कुलमा पढाएको एक वर्षपछि २०६१ साल पुस १९ गते माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।

विस्थापित अवस्थामा र श्रीमान् गुमाउनुपरेपछि सांसद कार्कीको काठमाडौँमा सङ्घर्षमय दिन सुरु भएको थियो । उनले भनिन्– ‘विस्थापित भएर काठमाडौँ आएपछि रोजगारी पनि थिएन । छोराछोरी पढाउन ठुलो समस्या परेको थियो । सुरुमा थानकोटमा त्यहाँको स्कुलमा आग्रह गरेर थोरै शुल्कमा छोराछोरी भर्ना गरेकी थिएँ । पछि त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आग्रह गरेर छोरालाई लिटिल एञ्जेल्समा छात्रवृतिमा पठाउन थाले । त्यतिबेला प्याब्सनको अध्यक्ष उमेश श्रेष्ठ हुनुहुन्थ्यो । उहाँकै आग्रहमा छोरीलाई डन बस्कोले भर्ना गरिदियो । कान्छी छोरीले एसओएसमा पढिन् । त्यसरी बच्चाहरूलाई पढाइमा अघि बढाएँ ।’

खाली समयमा मनमा कुरा खेलिराख्ने, श्रीमानको मात्र याद आइरहने, डिप्रेसन जस्तो अवस्थामा गुज्रिएकी उनलाई उनका भाइले पढाईलाई अगाडि बढाउन सुझाव दिए ।

बच्चाहरूले त पढे अब मैले पनि केही गर्नुपर्छ भन्ने सोचाइ राखेर उनी पद्मकन्या कलेजमा आइए तहमा भर्ना भएकी थिइन् । श्रीमान्को हत्यापछि उनी पूर्ण रूपमा नेपाली कांग्रेसको राजनीतिमा पनि आबद्ध भएकी थिइन् ।

२०६५ सालतिर उनले आईए पास गरिन् । छोराछोरीको पढाइ र काममा समय दिँदा उनको पढाइले निरन्तरता भने पाउन सकेन । २०७६ सालतिर बीए पास गरेकी उनले हालै राजनीतिक शास्त्रमा एमए तह उत्तीर्ण गरेकी हुन् ।

दूरदराजको गाउँको स्कुलमा कक्षा ५ मा पुगेपछि मात्र अङ्ग्रेजी अल्फाबेट पढ्न सुरु गरेकी उनी अङ्ग्रेजीमा कमजोर थिइन् । छोराछोरीसँग यसको अर्थ के हो भनेर अङ्ग्रेजी सिक्ने गर्थिन । परीक्षा आएको बेला हामी काम गर्छौँ भनेर छोराछोरीले आफूलाई पढ्न समय दिने गरेको उनी बताउँछिन् ।

उनले भनिन्– ‘परीक्षा आएको छ भने पढ्नुस् न, घरको काम हामी गरिहाल्छौँ नि भन्थे । छोराछोरीबाट मैले यस्तो सहयोग पाउँथेँ । कतिपयका बच्चाबच्चीले पढेर के हुन्छ र भन्छन् तर मैले त्यस्तो कहिले पनि पाइन । पढ्नु पर्छ ममी, पढ्नु बरु तपाईं पढ्दा खर्च पुग्दैन भने हामीले गर्ने खर्चमा पनि कटौती गर्छौैं । बरु हामी थोरै खाजा खान्छौँ, सस्तो कपडा लगाउँछौँ । तपाईंले पढ्नु पर्छ भनेर सहयोग गर्थे ।’

नियमित क्याम्पस जान नसक्ने हुँदा उनले पढाइका लागि चाहिने सबै पुस्तक खरिद गर्ने गरेकी थिइन् ।

411467900_3538172106443941_3263667087613224124_n

सांसद कार्की भन्छिन्– ‘किताब किन्नका लागि मैले कहिले पनि पैसाको लोभ गरिनँ । बरु माछामासु खान कम गरेँ । फलफूल नै किन खानुपर्छ र ? होटलमा गएर खाजा किन खानुपर्छ र ? घरमा जे छ त्यही खाए हुन्छ भनेर मैले किताबहरू किनेर त्यसरी पढेँ ।’

उनले द्वन्द्वपीडित महिलाका लागि सरकारले दिएको राहतको रकम पढाइका लागि खर्च गरेको बताइन् ।

उनी भन्छिन्– ‘हामी द्वन्द्वपीडित महिलालाई ५० हजारका दरले किस्तामा क्षतिपूर्ति दिँदा अरू द्वन्द्वपीडित महिला कोही सुन लगाउनुहुन्थ्यो, कोही जग्गा जोड्नुहुन्थ्यो । मैले चाहिँ त्यो पैसा पढाइका लागि खर्च गरेँ । मैले यही ठिक गरेछु भन्ने लाग्छ । त्यो गरगहना, जग्गाजमिनभन्दा मेरो यो पढाइ नै बहुमूल्य रहेछ भन्ने कुरा महसुस गरेको छु ।’

उनले मात्र नभई उनका छोराछोरी पनि उच्च शिक्षा पूरा गर्ने ठाउँमा पुगेका छन् । उनकी जेठी छोरी अस्ट्रेलियामा बीएस्सी नर्सिङ अध्ययन गरिरहेकी छिन् । उनका छोरा चीनमा इन्जिनियरिङ गर्दै छन् । यस्तै कान्छी छोरी स्नातक तहमा अध्ययन गरिरहेकी छिन् ।

सांसद कार्की पढाइको महत्त्वबारे भन्छिन्– ‘म अहिले सदनमा बसेको बेला बुवाआमालाई सम्झन्छु । मलाई स्कुल भर्ना गरिदिने बुवा र हजुरबुवालाई सम्झन्छु । त्यतिबेला मलाई बुवाले स्कुलमा भर्ना गर्दा गाउँका मान्छेले गोपाल कार्की बौलायो भनेका थिए । अर्काको घरमा पठाउने जातलाई पनि स्कुल भर्ना गरेर आयो भनेर उनीहरूले यसो भनेका थिए । अहिले म सदनमा बस्दै गर्दा के सम्झन्छु भने, मैले कत्ति पनि पढेको थिइनँ भने मलाई कति अप्ठ्यारो हुन्थ्यो होला । आज म संसद्मा काम गर्दा कति धेरै विधेयक आउँछन्, त्यसमा सैद्धान्तिक छलफल गर्दा, त्यसमा संशोधन हाल्दा, संसद्को शून्य वा विशेष समयमा बोल्दै गर्दा यदि म निरक्षर माननीय थिएँ भने म के गर्थेँ होला भन्ने सम्झन्छु । यसका लागि मेरा बुवाआमा र हजुरबुवालाई सम्झिरहेको हुन्छु ।’

सांसद कार्की आफ्नो निर्वाचन क्षेत्रमा हुने बालविवाह रोक्न र छोरीलाई पढाउने अभियानमा पनि संलग्न छिन् । जाजरकोटका क्षेत्रहरूमा छोरीको छिटो विवाह गर्ने र पढ्ने अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्यका लागि आफू लागिपरेको उल्लेख गरिन् ।

प्रतिनिधि सभा सदस्य हुनुभन्दा अगाडि उनी द्वन्द्वपीडित साझा चौतारीलगायतका संस्थाहरूमा रहेर द्वन्द्वका क्रममा भएका अन्यायविरुद्ध न्यायको खोजीको अभियानमा पनि संलग्न थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया