भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
![भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो](https://npcdn.ratopati.com/media/news/covid_16ExVOOPvz.jpg)
बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो ।
पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो । अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।
यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
-
कोशी प्रदेशसभाका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल