कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने
महेन्द्रनगर । कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ । तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ ।
महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ । बस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो । सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ ।
कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दै आएका छन् । “अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, बर्खामा काम गर्न सकिन्न”, स्थानीय बहादुरसिंह सुनारले भने,“नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।” विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेको उनले बताए ।
बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ । अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ । बर्खामा नदीको भङ्गालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ । बालुवाका कारण उब्जनी घट्दै गएको छ ।
जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका प्रमुख श्रीप्रसाद यादवले महाकाली नदीको झोलुङ्गे पुलदेखि दक्षिण कुतियाकवरसम्म महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माणको सम्झौता भएको बताए । “दोधारा–चादँनी झोलुङ्गे पुल नजिक मर्मतको काम चलिरहेको छ”, उनले भने,“ कुतियाकवरमा ढुङ्गालगायत निर्माण सामग्री लैजान समस्या भएकाले काममा ढिलाइ भएको हो ।”
कुतियाकवरमा एक किलोमिटरभन्दा बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको प्रमुख यादवले भने । कुतियाकवर बस्ती जोगाउन आवश्यक पर्ने तटबन्ध निर्माणका लागि बजेट अभाव भएको उनको भनाइ छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष रु १६ करोड ८५ लाखमा ठेक्का दिइएको थियो ।
दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले वर्षातअघि तटबन्ध निर्माण नभए बस्तीसँगै सीमा नै जोगबुढा नदीमा समाहित हुने अवस्था रहेको बताए । “कुतियाकवर बगे नेपाल–भारत सीमा नै जोगबुढा नदीमा परिणत हुन्छ”, उनले भने । निर्माण अघि पारी कुतियाकवर जान जोगबुढामा अस्थायी बाटो बनाउनुपर्ने वडाध्यक्ष सिंहको भनाइ छ ।
“कुतियाकवरको झोलुङ्गे पुल वरपर दुई सय २० मिटर तटबन्ध बनिसकेको छ”, उनले भने । दलित र विपन्न समुदायको बसोबास रहेको सीमा बस्तीसम्म पुग्न जोगबुढामा झोलुङ्गे पुल बनेपछि सहज भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान