शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ललितपुर सिटी दोस्रो क्वालिफायरमा

मङ्गलबार, १० पुस २०८०, १९ : ४८
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । ललितपुर सिटी मंगलबार डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्समाथि ३–० को रबाफिलो जितसहित नेपाल सुपर लिग(एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा भएको इलिमिनेटरको प्रतिष्पर्धामा ललितपुर सिटीले लिग चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । लिग चरणमा काठमाडौँ रेजर्सले ललितपुर सिटीलाई १–० ले हराउँदै क्लालिफायरमा स्थान बनाएको थियो । 

मंगलबार हारको बदला लिने क्रममा ललितपुर सिटी काठमाडौँ रेजर्समाथि पूर्ण रूपमा हाबी भयो । कप्तान तथा डिफेन्डर अञ्जन राईले रातो कार्ड सामना गरेपछि काठमाडौँ रेजर्सले अन्तिम १६ मिनेटसम्म एक खेलाडीबिना नै खेल्यो । तर, थप गोल भने नबेहोरे पनि ललितपुर सिटीलाई ३–० ले नतिजा सुम्पिन बाध्य भयो ।

ललितपुर सिटीले अब बिहीबार दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ । पोखरा थन्डर्सले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हार व्यहोरेको थियो ।  त्यसअघि दिनेश हेन्जनले १५औँ मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमाउँदा ललितपुर सिटी खेलमा अग्रता बनाउन चुक्यो । इमोन इजेकिलले काठमाडौँ रेजर्सका डिफेन्डरलाई बिट गराउँदै दिएको पासमा अनमार्क दिनेश सहज गोल गर्न असफल भएका हुन् ।  

ललितपुर सिटीले ३६ औँ मिनेटमा इजेकिलको गोलबाट अग्रता लियो । दुई मिनेटपछि नै काठमाडौँ रेजर्सका सोखरुखको फ्रिकिक प्रहार ललितपुर सिटीका गोलकिपर जेफ्री विली मार्सलका लागि चुनौती भएन । ४३औँ मिनेटमा आदित्य शाक्यले लेफ्ट साइडबाट गरेको सट काठमाडौँ रेजर्सका गोलकिपर अन्जल श्रेष्ठले पन्च गर्दै बाहिर पठाइदिए । सोही क्रममा प्राप्त कर्नरबाट ललितपुर सिटी खेलमा फर्कियो । ललितपुर सिटीले पापा केबेको गोलबाट अग्रता दोब्बर पारे ।

कर्नरबाट प्राप्त बललाई ललितपुर सिटीका कप्तान अनन्त तामाङको हेडर काठमाडौँ रेजर्सका कुलदीप कार्कीले हेडमार्पmत क्लियर गरे पनि माथिल्लो बारमा डिफ्लेक्ट बललाई पापाले गोल गरेका हुन् । पहिलो हाफको थप समयमा इजेकिलले अग्रता ३–० ले बढाउने अवसर गुमाए । त्यससँगै पहिलो हाफमा ललितपुर सिटी २–० ले अगाडि रह्यो । दोस्रो हाफको शुरुवातीमा इजेकिलले गोल गर्दै अग्रता बढाए । ५३औँ मिनेटमा निखिल कदमको फ्रिकिकमा इजेकिलले हेडरमार्पmत सुन्दर गोल गरे ।

एक मिनेटपछि नै काठमाडौँ रेजर्सको काउन्टर अट्याकमा एनकेङग्यु जुनियरले पेनाल्टी क्षेत्रबाट गरेको सट सञ्जीत राईको खुट्टामा ठोकिएर बाहिरिन पुग्यो । ६२औँ मिनेटमा सोखरुखको फ्रिकिक बारभन्दा केही माथिबाट बाहिरिपछि काठमाडौँ रेजर्सको खेलमा फर्कने प्रयास सफल भएन । तीन गोलले पछि परेको काठमाडौँ रेजर्स एक पछि अर्को सामना गर्नुप¥यो । ७४औँ मिनेटमा कप्तान अन्जन राई दोस्रो पहेँलो कार्ड बेहोर्दै बाहिरिएपछि काठमाडौँ रेजर्सका थप दबाबमा रह्यो ।

ललितपुर सिटीका पापाको ८३औँ मिनेमा पेनाल्टी बक्स बाहिरबाट गरेको सट काठमाडौँ रेजर्सका गोलकिपर अन्जलले सहजै रोके । इन्जुरी समयको पहिलो मिनेटमा पापाले पेनाल्टी बक्सबाट गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो । अन्तिम समयमा काठमाडौँ रेजर्सका गणेश हमाल लतिलपुर सिटीका विशाल सुनारसँग वान भर्सेस वानमा गोल गर्न चुके । सोखरुखले ललितपुरका डिफेन्डरलाई बिट गर्दै उपलब्ध गराएको पासमा उनी करिब १० यार्डबाट गोल गर्न असफल रहे । त्यससँगै ललितपुर सिटीले डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्समाथि ३–० को सहज जित निकाल्यो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप