शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

‘शिक्षा एकातिर छ, जागिरमा गरिने काम–कारबाही अर्कोतिर’

शिक्षाविद् डा. विष्णु कार्कीलाई प्रश्न : राज्यले दिने शिक्षाको परिभाषा के हो ?
मङ्गलबार, १० पुस २०८०, १३ : ४५
मङ्गलबार, १० पुस २०८०

हामी वास्तवमा एउटा स्पष्ट परिभाषाबाट डोरिएका छैनौँ । एउटा समय थियो, जतिखेर छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने हाम्रो राष्ट्रिय नारा थियो । त्यतिखेर धेरै ठाउँका छोराहरू पनि विद्यालय नपुगेको अवस्था थियो । त्यहाँबाट छलाङ मारेर अहिले हामी यस्तो अवस्थामा आइपुगेका छौँ, कसैले पनि छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने नारा लगाउन छाडे, किनभने त्यो अवस्था हामीले गुजारिसक्यौँ । 

अहिले आएर हामी केही चिजमा अलमलिइरहेका छौँ, त्यसबाट बाहिर निस्कन सकेका छैनौँ, यसमा हामीजस्ता शिक्षाकर्मीको पनि कमजोरी देख्छु, मेरो आफ्नै पनि कमजोरी देख्छु । 

हामीले अभिभावक वा बजारलाई यो सन्देश दिन सकिरहेका छैनौँ कि शिक्षा भनेको विद्यालयमा मात्रै निहित हुँदैन, जीवनमा हामीले जति सिक्नुपर्ने हुन्छ, त्यसको १० प्रतिशत मात्रै विद्यालयमा सिकाइएला । उसले सिक्नुपर्ने ९० प्रतिशत अन्य ‘स्किल’, सामाजिक मूल्यहरू वा समाजका अन्य विविध विषयहरू विद्यालयमा सिकाइँदैन, यी कुरा उसले बाहिर वा समाजबाटै सिक्नुपर्छ । 

मैले मास्टर गरेर जतिखेर शिक्षा मन्त्रालयमा जागिर खाएँ, त्यतिखेर मैले गरेको मास्टर डिग्रीले त्यहाँ हुबहु काम गर्ने अवस्था थिएन । मैले काम कसरी गर्ने भनी सुरुदेखि नै सिक्नुपर्ने थियो । अर्थात्, शिक्षा एकातिर छ, जागिरमा गरिने काम–कारबाही अर्कोतिर छ । जागिर खानका लागि पहिलो आवश्यकता मात्रै भयो, सर्टिफिकेट । सर्टिफिकेटबिना लोकसेवा भिड्न पाइँदैन । त्यसपछि लोकसेवा पास गर्नलाई तपाईंले सामान्य ज्ञानदेखि थुप्रै विषय पढ्नुपर्छ, जुन कुरा विद्यालयमा पढाइएन । लोकसेवाका लागि कोचिङ क्लासदेखि विभिन्न तयारी समेत गर्नुपर्छ । 

यसरी हेर्दा हामीले शिक्षालाई परिवर्तन गर्न सकेनौँ । शिक्षा लिएको मान्छेले सिधै रोजगारको अवसर पाउने पनि होइन । अहिले जति पनि खाडी मुलुक लगायत देशमा रोजगारीका लागि गइरहेका छन्, उनीहरूका लागि एसएलसी वा एसईईको सर्टिफिकेट वा शिक्षाले काम गर्दैन । उसले सम्बन्धित देशको भाषा पढ्नैपर्छ । त्यहाँ गएर उसले जे काम गर्छ, त्यसमा पनि उसको शिक्षाले काम गर्दैन । 

हामीले स्कुले शिक्षालाई यति रिजिड बनाइँदियौँ, के भन्यौँ भने– तिमी विद्यालयमा आऊ, पढ, पास गर । हाम्रा विद्यालयले कम्तीमा पास र फेल गराउन भने जानेका छन् । यसमा शिक्षकहरू झन् माहिर छन् । 

शिक्षा भनेको विद्यालयमा मात्रै निहित हुँदैन, जीवनमा हामीले जति सिक्नुपर्ने हुन्छ, त्यसको १० प्रतिशत मात्रै विद्यालयमा सिकाइएला । उसले सिक्नुपर्ने ९० प्रतिशत अन्य ‘स्किल’, सामाजिक मूल्यहरू वा समाजका अन्य विविध विषयहरू विद्यालयमा सिकाइँदैन, यी कुरा उसले बाहिर वा समाजबाटै सिक्नुपर्छ ।

एकचोटि शिक्षक भएपछि उसले जिन्दगीभरि आफूलाई अपडेट गर्नुपर्दैन, ऊ जिन्दगीभरि शिक्षक भइरहन्छ । त्यसपछि ऊ विद्यार्थीलाई पास वा फेल गरेर बसिरहन्छ । हामीले शिक्षाको अर्थमा विविधता ल्याउन सकेनौँ । 

कसैले प्रगति गर्न, आफ्नो एउटा पहिचान बनाउन वा कुनै क्षेत्रमा संघर्ष गर्नका लागि उसलाई चाहिने सीप के हो, दक्षता के हो, यसबारे हामीले औँल्याउन सकेनौँ । उसलाई चाहिने सबै सीप विद्यालयमै सिकाउनुपर्छ भन्ने होइन । तर हामी यसकै पछाडि लागिरहेका छौँ । अहिले तपाईंले सबै करिकुलम (पाठ्यक्रम) हेर्नुभयो भने यति गाईजात्रा छ, क्लाइमेट चेन्जदेखि फ्यामिली प्लानिङसम्म नानाथरी कुरा राखेर त्यसलाई खिचडी बनाएका छौँ । 

विद्यार्थीलाई अन्य सीप सिक्नका लागि चाहिने विशुद्ध आधारभूत वातावरण सिर्जना गर्नु नै स्कुलको करिकुलमको एक मात्र उद्देश्य हुनुपर्ने हो । सामान्य लेखपढ र कम्युनिकेट गर्नेजस्ता आधारभूत ज्ञान भएन भने उसले अन्य सीप सिक्न गाह्रो हुन्छ । चाहे त्यो फरक क्षमता भएकाहरूले ब्रेललिपि वा साइन ल्याङ्ग्वेजमार्फत सिकून् । अरु ठूलो सीप वा विषय सिक्नका लागि बेसिक ज्ञान पहिले हुनुपर्‍यो । स्कुलले गर्ने बेसिक फङ्क्सन (कार्य) भनेको यही हो । तर हामी आफैँले यस्तो रिजिड सिस्टम क्रेट गरिरहेका छौँ, विद्यालयमा आएर सर्टिफिकेट नलिएसम्म मान्छेको अरु कुनै कुरामा पहुँच हुँदैन । सर्टिफिकेट लिनका लागि विद्यालय नै जानुपर्ने किन ? अब हामीले के महसुस गर्नुपर्छ भने सबै सीप विद्यालयमा सिकाउन सकिँदैन र सिकाउन जरुरी पनि छैन । किनभने त्यहाँको शिक्षक हरेक विधाको एक्स्पर्ट हुँदैन । हरेक विधा जान्ने एक्स्पर्ट हरेक विद्यालयमा उपलब्ध गराउन पनि सकिँदैन । 

अन्य देशमा शिक्षा एकदमै सहज हुन्छ । त्यसैले हाम्रा विद्यार्थी बाहिर पढ्न जान चाहन्छन् । यहाँजस्तो उहाँ धेरै विषय पढ्न पर्दैन । आफूलाई मन लागेको सीमित विषय पढ्न पाइन्छ । आफूले कुन विषय पढ्ने भनेर कन्सेप्ट लेखे अनुसार पढ्न सकिन्छ । जस्तो ः कसैले एजुकेसनमा पीएचडी गर्न त्यहाँ ५० वटा विषय पढ्नुपर्दैन । एजुकेसनभित्रको पनि कुन चाहिँ डोमेन (कार्यक्षेत्र)मा फोकस गर्ने हो, त्यससम्बन्धी कुरा पढे पुग्छ । ‘इन्टरनेसनल एजुकेसन’मा पीएचडी गर्ने भए त्योसँग सम्बन्धित कुराहरू पढे पुग्छ । बाँकी कुरा आफूले अनुसन्धान गर्ने हो । यो खालको लचकता हाम्रो शिक्षामा छैन । हामीले यो किसिमले लचक हुन जरुरी छ । 

हामी अझै पनि यति पेडागोजिकल (शैक्षणिक) छौँ, विद्यार्थीलाई आफ्नो विषयसँग सम्बन्धितमा क्षेत्रमा पठाउँदैनौँ ।

यहाँले शिक्षाको परिभाषाको कुरा गर्नुभयो, वास्तवमा एउटा गम्भीर परिभाषा हामीलाई जरुरी छ । अघि मैले भनेँ, हामीले स्कुलमा १० प्रतिशत सिक्छौँ भने बाँकी ९० प्रतिशत कुरा के हुन् भनी भनिदिनुपर्छ । समाजबाट सिक्ने सामाजिक मूल्य, केही सीप जुन विद्यार्थीले घरमै सिक्न सक्छ । जस्तो ः खाना पकाउने कुरा । यो आधारभूत सीप हो, यसलाई कुनै स्कुल–कलेज वा क्याम्पसमा पढ्न जरुरी छैन । विद्यार्थीलाई स्कुल–कलेजले भन्नुपर्‍यो— यी आधारभूत सीप घरमा वा घरनजिकै संस्था, फर्म वा कारखानामा गएर सिकेर आऊ, हामी परीक्षा लिन्छौँ । एउटा सानो उदाहरण, मेडिकल क्षेत्र पढ्दै गरेको व्यक्तिलाई अस्पताल वा बिरामीहरूको वातावरणसँग परिचित बनाउनुपर्छ । 

हामीकहाँ कस्तो भयो भने डाक्टरले नर्सलाई अह्राउने, इन्जिनियरले अरुलाई अह्राउने गरिन्छ । पढेर आएपछि त ऊ अगाडि सर्नुपर्छ, उसले फिल्डको काम जानेको हुनुपर्छ । अनि उसको पढाइले सही सेवा दिने वातावरण बन्छ । विदेशमा घरमा आएर दराज बनाउने वा बिजुली लगायतको काम गर्ने मानिस इन्जिनियर हुन्छ । ऊ आफैँ आएर भन्छ, मैले फलानो ठाउँबाट फलानो विषयमा इन्जिनियरिङ गरेको छु । हामीकहाँ कहिल्यै पनि इन्जिनियर काम गर्न आउँदैन, कामदार आउँछ । यसरी हाम्रो पढाइ र सीपको प्रयोगबीच ‘डिसकनेक्ट’ भएको छ । इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई सुरुदेखि नै सम्बन्धित क्षेत्रको बारेमा बुझ्ने वातावरण दिनुपर्‍यो । हामीकहाँ एकाएक कक्षा १२ पास गरिसकेपछि मात्रै डाक्टर, इन्जिनियर वा अरु के विषय पढ्ने भनेर सोच्न थालिन्छ । 

पछिल्लो समय हामीकहाँ पनि कक्षा ९ देखि विद्यार्थीले भविष्यमा पढ्ने विषयसँग सम्बन्धित विषय पढाइन्छ । तर हामी अझै पनि यति पेडागोजिकल (शैक्षणिक) छौँ, विद्यार्थीलाई आफ्नो विषयसँग सम्बन्धितमा क्षेत्रमा पठाउँदैनौँ । जेजति सिकाइ हुन्छ, क्लास रुमभित्रै हुन्छ । हाम्रो दुर्दशा यही हो । सर्टिफिकेट पाउन स्कुलमै पढ्नुपर्छ, तर त्यहाँ पढेर जति जानिने हो, त्यति जान्नेलाई सर्टिफिकेट वा लाइसेन्स दिने व्यवस्था हामीकहाँ छैन । यस कारण हाम्रो शिक्षाको पुनर्परिभाषित हुन आवश्यक छ । हाम्रा अभिभावकदेखि शिक्षक, बौद्धिक वर्ग सबैले के कुराको महसुस गरिदिनुपर्‍यो भने, अबको शिक्षा भनेको विद्यालयमा शतप्रतिशत निहित वा आश्रित होइन, विद्यालय नै सम्पूर्ण होइन है, त्यहाँको सिकाइले मात्रै काम गर्दैन । 

(शिक्षाविद् डा. कार्कीसँगको अन्तर्वार्ता रातोपाटीमा आउँदै छ ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विष्णु कार्की
डा. विष्णु कार्की
लेखकबाट थप