मध्यपहाडमा एमालेको यात्रा एक संकल्प अनेक
जनमतका हिसाबले लोकप्रिय र संगठनका हिसाबले व्यवस्थित पार्टी नेकपा (एमाले) गत वर्ष भएको निर्वाचनमा समानुपातिकमा पहिलो पार्टीका रूपमा स्थापित भएको थियो । नेपाली जनताका समस्याको पहिचान गर्ने र सही समाधान दिने पार्टीका रूपमा एमाले स्थापित छ ।
निरंकुशताका विरुद्ध लोकतन्त्र, अशिक्षाका विरुद्ध जीवनोपयोगी शिक्षा, सबै खाले विभेदका विरुद्ध समानताको पक्षपोषण गर्दै वर्गीय मुक्तिको समाजवादी लक्ष्य तय गरेर स्थापना भएको नेकपाको ७५ वर्ष पूरा भएको छ । स्थापनाकालीन अवस्थाबाट ७५ वर्ष पार गर्दा समाजमा के–कस्ता फेरबदल आए ? समाजको वर्गीय बनोट कुन अवस्थामा छ ? अब कम्युनिस्ट पार्टीका योजना कस्ता हुनुपर्छ ? कार्यदिशा, कार्यभार र कार्ययोजना कस्तो बनाउँदा जनताको सपना पूरा हुन्छ ? जस्ता यक्ष प्रश्नका उत्तर खोज्नु अनिवार्य बनेको छ ।
यस्तै प्रश्नहरूको उत्तर खोज्ने अभिप्रायःले पुष्पलाल लोकमार्गमा यात्रा तय गरिएको हो । नेकपा स्थापनाको हीरक महोत्सवको रूपमा तय गरिएको समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल लोकमार्गमा यात्रा एक संकल्प अनेकका रूपमा परिचित हुन पुग्यो । पार्टीको यात्रा भए पनि राष्ट्रको यात्रा बन्न पुग्यो ।
संकल्प १ : पुष्पलालको नाममा नामाकरण गरिएको मध्यपहाडी लोकमार्ग यात्राको क्रममा क. पुष्पलालको स्मृति र योगदानको चर्चा परिचर्चाहरू भए । स्थापनाकालीन अवस्था र वर्तमान अवस्थाका बिचमा आएका बदलाबको विश्लेषण भए । नेकपा स्थापनाको हीरक महोत्सव मनाउँदै गर्दा नेपाली समाजका लागि समृद्धि सहितको समानताको लक्ष्य भएको मूल बाटो पत्ता लगाउने पुष्पलालप्रति यो यात्राले उच्च सम्मानका साथ स्मरण गर्दै उनका अधुरा सपना पूरा गर्ने संकल्प गरेको छ ।
संकल्प २ : नेकपा स्थापनाको ७५ वर्ष भएको छ । अबको २५ वर्षपछि नेकपा स्थापनाको सय वर्ष पुग्दै छ । स्थापनाको सय वर्षलाई आधार मानेर नेकपा एमालेको नवौैँ राष्ट्रिय महाधिवेशनले समृद्ध नेपाल सुखी नेपालीको ३५ वर्षे योजना निर्धारण गरेको थियो । श्रद्धेय पार्टी अध्यक्ष क. केपी ओली नेतृत्वको सरकारले यो योजनालाई राष्ट्रिय आकांक्षा बनाएको थियो । सो योजना साकार पार्न १० वर्षमा के–के भए ? सिंहावलोकन र अब बाँकी २५ वर्षमा के–के गर्नुपर्ने हो ? कसरी कसरी गर्नुपर्ने हो ? कसले कसले गर्नुपर्ने हो ? जस्ता विषयको फैसला गर्दै कार्यदिशा र कार्यभार तय गरी नेकपा स्थापनाको सय वर्षमा समृद्ध नेपाल सुखी नेपाली बनाएरै छाड्ने संकल्प गरेको छ । त्यसकारण यो यात्राको नाम समृद्धिका लागि संकल्प यात्रा हुन पुगेको छ ।
संकल्प ३ : नेपाल भूपरिवेष्टित राष्ट्र हो । एक हिसाबले भन्दा यो देश भूजडित अवस्थामा रहेको छ । नेपाल वरिपरि पहाडले पटुकी कसेको मुलुक हो । पहाड सम्भावना नै सम्भावना बोकेर बसेको छ । तर त्यसको मेलोमेसो पाउन नसकेर पहाड भौँतारिन बाध्य छ । पानीको बहुउपयोगीपना अझै प्रयोग भएको छैन । माटोको उर्वर क्षमता भरपूर उपभोग भएको छैन । जंगलको बहुउपयोग गरिएको छैन । पहाडको खनिज, जल, जमिन, जंगल, जडीबुटी र जनावरको बहुउपोग गर्दा मात्र समृद्धि सम्भव छ । यसका लागि यो यात्राले संकल्प गरेको छ ।
संकल्प ४ : नेपालमा छिटो फस्टाउन सक्ने उद्योग पर्यटन उद्योग हो । २५ वर्षभित्र हरेक नागरिकलाई समृद्धि हासिल गर्न पर्यटन एक महत्त्वपूर्ण उद्योग बन्न सक्छ । पहाडले धेरै पर्यटक तान्न सक्छ, पाल्न सक्छ र थेक्न सक्छ । सुन्दरताको परिचायक हो पहाड । पहाडका हरेक डाँडा भ्यू–टावरको रूपमा रहेका छन् । छाँगा, छहरा र झाडीहरू प्राकृतिक रूपमै छन् । हाम्रा पहाडका मनमोहक दृश्य, हावापानी, वातावरण, अर्गानिक कृषि फसलले पर्यटक आकर्षित गरिरहेको छ । पर्यटनका सम्भावना र प्रवद्र्धनका विषयमा यो यात्राले विशेष संकल्प तय गरेको छ ।
संकल्प ५ : कृषि उद्योगका हिसाबले पहाड अत्यन्त सम्भावना बोकेको क्षेत्र हो । फलफूल, अन्नबाली र स्वास्थ्यबद्र्धक अर्गानिक उब्जनी पहाडको लोभलाग्दो एवं सुन्दर पक्ष हो । पहाडको सिरेटोमा फलेको चिया र गर्मी ठाउँमा फलेको चियाको स्वादमा धेरै फरक छ । त्यस्तै, चिसो प्राकृतिक मौसममा फलेका अन्नबालीको स्वाद विशेष हुन्छ नै । त्यसैले पहाडको उत्पादनको माग विश्व बजारमा बढ्दो छ । यसर्थ पहाडको उत्पादनलाई उद्यमको रूपमा विकास गर्न सकिने आधार पैदा भएको छ । पहाडको उत्पादनलाई गुजारामुखी होइन, उद्यममुखी बनाउनुपर्नेछ । व्यवस्थित खेती र उद्योगमैत्री खेतीको रूपमा विकास गर्नुपर्ने देखिएको छ । स्वास्थ्यबद्र्धक अर्गानिक कृषि उत्पादन र कृषि उद्योगका लागि विशेष संकल्प यो यात्राले तय गरेको छ ।
संकल्प ६ : पहाडमा विकास पस्ने तर जनता पहाडबाट निस्कने बिप्ल्याँटो परिस्थिति सिर्जना भएको छ । बसाइँसराइ पहाडको डरलाग्दो पक्ष हो । स्वस्थ जीवनका लागि पहाड, प्राकृतिक मनमोहक वातावरणका लागि पहाड, मौसमी कृषि उत्पादनका लागि पहाड, त्यसैले सबैको रोजाइ पहाड बनाउनुपर्नेछ । अब भौतिक पूर्वाधारले भरिएको पहाड, पढ्न पाउने पहाड, उपचार पाउने पहाड, कमाउन पाउने पहाड, रमाउन पाउने पहाड, हरेक जनमन बस्न लालायित हुने पहाड बनाउने संकल्प यो यात्राले गरेको छ ।
संकल्प ७ : नेकपा एमालेको जनतासँग कसिलो सम्बन्ध बनाउन यो यात्राले मद्दत गरेको छ । जनसम्बन्ध बढाउने, जनगुनासो सुन्ने, जनअपेक्षा बुझ्ने र कमी–कमजोरी पत्ता लगाउँदै सच्चिने अवसरका रूपमा पनि यो यात्रा रहेको छ । यात्राका क्रममा पार्टी नेता, कार्यकर्ताहरू जनताको घर–घरमा बास बसेका छन् । हरेक घरबाट निस्कँदा नेतृत्व पंक्तिले जनताको जीवनशैली र जनताले नेतृत्वको जीवनशैलीको साक्षात्कार गरेका छन् । जनताले रुचाउने, समाजले पचाउने जीवनशैली नेता–कार्यकर्ताको जीवनशैली रहनुपर्ने खासमा जनशैली अपनाउने संकल्प यो यात्राले तय गरेको छ ।
पहाडका समस्या
पहाडका गाउँ वृद्धाश्रमजस्तो भएको छ । अधिकांश युवा विदेश छन् । विदेशमा नगएका पनि जाने तर्खरमा छन् । नेपालमा सम्भव छैन जस्तो भाष्य बन्न खोज्दै छ । विद्यार्थीका उद्देश्य देशभित्र केही गर्ने भन्दा पनि विदेश जाने बनिरहेको छ । हाम्रो गाउँका बस्तीहरू छरिएर रहेका छन् ।
गाउँ विकासले तीव्रता नपाउनुमा एकीकृत बस्ती नहनु पनि रहेको छ । नेकपा एमाले नेतृत्वको सरकारले अगाडि सारेको १० वटा स्मार्ट सिटीको अवधारणा मध्यपहाडलाई गुल्जार बनाउने उपयुक्त विकल्प देखिएको छ ।
१) गुजारामुखी कृषि
पहाड उर्वरताले भरिपूर्ण क्षेत्र हो । यस क्षेत्रका एकै स्थानमा धेरै प्रकारका अन्नबाली र फलफूल फल्न र फस्टाउन सक्छ । हामी घुमेका हरेक स्थानमा एकै ठाउँमा १०–१५ प्रकारका अन्नबाली र फलफूल लगाएको भेटियो । सबै फसल राम्रैसँग फलेका र फस्टाएको पनि देखियो । उनीहरू ती उत्पादनलाई बिक्रीका लागि होइन केवल घरायसी उपभोगका लागि मात्र उत्पादनमा लागेका देखियो । एकै प्रकारका फसल धेरै उत्पादन हुने गरी लगाउँदा व्यावसायिकता बढ्थ्यो । तर त्यसो हुन सकेको देखिएन ।
कृषि कर्म गरेकाहरू पनि उत्पादनलाई सहज ढंगले बिक्री गर्न सकिरहेका छैनन् । उत्पादनले उचित मूल्य पाइरहेका छैनन् । मौसमी उत्पादनलाई बेमौसमा बिक्री गर्न उचित संकलन र भण्डारण केन्द्र छैन । मौसमी उत्पादनलाई बहुमूल्य बनाउने प्रशोधन केन्द्र छैन । मौसममा आएका प्रतिकूलता र कृषि फलफूलमा आएका रोगव्याधीको उचित उपचार छैन ।
२) पशुपालन छ तर व्यावसायिकता छैन
जनताले पशुपालन गरेका छन् तर व्यावसायिक पशुपालनमा खास रुचि देखाएका छैनन् । सामूहिक संस्कार कम छ । एकल व्यवसाय फस्टाउने तर सामूहिक व्यवसाय मुर्झाउने काम भएको छ । व्यावसायिकतामा जान सामूहिकता सजिलो उपाय हो, तर समूहको काम कहिले जाला घाममा रूपान्तरण भएको छ । पशुको विषयमा खास ज्ञान छैन । रोगव्याधीको उचित उपचार पद्धति र प्रणाली छैन । बिमाको सहजता र प्रभावकारिता छैन । सरकारको अविभावकीय भूमिका छैन । उत्पादनको सहज बिक्रीको पहँुच छैन । महामारीमा कुनै मलम छैन । उत्पादनको बहुमूल्यपना वृद्धि गर्न कुनै संकल्न तथा प्रशोधन केन्द्र र कोल्ड स्टोर छैन । एकपटकको क्षतिले सधैँलाई असर पारिरहेको छ । एउटाको असफलता सबैको असफलतको स्रोत बनिरहेको छ ।
३) जडीबुटी
पहाड जडीबुटीको भण्डार हो । जडीबुटीहरू औषधीका रूपमा प्रशोधित भएर आउँछन् । कच्चा पदार्थलाई सस्तोमा बेच्ने तर प्रशोधित माललाई मूल्य धेरै तिर्नु परिरहेको छ । कतिपय जडीबुटी प्रशोधनको खास ज्ञान नहँुदा खेर गइरहेका छन् । प्रकृतिमा सहज ढंगले उत्पादन भइरहेका जडीबुटीलाई औषधीका रूपमा बिक्री गर्न हामीले जानेका छैनौँ । अब हाम्रा जंगल र खालि जमिनलाई जडीबुटी खेती गर्ने, प्रशोधन केन्द्र स्थापना गर्ने र हर्बल जोन बनाउनुपर्ने देखिएको छ ।
पहाडका चुलोमा दाउरा होइन, ग्यास बल्न थालेका छन् । पशुपालन कम हँुदा जंगलका झरेका पातहरू पत्करको रूपमा प्रयोग हुन छाडेको छ । जंगलको उपभोग कम भइरहेको छ । अब ती जंगललाई उपयोगी बनाउनुपर्नेछ । हरियो वन नेपालको धन भन्ने नारालाई बदली बहुउपोगी वन, नेपालको धन बनाउनुपर्ने देखिएको छ । नेपालका वनहरू फलफूल र जडीबुटीको वनका रूपमा रूपान्तरण गर्नुपर्ने देखिएको छ । त्यसपछि बाँदरलाई पनि गुलेली होइन, फलफूल प्राप्त हुनेछ ।
४) पानी
नेपाल जलस्रोतका हिसाबले विश्वको दोस्रो धनी देश हो । पहाडमा बगिरहेको पानीको बहुउपयोग गर्न सकिनेछ । पानीलाई टर्बाइनमा छिराएर बिजुली, नहरमा छिराएर सिँचाइ, बोतलमा छिराएर सलाइन र मिनरल वाटरमा रूपान्तरण गर्न सकिन्छ । प्राकृतिक छाँगा र छहरा आकर्षणका केन्द्र बनिरहेका छन् । कतिपय स्थानमा अलिक मात्रै मानवीय प्रयत्न हुँदा आकर्षक छहरा बनाउन सकिन्छ । हिमालयको पानी विश्व बजारमा बेच्न सकिन्छ । उचित सिँचाइको प्रबन्ध गर्दा धेरै ठाउँमा वार्षिक तीनपटक बाली उत्पादन गर्न सकिन्छ । पहाडका खोला समस्या होइन, समाधानको रूपमा रहनुपर्नेमा बर्सेनि समस्या बनिरहेको छ ।
५) खनिज
जमिनभित्र रहेका बहुमूल्य खनिज पदार्थ पहाडको अमूल्य निधि हो । यो यात्रामा हिँड्दा खानी डोपहरू, खानी गाउँहरू, खानी खोलाहरू भेटिए । अब त्यस्ता खनिजलाई उत्खनन गर्न उद्योगको रूपमा विकास गरी सञ्चालनमा ल्याउनुपर्नेछ । ती कार्य कसरी गर्ने भन्ने सम्बन्धमा यस यात्राले खोजी गरेको छ । खनिज उद्योगको विकासले पनि नेपालीलाई विदेश होइन विदेशीलाई नेपालमा रोजागरी सिर्जना हुनेछ ।
६) पर्यावरणीय प्रभाव
पर्यावरणमा आएको परिवर्तनको प्रत्यक्ष मारमा पहाड पर्न थालेको छ । अनावृष्टि, अतिवृष्टिले अप्रत्याशित तबरले बाढी–पहिरो ल्याइरहेको छ । खडेरीको मारमा पहाड परिरहेको छ । पानीका मुहान सुक्दै छन् । मौसमी फलफूलका उत्पादन क्षेत्रमा फेरबदल आउन थालेका छन् । पहाडको शिरमा पनि लामखुट्टे देखिनु, डेङ्गु फैलनु, पहाडबाट देखिने सुन्दर हिमालय पनि कालापत्थरमा रूपान्तरण हुनु पर्यावरणीय प्रभाव देखिएको प्रमाण हो ।
जनताले दिएको सन्देश
एकै टोलमा २० थरी जातजातिका मानिस फेला पर्छन् । सबैको छुट्टाछुट्टै संस्कार र संस्कृति छन् । फरक–फरक वेशभूषा छन् तर सबै मिलिजुली बसेका छन् । एकअर्काको सहयोगी छन् । एक अर्काकाका परिपूरक छन् । सयौँ फूलहरूलाई एउटै मालामा उनेको जसरी हाम्रो समुदाय एकताबद्ध र सहिष्णु छन् । यसरी हेर्दा हाम्रो पहिचान सहिष्णुताको पहिचान हो, एकताको पहिचान हो, सहयोगको पहिचान हो, स्वाभिमानको पहिचान हो, सत्कर्म र स्वावलम्बन नै हाम्रो पहिचान हो भन्ने पुष्टि भएको छ । पहिचानका नाममा कुनै जाति, भाषा, धर्म र समुदायका मानिस लड्ने होइन, मिलरे बस्ने हो भन्ने गहिरो विश्वास जनतामा रहेको देखियो ।
आम निर्वाचन भएको एक वर्ष मात्रै भएको छ । ७७ मध्ये ४३ जिल्लामा पहिलो मतका साथ उभिएको एमाले प्रतिपक्षमा रहन बाध्य छ । एमाले नेतृत्वको सरकारले गरेका कामहरूको अवलोकन र समीक्षा गर्ने अवसरका रूपमा पनि यो यात्रा रह्यो । एमाले नेतृत्वको सरकारले थालनी गरेका अधिकांश काम स्थगित गरिएको पाइयो । जहाँको त्यहीँ छाडिएको पाइयो । थालनी गरिएको विकास आयोजना थला पर्दा र थप विकास आयोजना ठप्प रहँदा जनतामा आक्रोश र निराशा छाएको छ । जनसरोकार र जनजीविकाको मुद्दामा सरकारले देखाएको उदासीन व्यवहारप्रति जनआक्रोश छ ।
एमाले सरकार भइदिएको भए विकासका कामले तीव्रता पाउने थियो भन्ने विश्वास जनतामा रहेको देखियो । सबै दल उस्तै त हुन् नि भन्ने भाष्यलाई यो अभियानले गतिलो जवाफ दिएको छ । सामाजिक सञ्जालमा चलाइएको प्रचार स्याल–हुइयाँ रहेछ भन्ने पुष्टि भएको छ ।
यात्रामा जनताको अभुतपूर्व साथ र समर्थन देखिन्थ्यो । पार्टी अध्यक्ष केपी ओलीप्रतिको क्रेज असाधारण रूपमा देखिएको छ । बालबालिकादेखि युवासम्म, वयस्कदेखि वृद्ध–वृद्धासम्म सबैमा केपी ओलीप्रति विश्वास र आशा देखियो । देशको विकासका लागि बलियो राष्ट्रिय शक्ति जनताले चाहेका छन् । त्यो शक्ति एमाले हो भन्ने कुरा जनताले अनुभूत गरेको पाइयो । मध्यपहाडका ३९ जिल्ला मध्ये २४ जिल्ला प्रत्यक्ष रूपमा जोडेको २३० वटा बस्तीहरूका ७० लाख जनसमुदाय लाभान्वित हुने यस लोकमार्ग सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय नारा अनुसार नै सार्थक बन्न पुग्यो ।
(केसी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली