समाजवादी चीनमा कसरी बाँचेको छ माओको पहिचान ?
२०औँ शताब्दीका केही ‘ओरिजिनल थिङ्कर’ अथवा जैविक सिद्धान्तकारमध्ये माओ त्सेतुङको पनि चर्चा हुने गरेको छ । खास गरेर मार्क्सवादलाई विकसित तुल्याउने, समृद्ध तुल्याउने अभियानका एक विलक्षण प्रतिभाशाली नेता हुन्, माओ त्सेतुङ ।
मार्क्सवाद ओपन इन्डेड छ । यसको पुच्छर बन्द छैन, टुप्पो बन्द छैन, पूर्ण खुला छ । कुनै पनि देशले आफ्नो सन्दर्भ वा विशिष्टतासँग जोड्न सक्दा मात्रै मार्क्सवादले बाटो देखाउन सक्छ । अन्यथा मार्क्सवाद एउटा मृत अक्षरमा रहन्छ । कुनै पनि विज्ञानका बारेमा सत्य यही नै हो । विज्ञानमाथि जब आस्था जनाउन थालिन्छ, विश्वास गर्न थालिन्छ, तब विज्ञानको अन्त्य हुन्छ । त्यसैले निरन्तर प्रश्न र प्रतिरोध मार्क्सवादको अन्तर्निहित गुण हो ।
मानव समाज आज जहाँ आइपुगेको छ, प्रश्नकै आधारमा हो । कुनै पनि कुरामा प्रश्न नगरेको, कुतूहलता वा जिज्ञासा नराखेको भए, सबै कुरामा विश्वास गरेर बसेको भए समाज आज यहाँसम्म आइपुग्ने थिएन ।
लेनिनले पश्चिमी युरोपमा सीमित भएको मार्क्सवादलाई संसारभरि फैलाए, मार्क्सवादमा किसानको भूमिकालाई सुनिश्चित गरे । लेनिनले विकास गरेको मार्क्सवादलाई अझ अगाडि बढाउन माओको योगदान छ । त्यसैले संसारभरि नै लेनिनवादकै एउटा विचारधाराको रूपमा माओ विचारधारा पनि एक हो भन्ने मान्यतासमेत संसारमा व्याप्त छ । स्वयं चीनले पनि माओवाद भन्दैन, मार्क्सवादकै विचारधारा भन्छ । तर विश्व कम्युनिस्ट आन्दोलनमा कतिपयले लेनिनको भन्दा पछिल्लो युगको मार्क्सवाद माओवाद हो भनेका छन् । माओको योगदानलाई वादका रूपमा लिने गरिएको छ । यसमा शास्त्रीय छलफल वा विवाद छँदै छन् ।
अत्यन्तै पछौटे, विकसित मुलुकको उपनिवेश बनेको र आफ्नो प्राचीन आत्मगौरव बिर्सिसकेको चीनलाई ब्युँझाउन र जगाउनका लागि माओले साथीहरूसँग मिलेर विदेशी शक्तिहरूविरुद्ध विद्रोह वा सङ्घर्ष गरे । आफ्नै देशभित्र पनि घरेलु प्रतिक्रियावादलाई समाप्त पार्न उनको ठुलो योगदान छ । त्यसैले माओ भन्नेबित्तिकै एउटा ठुलो पङ्क्तिलाई देख्छौँ । चिनियाँ कम्युनिस्ट पार्टीभित्र धेरै विमति आउँछन्, असहमति हुन्छन् । कहिले कसको कार्यदिशा हाबी भएको देख्छौँ तर कार्यदिशा असफल भएका वा अल्पमतमा परेका कमरेडहरू पनि केन्द्रीय कमिटीमै हुन्छन् । तिनीहरू फुटेर अर्को पार्टी बनाउने, नयाँ झुन्ड तयार पार्ने गर्दैनन् ।
कतिपयले भन्छन्– हानहरूको बहुसङ्ख्यक भएकाले एउटै खानपान, एउटै भाषा थियो । त्यसैले चीनमा एउटा पार्टी सम्भव भयो । चीनले पनि आफू राष्ट्रिय राज्य नभएर एउटा सिङ्गो सभ्यता भएको बताउँदै आएको छ । यो लामो अध्ययन र छलफलको विषय हो ।
चीनले आफ्नै परिश्रम, आफ्नै प्रकृतिद्वारा विजय हासिल गरेको छ, जुन समाजवादमार्फत मात्रै सम्भव भएको छ । त्यसैले चिनियाँ जनताहरू समाजवादप्रति अनुग्रहित छन् ।
चीनमा अल्पमतमा बस्नेहरूले पनि पार्टी एकतालाई असाध्यै महत्त्व दिन्छन् । आफ्नो मत, विचारभन्दा पनि एकतालाई महत्त्व दिन्छन् । बहुमतमा हुनेहरूले पनि अल्पमतको अस्तित्वलाई स्वीकार गर्छन् । यद्यपि त्यसमा कतिपय प्रिय–अप्रिय कुराहरू बाहिर आएका छन् । माओ त्सेतुङसँग थुप्रै नेतासँग असहमति थियो । त्यति हुँदाहुँदै पनि उनीहरू एउटै पार्टीमा थिए । त्यहाँ अर्को कुनै पार्टी बनेन । नेपालका कम्युनिस्ट पार्टीहरू असहमति हुनासाथ फुटिहाल्छन्, टुक्रा–टुक्रामा विभाजित हुन्छन् । त्यसैले नेपाली कम्युनिस्टहरूले चीनबाट धेरै कुरा सिक्न जरुरी छ ।
माओले फिलोसफी, सोसिअलिजम् वा भनौँ वर्ग सङ्घर्षलाई एउटा उचाइमा पुर्याए, इकोनमीको क्षेत्रमा उनको युगीन महत्त्वको रहेको छ । तर उनले जस्तो योगदान गरे, त्यसलाई ‘मार्क्सिजम् कन्ट्रिब्युसन’का रूपमा मार्क्सवादीले लिने गर्छन् ।
अहिले चिनियाँहरूले एकको विरुद्ध अर्कोलाई उभ्याउनुभन्दा पनि सोपान बनाएर वा क्रम बनाएर नेताहरूलाई राखेको पाउँछौँ । १०–१२ वर्षअघि चीन जाँदा माओ त्सेतुङका भनाइलाई कसैले पनि उद्धरणका रूपमा लिएको पाइँदैनथ्यो । सुरुसुरुमा खासगरी देङको उदयको बेला माओ देउता थिएनन्, उनले पनि गल्ती गरेका थिए भन्ने कुरा आउँथ्यो ।
पछिल्ला वर्ष त्यहाँका बौद्धिक वर्ग र पार्टीका नेताले एउटा निबन्धमा सात आठ पटक माओलाई ‘कोट’ गरेको पाउँछौँ । उनीहरूले हामीलाई भन्थे– हामीले समाजवादी झन्डा बोकिरहेका छौँ, तपाईंहरूले प्रतिक्रान्ति भन्नुहुन्थ्यो भन्ने चिनियाँहरू । हामीले पनि ठट्टा गथ्र्यौं– तपाईंहरू माओवादबाट टाढा जाँदै हुनुहुन्छ । आखिर अहिले उनीहरू माओलाई ‘कोट’ गर्छन् । माओलाई पिताका रूपमा मान्छन् ।
खासगरी चीनमा माओपछि देङ स्याओपिङ र अहिले सी चिनफिङको बढी चर्चा गरिन्छ । विश्वस्तरमा हेर्दा मार्क्सवादलाई क्रान्तिकारी परम्पराबाट विच्छेद गरी व्यवहारवादतिर जान खोज्नेहरू नै लेनिनसँग बढी असहमति राख्छन् । नेपालमा पनि एमालेका अधिकांश नेताले लेनिनसँग असहमति जनाउँछन् । सुरुमा उनीहरूले माओसँग जनाए । क्रमशः उनीहरूले लेनिनमाथि प्रश्न उठाउन थाले । उनीहरूले नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी भनिए पनि त्यसभित्र धेरै नेताले लेनिनको योगदानलाई अस्वीकार गर्छन् ।
नेपाली समाजले विचार खोजिरहेको छ । केही वर्षभित्र विचारको डरलाग्दो प्रयोग भइरहेको पाउनुहुनेछ । अहिले विचारको कुरा गर्ने मान्छे निकै थोरै छन् ।
चीनमा सांस्कृतिक क्रान्ति असफल भयो । यसमा माओ सफल हुन सक्नुभएन । हरेक कुरालाई दुई कोणबाट हेर्नुपर्छ अर्थात् हरेक कुरामा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । अहिले नै नेपालमा माओवादी केन्द्रले माओको योगदानलाई छोड्ने वा माओवादलाई छोड्ने भन्ने होइन । खालि पार्टीको नाम के राख्ने भन्ने हो । नाम जे राखे पनि हुन्छ । मार्क्सवाद, लेनिनवाद र माओवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनेछ । सिद्धान्तलाई ‘ट्याकटिक’का रूपमा बुझ्ने वा बुझाउने कुरा हानिकारक हुन्छ । नेपालमा व्यवहारवाद र आदर्शको स्खलनले गर्दा यी कुरा आएका हुन् ।
आधुनिक संसारमा माओ, चे ग्वेभारा, रोजा लक्जम्बर्ग, लेनिन, ग्राम्सी आदि जुन मार्क्सवादका उत्तराधिकारीहरू हुन्, उनीहरूको योगदानलाई पूरै अस्वीकार गर्ने मान्छे कम्युनिस्ट हुन सक्दैन, क्रान्तिकारी हुन सक्दैन । मार्क्सका उत्तराधिकारी सबैबाट शिक्षा लिने कुरा हो । तर यहाँ हामीले सिद्धान्तबाट मुक्त भएर देश बनाउँछौँ भनेर सोच्नु गम्भीर भुल हुन्छ ।
बाबुरामजीको विचारमा कन्सिस्टेन्सी (निरन्तरता) छैन । कुनै दिन उहाँले मार्क्सको वकालत गर्नुभयो भने कुनै अचम्म मान्नु पर्दैन । हरेक नयाँ पिँढीले त्यसलाई ‘इन्रिज’ गर्नुपर्छ । त्यो त एकदम गत्यात्मक छ । स्थूल छैन । मार्क्सवाद विज्ञान हो । हरेकले त्यसलाई इन्रिज र समृद्ध गर्नुपर्छ । कति विकसित तुल्याउन सक्छौँ, त्यो एउटा कुरा हो । तर लगातार कोसिस गर्नु पर्छ । संसारमा २२ प्रतिशत मानिस चिनियाँ भाषा बोल्ने कारणले पनि चीनमा माओको पहिचान आजसम्म बाँचेको छ । यो सङ्ख्या सानो होइन । देश पनि ठुलो छ । अर्को कुरा उनीहरूले समाजवादमार्फत जुन सफलता हासिल गरेका छन्, त्यो विज्ञानका क्षेत्रमा, कृषिका क्षेत्रमा, सिद्धान्तका क्षेत्रमा, विचारधाराका क्षेत्रमा, शिक्षाका क्षेत्रमा अतुलनीय छ । संसारको कुनै चिजसँग त्यसको तुलना गर्न सकिँदैन ।
धेरै देशले अरूलाई उपनिवेश बनाएर वा ती देशलाई लुटेर धनी भएका हुन् । चीनलाई त त्यो सुविधा पनि थिएन । चीनले आफ्नै परिश्रम, आफ्नै प्रकृतिद्वारा विजय हासिल गरेको छ, जुन समाजवादमार्फत मात्रै सम्भव भएको छ । त्यसैले चिनियाँ जनताहरू समाजवादप्रति अनुग्रहित छन् । ऋणी छन् । र, समाजवादको क्याम्पेन गर्ने माओप्रति स्वाभाविक रूपमा अनुग्रहित छन् । आधुनिक चीन माओको नेतृत्वमै बनेको हो । चीनमा अहिले पनि जापान र अमेरिकाको शासन चलिरहेको भए यतिको उपलब्धि गर्थ्यो र ?
क्रान्ति र प्रतिक्रान्तिको जुन खेल छ, यसमा क्रान्तिको निरन्तरताका लागि संस्था र संयन्त्र बनाउन माओ असफल भए । सांस्कृतिक क्रान्तिमा उनले केही प्रयास गरेका थिए । त्यसले केही राम्रा काम पनि गरेको छ । यद्यपि हरेक क्रान्तिमा केही ज्यादतीको चर्चा–परिचर्चा हुन्छ । यसमा चाहिँ चिनियाँको र हाम्रो कुरा मिल्दैन । चिनियाँहरू सांस्कृतिक क्रान्तिका बारेमा त्यति बहस गर्न तयार छैनन् । मेरो विचारमा अबको एक दशकपछि सांस्कृतिक क्रान्तिका बारेमा चिनियाँ र हामी नजिक नजिक हुनेछौँ ।
कम्युनिस्टहरूको नैतिकता र विचारधारामा समान देखिँदैन । विचारको खडेरी परे जस्तो छ । तर नेपाली समाजले विचार खोजिरहेको छ । केही वर्षभित्र विचारको डरलाग्दो प्रयोग भइरहेको पाउनुहुनेछ । अहिले विचारको कुरा गर्ने मान्छे निकै थोरै छन् । मानिस सचेत प्राणी हो । उसलाई खाएर, पिएर र लाएर मात्र पुग्दैन, उसलाई विचार र सिद्धान्त पनि जरुरी हुन्छ र केही समयपछि विचारको आँधी आउनेछ ।
(माओवादी केन्द्रका सचिव राम कार्कीसँग गणेश पाण्डेले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको म्याद थपबारेको बहस सकियो
-
रास्वपाको प्रदर्शनका क्रममा एक जना पक्राउ
-
एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल लगियो
-
प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी
-
रक्सी पिएपछि किन ‘ब्ल्याकआउट’ हुन्छ मानिस, मस्तिष्कमा कस्तो असर गर्छ ?
-
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद