मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

फारवेष्ट पशुपति कप : बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा

सोमबार, ०९ पुस २०८०, १९ : ०३
सोमबार, ०९ पुस २०८०

कैलाली । कैलालीको धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा बिएस–१५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश सात नम्बर बाहिनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

बिएस–१५ का लागि विदेशी खेलाडी गुइला मेडिनले पहिलो हाफको १४औँ मिनेटमा गोल गरे । पहिलो हाफको २७औँ मिनेटमा सशस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोलगर्दै खेललाई १–१ को बराबरी गरे । खेलको अतिरिक्त समयको अन्तिममा बिएस–१५ का विवेक सन्तोषीले गोलगर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलमा पुर्याए । खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका सन्तोषीले रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

यसैगरी सुदूरपश्चिम–११ भने बाई पाएर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । भारतीय क्लब सिएफसी कोलकाता अनुपस्थित भएको थियो ।  मङ्गलबार स्टार सिटी युवा क्लब, धनगढी र घोडाघोडी युवा क्लब, सुख्खडका बीच तथा पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति क्लबबीच क्वाटरफाइनलको खेल हुने छ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप