बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
पूर्वाधार

ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

‘विद्युत् प्राधिकरणले पैसा लियो तर पोल हटाएन’
सोमबार, ०९ पुस २०८०, १७ : ०१
सोमबार, ०९ पुस २०८०

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’ 

उनको व्यङ्ग्य चीनप्रति थियो । पोखरा–मुग्लिनको दुवै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुईवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन । पूर्वीखण्डमा सन्तोषजनक काम भए पनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ । 

pokhara muglin road (1)

काम सुस्त भएपछि सरकारले ठेक्का तोड्ने तयारी ग¥यो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिइयो । एक महिनाका लागि दिइएको समयमा निर्माण कम्पनीले कामको रफ्तार केही बढाएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ । स्तरोन्नतिका लागि सम्झौता अनुसारको समय ठ्याक्क ९ महिना बाँकी छ । तर कोरोना अवधिको ६ महिना थप हुँदा १५ महिनासम्मको सहुलियत ठेकेदार कम्पनीले पाउँछ । 

सम्झौता अनुसारको मितिमा काम सक्न रातदिन काम गरिरहेको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले बताए । चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यसको ठेक्का पाएको थियो । ‘३ वर्षको ठेक्कामा कोभिडको ६ महिना सहुलियत पाइन्छ । करार अनुसारको ९ महिना पनि बाँकी छ । १५ महिना भनेको ठुलो अवधि हो,’ उनले भने, ‘बिजुली र खानेपानीको लाइनका कारण केही समस्या अझै छ । नत्र कटिङ लगभग सकिएको छ । रुख हटाउने काम पनि सकियो । अब चाहिँ कामको रफ्तार बढ्छ ।’ 

pokhara muglin road (10)

यद्यपि बिजुली र खानेपानीको लाइन भने अझै हट्न नसकेको उनले सुनाए । ‘यो खण्डमा खानेपानीका ४३ वटा समिति छन् । उनीहरूसँग छुट्टाछुट्टै सहमति गरेका छौँ । विद्युत् प्राधिकरणले हामीबाट पैसा लगिसक्यो तर पोल हटाइदिएको छैन,’ उनले अघि भने, ‘सरासर काम गर्न पाएको भए यस्तो समस्या आउँथेन । पाइलैपिच्छे नयाँ नयाँ समस्या छ । सबै हल गर्दै काम गरेका छौँ ।’ पूर्व तयारी विना नै ठेक्का प्रक्रियामा गएका कारण कामको चरणमा हन्डर थपिएको छ । पश्चिम खण्डको तुलनामा पूर्वतर्फको काम बढी छ । 

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्न लागेको ३९ किलोमिटरको दोस्रो खण्डमा मात्रै ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ । निर्माणमा कम्पनीको बदनियत नरहेको सहायक कन्ट्रयाक्ट म्यानेजर जियान युचुले बताए । उनका अनुसार चिनियाँ स्टाफ ५० जना छन् भने नेपाली इन्जिनियर सहित ६० जना खटिएका छन् । फिल्डमा ४ सय २५ जना कामदारले काम गरिरहेका छन् । 

pokhara muglin road (9)

कामदारसँगै उपकरण पनि निकै वृद्धि भैसकेको उनले सुनाए । उनका अनुसार एक्साभेटर ४० वटा छ भने लोडर १० वटा छ । ग्रेडर ६ वटा छ भने पानीको ट्याङ्कर ८ वटा छ । ‘पहिलेको भन्दा ३ गुणा कामदार र उपकरण बढेको छ । सब बेस ८० हजार मिटर क्युव र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ । २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ,’ उनले भने, ‘यो भनेको काम नगर्ने नियत होइन । हेडक्वार्टरबाटै नोक्सान भए पनि काम पूरा गर्नु भनेर आदेश आएको छ ।’ निर्माण कम्पनीले भने यो ठेक्काबाट घाटा लाग्ने प्रक्षेपण गरेको छ । घाटा रकम चाहिँ निकालिएको छैन । 

pokhara muglin road (8)

फागुनबाट कालोपत्रे सुरु

जनवरीको अन्तिम वा फेब्रुअरी महिनादेखि कालोपत्रेको काम सुरु हुने कम्पनीले जनाएको छ । इन्जिनियर अनुप श्रेष्ठका अनुसार अहिलेसम्म सब बेसको काम १.७ किलोमिटर सकिएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा ४६ मिटरको पिच हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटरको पिच हुन्छ । बाँकी रहेको सडकमा २३ मिटरको पिच हुने उनले जानकारी दिए ।

pokhara muglin road (7)

‘जाडो महिनामा तापक्रमको कारणले अस्फाल्टको काम राम्रो हुँदैन । त्यसैले माघ सकिएपछि मात्रै पिच गर्ने योजना छ,’ उनले भने, ‘मेसिन र उपकरण पूरै आइसकेको छ । हामी अब सक्षम भएर बसेका छौँ ।’ सोमबारदेखि सडकमा बेसको काम थालिएको छ । 

हटाइयो नेपाली ठेकेदार

काम सुस्त गरेपछि कम्पनीले राखेको नेपाली पेटी ठेकेदार हटाएको छ । यसअघि दुईवटा पेटी ठेकेदार नियुक्त गरिएको थियो । उनीहरूकै कारण काम ढिलो भएको भन्दै पूरै जिम्मा कम्पनीले नै लिएको हो । 

pokhara muglin road (6)

अहिले खण्डखण्डको कामको जिम्मा चिनियाँहरूले नै लिएका छन् । ‘सबै चीनबाट आएकै ग्रुपले कामको जिम्मा लिएका छन् । यसअघि २ वटा नेपाली ठेकेदार थिए । उनीहरूले काम सन्तोषजनक नगरेपछि गत बर्खादेखि सम्झौता तोडेको हो,’ श्रेष्ठले भने । 

pokhara muglin road (5)

के हो मुख्य समस्या ? 

यो सडक स्तरोन्नतिको मुख्य समस्या बिजुलीको पोल र खानेपानीको पाइप नै हो । पोल स्थानान्तरणको काम बल्ल विद्युत् प्राधिकरणले अघि बढाएको छ । खानेपानीका लाइन पनि स्थानान्तरण भइरहेको छ । केही समय अलमलिएको रुख कटान पनि लगभग सकिएको छ । 

पटक–पटक हुने डिजाइन फेरबदल पनि प्रमुख समस्याका रूपमा रहेको म्यानेजर इफाले सुनाए । ‘कतै सानो समस्या आउने बित्तिकै डिजाइन फेरिन्छ । पुलहरूको डिजाइन अझै फाइनल भैसकेको छैन,’ उनले भने, ‘सकेसम्म नागरिकको गुनासो नआउने गरी काम गर्नुपर्छ । यस्तो हुँदा नतिजा निकाल्न समय लाग्ने रहेछ ।’ 

pokhara muglin road (2)

केही व्यक्तिगत घरहरू पनि समस्याका रूपमा छन् । ‘पुराना घर ७५ फिटको मापदण्डमा बनेको थियो । अहिले ८२ फिटको मापदण्डमा बनेको छ । सडक नै १५० फिटको बन्दै छ । सेन्टरलाइन अलिकति तलमाथि हुने बित्तिकै स्थानीयको अवरोध हुन्छ,’ उनले अघि थपे, ‘मुआब्जाको काम अझै पूर्ण भएको छैन । पोखरातिर चाहिँ सडक भन्दा घर तल पर्ने भएकोले सडकको उचाइ घटाउन लागेका छौँ । पुराना नाला पनि समस्या बनेका छन् ।’

अवरोध हटाउने पालिकाको प्रतिबद्धता

सरकारले कामको प्रगतिका आधारमा रकम निकासा दिइरहेको छ । काम ढिलो भएको गुनासो व्यापक बढेपछि ठेकेदार कम्पनीका डेपुटी जेनेरल म्यानेजर माओ ल्योसन पनि नेपाल आएर बसेका छन् । पोखराका मेयर धनराज आचार्यले यही ठेकेदारले तोकिएको समयभित्रै काम सक्नुपर्ने बताए । 

pokhara muglin road (3)

‘संघ सरकार ठेक्का टर्मिनेट गर्ने अवस्थामा पुगिसकेको छ । अहिलेको ठेक्का रद्द हुने बित्तिकै अर्को दुई वर्ष अलपत्र हुन्छ,’ उनले भने, ‘त्यसैले यही ठेकेदारलाई ताकेता गरेर कामको गति बढाउन भनेका छौँ । यो सडक बनेन भने सबैभन्दा ठुलो असर पोखरालाई पर्छ । त्यसैले हाम्रो चासो बढेको हो ।’ आचार्यले सेती नदीको छेउबाट विजयपुरसम्मको सडक निर्माण छिटो गरिदिन आग्रह गरे । सबै खालको समन्वय गर्न आफूहरू तयार रहेको उनले बताए । 

‘सबै अप्ठ्यारा महानगरले हटाइदिन्छ । पोखरामा काम नहुँदासम्म प्रगति देखिँदैन,’ उनी भन्छन्, ‘जामुने र पोखराबाट सँगसँगै काम गर्नुपर्‍यो ।’ शुक्लागण्डकीका मेयर कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने सबै समस्या समाधानका लागि आफूहरू तयार रहेको बताए । 

pokhara muglin road (11)

‘चिनियाँ कम्पनीलाई कतै अवरोध भए सहयोग गर्न तयार छौँ । तर दुई सिफ्टमा भए पनि कामको रफ्तार बढाउनुस् भनेका छौँ,’ उनले भने, ‘उहाँहरूको रफ्तार केही बढेको पनि छ । तर पुगेको छैन ।’ 

पूर्वी खण्डको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । उक्त ठेक्का ६ अर्ब २१ करोडमा लागेको हो । पोखरादेखि मुग्लिनसम्मको सडकलाई ठाउँ हेरी ४ लेन र ६ लेनमा स्तरोन्नति गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप