सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

युरोपियन क्लबहरुमा ‘लिटिल लियोनल मेस्सी’को चर्चा

सोमबार, ०९ पुस २०८०, १४ : ११
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । पछिल्लो समय युरोपका थुप्रै चर्चित क्लबले आँखा लगाएका किशोर फुटबलर हुन्, एस्टेभाओ विलियन । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना पनि उमेरले भर्खरै १६ वर्ष पुगेका यी ब्राजिलियन खेलाडीलाई भित्राउने होडमा देखिएको छ ।  

सानै उमेरमा आफ्नो खेल शैलीले अस‌ख्य फुटबलप्रेमीको मन जितिसकेका विलियन हाल ब्राजिलियन क्लब पाल्मिरसबाट ब्यवसायिक फुटबल खेल्छन् । पाल्मिरसमा गरेको उदभूत प्रदर्शनका कारण नै उनले छुट्टै उपनाम पनि पाएका छन्, ‘मेसिन्हो’ वा ‘लिटन लियोनल मेस्सी ।’

यी ब्राजिलियन युवा विंगरको खेल शैली पनि धेरै हदसम्म अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीकै खेलको झल्को दिने खालको छ । सबैभन्दा पहिले बार्सिलोनाले नै विलियनलाई क्लबमा भित्राउने योजना बनाएको थियो ।

बार्सिलोनाका अधिकारीहरुले विलियनका पितासँग विभिन्न चरणमा छलफल पनि गरेका थिए । तर, आर्थिक बन्देजका कारण बार्सिलोनाले उनलाई भित्राउन सकिरहेको छैन । यसदेखि वाहेक इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि विलियनमाथि आँखा गाडेका छन् ।

यसैगरी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पनि विलियनको खेलबाट निकै प्रभावित देखिएको छ । उनले ब्राजिलियन क्लब पाल्मिरसको सिनियर टोलीबाट पनि ‘डेब्यू’ गरिसकेका छन् । विलियनको परिवार पनि उनलाई युरोपियन क्लबबाट खेलाउन चाहन्छन् ।

सन् २०२५ मा १८ वर्ष उमेर पुरा भएपछि विलियन आफै पनि कुनै प्रभावशाली युरोपियन क्लबबाट ब्यवसायिक फुटबल खेल्न चाहन्छन् । त्यसअघि उनले ब्राजिल छाडने सम्भावना छैन । आफ्नो छोराको सपना पुरा गर्न गत अक्टोबरमा विलियनका पिताले विभिन्न युरोपेली राष्ट्रको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनले म्यानचेस्टर सिटी, चेल्सी, पीएसजी र बार्सिलोनाका अधिकारीहरुसँग पनि भेट गरेका थिए । तर, पछिल्लो समय युरोपियन क्लबहरु पनि आर्थिक संकटसँग जुधिरहेका छन् । क्लबहरु यतिबेला ठूलो रकम खर्च गर्नसक्ने अवस्था देखिँदैनन् ।   

विलियनले सन् २०२४ को सिजन पनि पाल्मिरसमै बिताउने छन् । उनले आगामी सिजनको घरेलु लिगमा पाल्मिरसका लागि अझ उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली युरोपियन क्लबहरुको ध्यान आफूतर्फ आकर्षित गर्ने योजना बनाएका छन् । विलियनले ब्राजिलको यू–१७ राष्ट्रिय टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप