सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा ‘डंकी’ र ‘सालार’ मध्ये व्यवसायमा को अगाडि ?

सोमबार, ०९ पुस २०८०, १३ : ११
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । भारतीय बक्स अफिसमा यतिबेला दुई फिल्मको चर्चा छ । फिल्म हुन् ‘डंकी’ र ‘सालार’ । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनीत यी फिल्मको चर्चा हुनु स्वाभाविक हो । दर्शकको प्रतीक्षित सूचीमा रहेका यी दुई फिल्म मध्ये व्यवसायमा ‘डंकी’ भन्दा ‘सालार’ अगाडी रहेको छ ।

भारतमा मात्र होइन, नेपाली चलचित्र भवनमा पनि यी दुई फिल्मले जोडतोडले दर्शक तानिरहेको छ । बिहीबार रिलिज भएको ‘डंकी’ र शुक्रबार रिलिज ‘सालार’को  आक्रामक टिकट बुकिङ समेत भएको थियो ।

अग्रिम टिकट बुकिङको मामलामा नेपालमा ‘सालार’को बुकिङ ८०–९५ प्रतिशत हुँदा ‘डंकी’को ५० देखि ७० प्रतिशत देखिएको छ । अहिले व्यवसाय पनि ‘डंकी’को भन्दा ‘सालार’कै बढी रहेको छ ।

नेपाली बजारमा ‘डंकी’ र ‘सालार’ दुवै फिल्म क्वेष्ट इन्टरटेनमेन्टले भित्र्याएका हुन् । दुवै फिल्मले नेपाली बजारमा राम्रो व्यवसाय गरिरहेको क्वेष्ट इन्टरटेनमेन्टका नकिम उद्दिनले बताए । 

‘हाम्रो अपेक्षा दुवै फिल्मको व्यवसाय राम्रो हुन्छ भन्ने थियो’, उद्दिनले भने ‘व्यवसायमा सालार भन्दा डंकी अगाडि हुन्छ भन्ने लाग्थ्यो । तर ‘डंकी’को भन्दा ’सालार’को माथि छ ।’ उद्दिनले सुरुको दिनदेखि नै सालारको व्यवसाय राम्रो रहेको सुनाए ।  ‘डंकी’को रिभ्यू सालारभन्दा राम्रो भएकोले अब व्यवसाय पनि बढ्ने अनुमान उद्दिनको छ ।

नेपाली बक्स अफिसमा दुवै फिल्मले कति व्यवसाय गर्‍यो ? यो सबैको चासोको विषय हो । तर अहिलेसम्म देशभरको व्यवसाय हिसाब नगरेकोले कतिको व्यवसाय गरेको भन्न नसकिने उद्दिनले बताए । ‘हामी बिहीबार दुवै फिल्मको एक साताको व्यवसाय निकाल्छौँ । त्यसपछि कसले कति व्यवसाय गर्‍यो भन्न सकिन्छ’ उद्दिनले थपे ।

राजकुमार हिरानी निर्देशित ‘डंकी’मा शाहरुखको अलावा तापसी पन्नु र बोमन इरानीको मुख्य भूमिका छ । ‘सालार’ होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय किरणगादुरले निर्माण गरेको फिल्ममा प्रभाससहित श्रुति हसन, मधु गुरुस्वामी र पृथ्वी सुकुमारको मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप