आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोट र खोया

सोमबार, ०९ पुस २०८०, १२ : ५५
सोमबार, ०९ पुस २०८०

पार्टीहरू काम लागेनन् भन्दै 'नयाँ विकल्प'का रूपमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी 'दौडेकै' छ । त्यो कुन काममा दौडिएको छ, मानिसलाई थाहै छैन । पछिल्लो केन्द्रीय समितिको बैठकबाट संविधान स्वीकार गर्छौ भनेको त्यस पार्टीका अध्यक्ष रवि लामिछाने र उनका पक्षधरले त्यसपछि संविधानलाई चुनौती दिइसकेका छन् । आजभोलि तिनले प्रदेश संरचनाविरुद्ध जेहाद छेडेका छन् ।

प्रदेश संरचनामा राजनीतिक सन्तुलनका कयौँ विकृति होलान्, भद्दा होलान् र भद्दापनले जनसरोकार बोक्न नसकेको पनि होला । तर, त्यसलाई कामकाजी जनसरकारका अर्थमा उपयोगी बनाउने चिन्ता तिनमा देखिएको छैन । प्रदेश सरकारप्रतिको अनाकर्षण संविधानको मूल मर्मप्रतिको अनाकर्षण हो । अन्ततः त्यस दृष्टिकोणले पुर्‍याउने एकात्मक संरचनामा हो, धर्मनिरपेक्षताको लोकतान्त्रिक मूल्यका विरुद्ध हिन्दु राज्यमा नै हो र राजतन्त्रमै हो ।

अध्यक्ष रवि त स्वयं नै, ती छिटै समकालीन राजनीतिमा परीक्षण भइसकेका छन् । ती सांसद र उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइकन फेरि सांसद भएर आएका छन् । दोहोरो नागरिकता, दोहोरो पासपोर्ट अपचलन गरेको यथार्थले अदालती दण्डबाट उनको सांसद एवम् उपप्रधानमन्त्री-गृहमन्त्री पद खोसिएको थियो भने दोस्रो सांसद हुने अधिकार-प्राधिकार उनको नैतिकताको कसीभित्रै छ ।

रविले सांसद हुन/हुँदा आफ्ना वैयक्तिक विवरण किन लुकाएको/नदेखाएको, गृहमन्त्री हुँदा एक अर्बको लोभमा फ्रान्सेली कम्पनीलाई नेपालीको परिचय किन सुम्पिएको(जसलाई लगत्तैका गृहमन्त्री नारायणकाजी श्रेष्ठले खारेज गरे) र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा आउने बित्तिकै खारेज गरेको दैनिक ५० हजारको मन्त्री खर्च उनले मन्त्री हुँदाको एक महिनासम्म किन उपयोग गरेको ? यी प्रश्नको उत्तर नपाउँदै उनकै पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको दुई करोडको टेप प्रकरण, पोखराको एक सहकारीबाट पुलेसो कर्जा खडा गरी एक करोड अपचलन गरेको प्रकरण, उनका श्रीमती र नेता-कार्यकर्ता जोडिएको सहकारी अपचलन प्रकरण, ग्यालेक्सी टिभी प्रकरण र अहिलेको खोया प्रहार प्रकरण सामुन्ने आएको छ ।

एउटा पार्टी स्थापित हुनु वा विस्थापित हुनु नेपाली समाजमा नौलो प्रयोग होइन । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रजा परिषद् जमानाकै पार्टी भए पनि प्रजा परिषद् कसरी राजावादका विलुप्त भएर समाप्तिमा पुग्यो र कांग्रेस अनि कम्युनिष्टहरू आजसम्म किन लोकतन्त्रको खम्बा छन् भन्ने विषय सामान्यतया जगजाहेर नै छ। कांग्रेसमा लाभको उच्चतम पद पाइकन 'अवसरै पाइएन' भन्दै रास्वपामा पुगेर सांसद जितेका स्वर्णिम वाग्ले हुन् वा अध्यक्ष रवि वा अरू, लहैलहैवाला ती सबैको एकसरो वा सापेक्ष परीक्षण भइसकेको छ ।

यति छिट्टै रास्वपाप्रति पनि मानिसको विश्वास धर्मराएको देखिएको छ । अध्यक्ष रवि लामिछानेमाथि हालै पोखरामा भएको खोया प्रहारले यही संकेत गरेको छ । पुराना पार्टीका नेताहरूमाथि यस्ता प्रहार बेलाबेला नभएका होइनन् । हालैमात्र पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीमाथि पूर्वको एक कार्यक्रममा एक जनाले सार्वजनिक ठाउँमा हातपात गर्न खोजेका थिए । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालमाथि पनि प्रहार प्रयास भएकै हो । तर, यी लोकतान्त्रिक नेताहरू यस्ता प्रहारबाट विचलित भएनन् । यिनले प्रहार प्रयासकर्तालाई वास्तै गरेनन् ।

कसैमाथि पनि यस प्रकारको प्रहार राम्रो भने होइन । यसले कतिपयको क्षणिक आवेग मत्थर त गर्ला । यस्ता आवेगले तिनका आग्रह वा समस्याको समाधान गर्दैन । 'पुराना' नेतामाथिको प्रहारलाई स्वाभाविक जनआक्रोश भन्ने भाष्य एकथरीले निर्माण गर्दैगर्दा रवि लामिछानेमाथि, उनको 'नयाँ शक्ति'माथि प्रहार भएको छ । लामो समय सरकारमा बसेर पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकाले अन्य नेतामाथिको प्रहारलाई स्वाभाविक जनआक्रोश भन्दा कतिपयले पत्याएकै हुन् । तर, रास्वपामाथि समेत  यति छिट्टै किन जनआक्रोश पैदा भएको हो ? यसलाई माथि उल्लेखित सन्दर्भबाटै बुझ्नुपर्छ।

यसको अर्थ नयाँमा जति छिट्टो आकर्षण भयो, त्यति नै छिटो विकर्षण पनि भयो । टिन जति चाँडै तात्छ, त्यति नै छिट्टै सेलाउँछन भने जस्तै भयो । जनताको दैनन्दिनका समस्यासँग नयाँको कुनै सरोकार देखिएन । सरकारका कतिपय नराम्रा काममा यसको कुनै खबरदारी भएन । राम्रा कामलाई बलियो समर्थन पनि भएन । 'अर्को चुनावको तयारीमा छौँ, हामीलाई साथ दिनुहोस्' भन्ने  बाहेक देशलाई अगाडि लैजाने स्पष्ट दृष्टिकोण र योजना नै देखिएन । एक प्रकारले मतपत्रमा ‘नो भोट’ नभएकोमा जन्मिएको नयाँ दल जस्तै मात्र बन्यो । न कुनै स्पष्ट विचार तथा कार्ययोजना, न कुनै त्याग तथा वलिदानीपूर्ण संघर्ष ! त्यसैले यति छिट्टै विकृतिमूलक झैँ भइसकेका रविप्रति खोया आक्रमण भयो।

तर, रास्वपाप्रतिको यो अविश्वास दलहरूसँगको विश्वास चाहिँ होइन । यतिबेलाको विश्वासको संकट कम्युनिष्ट-समाजवादी-लोकतान्त्रिक शक्तिहरूमाथिकै हो । माओवादी केन्द्र, कांग्रेस, एमाले र अन्य कम्युनिष्ट पार्टीमाथिकै हो । पछिल्लो राजनीतिक परिवेशअनुसारको समाजको सचेत अग्रदस्ता मानिएका पार्टीहरूले विचारको विकास नै गर्न सकेनन् । तिनले समाजका अन्तर्विरोध केलाउने, अग्रगमनका लागि एकल वा साझा पहल लिने काम नै गर्न सकेनन् ।

जनताबाट अलग्गिएको कुनै पनि पार्टी वा सरकार अस्तित्व धानेर अगाडि बढ्नै सक्तैन । अग्रगामी जनतालाई साथ लिन नसकेकै कारण समाजका सबै क्षेत्र गतिहीन छन् । माओवादी केन्द्रले चलाएको 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' र एमालेले चलाएको मध्यपहाडी राजमार्गको झुलाघाट-चिवाभन्ज्याङ 'सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय' अभियानले जनतामा आ-आफ्नो बिचार त पुर्‍याएको छ तर विश्वास पैदा गर्न सकेको छैन । आकर्षण पैदा गर्न सकेको छैन । एमाले अभियानका शाननशाैकात र कतिपय शून्यता, उसकै समीक्षाको विषय हो, माओवादी केन्द्रको अभियानले पार्टीको माथिदेखि तलसम्म टुटेको कडीलाई एक हदसम्म जोड्न सकेको छ।

के कुरा भुल्नु हुँदैन भने जनतालाई सार्वभौम बनाउने अभिभारा अझै टुंगिएको छैन । अग्रगामी यात्रामा घुमाउरा मोड आए पनि इतिहासको गति बदलिन सक्दैन । इतिहासको रंगमञ्चमा उभिएर फेरि नयाँ ढंगले संघर्ष गर्नै पर्छ । पछिल्लो समय विकास भएको विज्ञान र प्रविधिलाई आत्मसात गरेर नयाँ विचार, राजनीति र संस्कृतिलाई विकास गरेर अगाडि बढ्नुपर्छ । माओले मुटुले नसामार्फत नयाँ रक्त सञ्चार गर्ने, फोक्सोले नयाँ अक्सिजन लिने र कार्बन डाइअक्साइड फाल्ने क्रम जारी राख्ने कुरा गर्नुभएको छ । पार्टीले पनि नयाँ मान्छेलाई ल्याउनुपर्ने र बासी मान्छेलाई फाल्नुपर्ने कुरा गर्नुभएको छ ।

तर, नेपालका कम्युनिष्ट पार्टीहरूमा नयाँ सदस्य थपिने कार्य लगभग रोकिए जस्तो अवस्था छ अहिले । पुराना नेता तथा कार्यकर्ताहरूलाई नयाँले स्वस्थ रूपमा विस्थापित गर्नुपर्नेमा नयाँ खासै जन्मिएका छैनन् । नेतृत्वले, अगुवाले कम्युनिष्ट पार्टीप्रति आकर्षण पैदा गर्नै सकेका छैनन् । यसमा कम्युनिष्ट पार्टी र उत्पीडित वर्ग एवम् समुदायबिचको बढ्दो दूरी नै प्रमुख समस्या हो । नेतृत्व र कार्यकर्ताहरुबिचको ठुलो अन्तर पनि समस्या हो । कम्युनिष्ट प्रतिनिधि निर्वाचित सरकारले आधारभूत जनतालाई प्राथमिकतामा राखेर काम नगर्नु अर्को ठुलो समस्या हो ।

कम्युनिष्टहरु लामो समय सरकारमा बसेका छन् । माओवादी केन्द्र सरकारमा रहेको पनि डेढ दशक जति भइसकेको छ । नेपाली कांग्रेस, एमालेकै हाराहारीमा माओवादीप्रति जनताको विश्वास गुमेको अवस्था छ यतिवेला । अब कांग्रेस, एमालेलाई मात्र दोष थोपरेर माओवादी अलग हुने अवस्था छैन । समाज रूपान्तरणमा कांग्रेस र एमालेले नसकेर माओवादी केन्द्रलाई डेढ दशकअघि जनताले अपार विश्वास दिएका हुन् । माओवादीप्रति पनि विश्वास धरमराएकाले पछिल्लो समय नयाँ नयाँ राजनीतिक दल र व्यक्तिहरुहरुप्रति जनताको नजर बढेको हो । रविप्रतिको खोया प्रहारसम्म आइपुग्दा त्यो पनि यति छिटै कमजोर हैसियतमै देखिएको छ । यसको अर्थ मानिसहरू कोहीप्रति सन्तुष्ट छैनन् ।

कम्युनिष्टहरुले प्रगतिशील रूपान्तरण छाडेर प्रतिगामीसँग आवश्यकभन्दा बढी सम्झौता गर्नु नै असन्तुष्टिको ठुलो कारण हो । अस्थिर चरित्रका पार्टीहरू उम्रिनुको खोट यो पनि हो । ती आफ्नो मनोबल बढाएर जनताको वलिदानबाट प्राप्त उपलब्धि उल्टाउने दुस्साहस गरिरहेका छन् । कम्युनिष्ट पार्टीहरूले गल्तीलाई सच्याएर अगाडि बढे मात्रै नयाँ संकटको समाधान गर्न सक्छन् । यिनले राजनीति सेवा हो भन्ने भावलाई फेरि स्थापित गर्नै पर्छ । पार्टीमा न्याय हुने विश्वास स्वाभिमानी, इमानदार र त्यागी कार्यकर्ताहरूमा पैदा गराउनुपर्छ । सबै कमिटीलाई परिचालित होइन स्वचालित, संस्थागत गर्नुपर्छ । पार्टीलाई सुदृढ गर्ने, वाम मोर्चा बनाएर वा एकता गरेर अगाडि बढ्ने अनि बलियो क्रान्तिकारी संकल्प गर्ने हो भने अझै उज्ज्वल सफलतातिर उन्मुख हुन सक्ने आधार बलियो छ ।

कम्युनिष्ट पार्टीहरू बलियो बन्दा सापेक्ष  परिवर्तन पक्षधर नेपाली कांग्रेस पनि जनता र राष्ट्रतिर फर्केर कम्युनिष्ट पार्टीसँगै लोकतान्त्रिक-गणतान्त्रिक मूल्यमा सहचारी हुन बाध्य बन्नेछ । कमसेकम समाजवाद निकट संवैधानिक साझा उद्देश्यमा कम्युनिष्ट पार्टीहरू र कांग्रेस प्रयत्नशील हुँदा निहित स्वार्थ वा रुपरंगमा उदाएकालाई जनताले विश्वास नै गर्दैनन् । तिनका असली असलियत उदाङ्गिएको दिन खोया हान्नै पर्दैन । अस्तित्व नै समाप्त हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप