भारतीय क्लब वन्डरर्ससँग आठ विकेटले हार्यो एपीएफ
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा भारतको नोयडास्थित वन्डरर्स क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतीय क्लब वन्डरर्सले १६.२ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
वन्डरर्सका लागि ओपनर रितिक वत्सले ४६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २१ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । अर्का ओपनर रितिक अरोरा भने १२ रनमा आउट भएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान सिद्धार्थ गोस्वामीले टोलीका लागि अविजित ४३ रनको योगदान गरे । उनले ३४ बलमा दुई छक्का र चार चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका हर्षित सेठीले पनि टोलीका लागि अविजित ४५ रनको योगदान गरे ।
हर्षितले ३५ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काएका थिए । वन्डरर्सले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो । एपीएफ क्लबका बलर कमल खत्री र विपिन खत्रीले एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा तीन खेल खेलेको वन्डरर्सको यो पहिलो जित हो । वन्डरर्स यसअघि दुई खेलमा पराजित भएको थियो । तीन खेल खेलेको एपीएफको यो दोस्रो हार हो । यसअघि एपीएफले एक खेलमा जित हात पारेको थियो ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबका लागि ओपनर हरिशंकर शाहले २३ र आसिफ शेखले १९ रनको योगदान गरेका थिए । हरिशंकरले २५ बलमा चार चौका थत आसिफले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।
कप्तान प्रदीप ऐरीले पनि टोलीको खातामा २४ रन थपे । उनले २२ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । सुमित महर्जन ११ रनमा आउट भए । सन्दीप जोराले २० रन बनाए । उनले १५ बलमा दुई चौका हिर्काए । लोकेश बमले अविजित १९ रन र अमर रौतेलाले अविजित १७ रन बनाए ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । वन्डरर्सका बलर अलिप्त गुप्ताले दुई विकेट लिए । हर्षित सेठी, सञ्जिव चतुर्वेदी र रितिक वत्सले पनि एक–एक विकेट हात पारे । एपीएफ क्लब यसअघि आफूले खेलेको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतीय क्लब वन्डरर्सले भने यसअघि आफूले खेलेको दुबै खेलमा पराजय भोगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट