‘म जलेको चिता’मा छुवाछूत र विभेदको चित्रण

‘म जलेको चिता’ कवि टंकमणि अधिकारीले समसामयिक नेपाली समाजको अवस्था, विकृति विसङ्गतिका विषयलाई लिएर तयार पारेको कविता सङ्ग्रह हो । भोजपुर टक्सार पैयापानीमा जन्मिएका अधिकारीको हालको बसोबास भक्तपुर हो । विसं २०३८ सालदेखि जनक शिक्षा सामग्री केन्द्रको पाठ्यसामग्री उत्पादन विभागमा सम्पादक भई लामो समय काम गरेर अहिले अवकाश लिएर बसेका छन् ।
जनक शिक्षा जस्तो विद्यालय तहका शैक्षिक सामग्री उत्पादन गर्ने संस्थामा सम्पादक भएर काम गरेकाले उनमा सिर्जनाको स्तरीता मापन गर्न सक्ने क्षमता पनि गहन छ । त्यसैले यो सङ्ग्रहका अधिकांश कविता निकै स्तरीय छन् ।
कवि अधिकारीले किशोरवयबाटै कृति प्रकाशन त गरेनन् तर फाट्टफुट्ट कविता लेख्दै गर्दै आएका थिए । आफू काम गर्ने संस्थाबाट प्रकाशित हुने विभिन्न समयकका स्मारिका, संस्था बाहिरबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकामा उनका कविता निरन्तर प्रकाशित थिए । तर जागिरे जीवनबाट अवकाश लिएपछि चाहिँ उनले कृति नै तयार हुने गरी कविता सिर्जनामा लगेका देखिन्छ । सिर्जनामा लागेपछि उनमा साहित्यतर्फ भिज्दै गए । उनी साहित्यका असल दर्शक, पाठक पनि बने । “एक दिन साहित्य बाटिका कार्यक्रम हेर्दै गर्दा भैरवी भूगोल बहिनीले एक्कासि कवि टंकमणि अधिकारीको कविता यसरी सुरु हुन्छ भन्दा म दङ्ग परेँ,” अधिकारी भूमिकामा भन्छन्, “भैरवीजीलको वाचनले अझ अकार्षित भएँ र सूचना सुनेँ, यस्ता यस्ता कवितालाई प्राथमिकतामा वाचन गर्छौं ।”
एक्कासि साहित्यिक कार्यक्रममा आफूलाई सुनेपछि कविता लेख्ने हुटहुटी उनमा अझ जागेर आयो । त्यसपछिका कार्यक्रमा पनि उनका दुई चारवटा कविता प्रसारण भए । त्यसले कवि अधिकारीलाई कविता सिर्जनामा उत्साह अझ बढ्दै गयो । राजधानीमा हुने कार्यक्रमहरूमा पनि उनलाई निमन्त्रहरूणा आउन थाले । ती कार्यक्रमहरूमा पनि कविता सुन्दै सुनाउँदै जाँदा ‘म जलेको चिता’ कवितासङ्ग्रह नै तयार हुनेगरी कविता जम्मा भएछन् ।
‘म जलेको चिता’ शीर्षक कृतिको नाम मात्र होइन, यस सङ्ग्रहको गर्भकविता पनि हो । समयान्तरमा ग्रहण आफैँ खुल्नेछ, हाम्रा पहरा अविराम छ आमा, भूतभित्र मानवता हुँदैन, म, म सिँगारिँदैछु सुस्तरी, गर्भाधान परिर्खरहेछ असार लगायत ६५ वटा कविता यस सङ्ग्रहमा सङ्कलित छन् । यस कृतिका हरेक कविताले कविको मात्र होइन, प्रत्येक जनको मानवीय भावनाको गहिराइलाई पक्रिन सफल भएको छ ।
‘म जलेको चिता’ शीर्षकले पाठकको मनलाई कता कता च्वास्स घोच्छ । किनभने चिता मानिसको भौतिक जीवनको अन्तिम बिन्दु हो । यही बिन्दुबाट हरेकको देह भष्म हुन्छ । तर २१औँ शताब्दीको व्यस्ततामा मानिसले आफैँलाई बिर्सिएको छ । आफू के हुँ र यो व्यस्तताको उपलब्धि के भनेर सोच्नसम्म फुर्सद छैन उसलाई । त्यस्तै व्यस्तताकै बिच एक दिन ऊ चितामा पुग्छ । जीवनमा गरेका सम्पूर्ण उपलब्धिहरूलाई छोडेर चितामा चढ्न पुग्छ । चितामा देह मात्र होइन उसका जीवनका काम, क्रोध, लोभ, मोह सबै भष्म हुन्छन् । समग्रमा यही दर्शनलाई कवि अधिकारीले कलात्मक ढङ्गबाट म जलेको चिता कवितामा प्रस्तुत गरेका छन् ।
“म प्रत्यक्ष प्रसारणमा छु
आज म मरेको दिन
मेरा मलामीको व्यस्तता माझा
बाँसको अर्थीमा मेरो पार्थिव शरीर
पिताम्बरले ढाकेर श्रीखण्ड र धूप
अबिर फूलमाला र बुर्की छर्दै
बिसाएर ब्रह्मनालमा थपक्क
अँजुलीको शीतल जल
छर्केर सजाएको चितामाथिको
चिरनिद्रा चियाउँदै छु म
दिव्य क्यामेरा तेस्र्याएर !”
आफू ब्रह्मलीन हुँदाको बखतको कस्तो हाला भन्ने गहिरो चिन्तन यसमा व्यक्त गरेका छन् । त्यसमा मृत्युलाई उनले यसरी विजयोत्सव झैँ वर्णन गरेका छन् ।
आहा ! सुगन्धित चिता
नियालिरहेछु निर्मल आकाश
पर्खेर दागबत्तीको न्यानो अनुभूति
जीवनमा मात्र एक पटकको प्राप्ति
फेरि कहाँ आउँछ पटक पटक ..... (म जलेको चिता)
यस सङ्ग्रहको पहिलो कविता भने ‘समयान्तरमा ग्रहण आफैँ खुल्नेछ’ हो । भोक, रोग र शोकको त्रासले भौँतारिँदै मातृभूमि छोडेकाहरूका पीडाका बिम्बात्मक अभिव्यक्ति यस कवितामा कविले प्रस्तुत गरेका छन् । जनताको उपकारका लागि ल्याइएको गणतन्त्रमा पनि नेपाली आफ्नो गाउँमै रमाएर बस्न नपाएको अवस्थाको चित्रण यस कवितामा छ । आफ्नो घरपरिवारसँगको विछोडलाई ‘यता खाडी झरेको तन्देरी आफ्नै तिर्खाले व्याकुल छ, प्रियतामाको छटपटीले उसलाई पिरोलको छ’ जस्ता विम्ब यसमा प्रयोग गरेका छन् । तर यो समयको अन्तरालमा सबै समाधान हुनेमा कवि विश्वस्त छन् ।
कवि अधिकारीका हरेक कविता विशिष्ट खालका छन् । पितृसत्तात्मक समाजमा हरेक आमाका पीडालाई प्रतिनिधित्व गर्ने खालको कविता हो– ‘म’ । छुवाछूत र विभेदले आक्रान्त पारिएकी एक महिलालाई चित्रण गर्दै यस कवितामा समाजले यौनलाई हेर्ने दृष्टिकोणलाई समेत सूक्ष्म ढङ्गले चित्रित गरेका छन् । ‘उता बैँसको वेग थाम्न नसकेका विचरा बा ! नियतिको र वर्तमान समाजको डरले, खै ! ककता सुइँकुच्चा ठोके’ । यौनका मामिलामा महिलालाई नै बढी पीडा हुने र त्यसको सबै दोषमा उसैले लिनुपर्ने बाध्यता हाम्रो समाजमा यद्यपि रहेको छ ।
समाजमा छुवाछूत र विभेद अझै पनि व्यापक रूपमा छ । यो अन्धविश्वासको जालोबाट मुक्त हुन सकेको छैन । जातका नाममा धर्मका नाममा, संस्कार, संस्कृतिका नाममा, धनी र गरिबका बिचमा रहेको विभेद कवि अधिकारीलाई आँखामा पसेको कसिङ्गर झैँ बनेको कुरा उनले ‘अन्त्य कहिले विभेदमा ?’ शीर्ष कवितामा यसरी व्यक्त गरेका छन् ।
उच चल्ने, नीच नचल्ने भन त !
नीच कल्ले बनायो अधम हो ?
मान्छेलाई मान्छे नचल्ने
पैसा चल्ने भान्सा नचल्ने
रूप चल्ने, सन्तुष्टि चल्ने तर
नाता नचल्ने स्नेहको, प्यारको, बहारको !
यस्ता सामाजिक विभेदलाई अन्य धेरै कवितामा उनले उजागर गरेका छन् । आधुनिक र वैज्ञानिक भनिएको अहिलेको समयमा पनि यो अवस्था देखिनु बिडम्बनाको विषय ठान्छन् कवि ।
यस्तैगरी राष्ट्रप्रेमले ओतप्रोत भएर लेखिएको ‘सगरमाथा’ यस कृतिको अन्तिम कविता हो । सर्वोच्च शिखर सगरमाथाप्रति गर्व गर्दै यसबाट निरन्तर प्रवाह हुने जलले नेपाल र नेपालीको मात्र होइन मरुभूमिमा तिर्खाएका प्राणीलाई शीतलता प्रदान गरेको कवि बताउँछन् ।
समग्रमा कवि अधिकारी नेपाली साहित्यका क्षेत्रमा स्वच्छन्द प्रकृतिका कविता लेख्ने कवि हुन् । कुनै विषयले उनको मनलाई छोयो भने त्यसलाई टिपेर तुरुन्तै कविता सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् भन्ने यसमा सङ्कलित कविता अध्ययन गर्दा जोकोहीले चालपाउन सक्छन् । यसै सन्दर्भभा प्रा. कुलप्रसाद कोइराला ‘कवि टंकमणि र उनका कविता’मा लेख्छन्– यिनका कवितालाई हेर्दा यिनी सहजस्वस्फुर्त लयमा पनि आफ्ना कल्पाना नानीलाई कुदाउन सक्ने देखिन्छन् । कवितामा विभिन्न अलङ्कार सहज रूपमा प्रकट भएका देखिन्छन् । कवितामा विभिन्न अलङ्कार सहज रूपमा प्रकट भएका छन् । कतै अर्धकुडमलित देखापरेको स्थितिलाई मूल्याङ्कन गर्दा पनि यिनको मूल काव्य प्रवृत्ति स्वच्छन्दतावादी रहेको पुष्टिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत