शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिगको उपाधिमा चुम्ने धनगढी, पोखरा र काठमाडौँ दाबी

आइतबार, ०८ पुस २०८०, १९ : ४५
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । धनगढी, पोखरा थन्डर्ससहित काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा फाइनल पुग्ने विश्वास गरेका छन् ।

आइतबार यस सिजन प्लेअफमा पुगेका चार टोलीको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्ससहित शीर्ष दुई स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका पोखरा थन्डर्स र धनगढी एफसीले फाइनलमा पुग्ने विश्वास गरेका हुन् । सोमबार नै पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढीबिच प्रतिष्पर्धा हुँदैछ ।  

धनगढीका प्रशिक्षक युगलकिशोर राईले गत संस्करणमा चुके पनि यसपटक जसरी पनि ट्रफी उचालेरै छोड्ने बताए । प्रशिक्षक राईले अब लिग चरणको प्रदर्शनले खासै अर्थ  नराख्ने उल्लेख गर्दै सोमवार राम्रो प्रदर्शन गर्ने टोलीले नै नतिजा आफ्नो बनाउने विश्वास व्यक्त गरे । यता, धनगढीका कप्तान देवेन्द्र तामाङ भने जित्नैका लागि मैदान उत्रिने उल्लेख गर्दै सोमबारको खेललाई सहज रूपमा नलिएको बताए । लिगमा पोखरा र धनगढीले १–१ को बराबरी खेलेका थिए । पहिलो क्वालियफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

पोखरा थण्डर्सका प्रशिक्षक नवीन न्यौपानले प्लेअफ खेल सहज नहुने धारणा राखे । प्ले अफमा पुग्ने सबै टोली बराबर जस्तै रहेको उनको धारणा छ । सबै टोली सेट भइसकेकाले प्लेअफ खेल्न सहज नहुने उनी बताउँछन् । पाएको अवसर सदुपयोग गर्नसक्ने टोलीले नै जित निकाल्ने प्रशिक्षक न्यौपानेले बताए । पोखराका कप्तान दिनेश राजवंशीले टोलीलाई फाइनल पु¥याउने लक्ष्य रहेको उल्लेख गर्दै लिगको शीर्ष स्थानमा रहनुले मनोबल बढ्ने धारणा राखे । उनले केही दिनको आराम केही सहज भएको उल्लेख गरे ।

धनगढीको सामना गर्न आफ्नो टोली पूर्ण तयार रहेको उनले बताए । मंगलवार इलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । लिग चरणमा काठमाडौँ तेस्रो र ललितपुर चौथो स्थानमा रहेका थिए । काठमाडौँ रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको लक्ष्य उपाधि रक्षा गर्ने रहेको बताए ।

ललितपुरलाई हराएर इलिमिनेटर खेलेकाले सोही स्प्रिड र इफोर्ट मंगलवार पनि दोहो¥याउने उनको विश्वास छ । ललितपुरविरुद्ध शतप्रतिशत दिने उनको भनाइ छ । काठमाडौँ रेजर्सका कप्तान अञ्जन राई पनि टोलीको लक्ष्य उपाधि रक्षा गर्नु रहेको धारणा राखे । लक्ष्य उपाधि रक्षा गर्ने रहेकाले सोहीअनुरूपको प्रदर्शन गर्ने उनको विश्वास छ । लिग चरणमा पहिलो वा दोस्रो स्थानमा रहने लक्ष्य भएपनि वीरगन्जसँगको हारले त्यो पूरा हुन नसकेको उनको भनाइ थियो ।

लिग चरणको अन्तिम खेलमा ललितपुरलाई १–० ले पराजित गर्दै काठमाडौँले प्ले अफमा स्थान बनाएको थियो । ललितपुरका प्रशिक्षक इयान गिलान काठमाडौँविरुद्ध उत्कृष्ट प्रदर्शनको आशामा छन् । गर या मर अवस्थामा धेरै तनाव नलिई सकारात्मक भएर खेल्ने उनको लक्ष्य छ ।

पछिल्लो केही खेलमा राम्रो प्रदर्शन भए पनि गोल भने निस्कन नसकेको उनको भनाइ थियो । केही गल्तीहरुलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास रहने उनले बताए  । ललितपुरका मार्की तथा कप्तान अनन्त तामाङले गल्तीहरुलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताए । पछिल्ला चार खेलमा गोल नभएकाले गल्तीहरुलाई सुधार गर्दै टोली स्कोर निकाल्ने लक्ष्यमा छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप