जीवन विकासको ‘निःशुल्क ट्युसन’ले विपन्न परिवारका बालबालिकालाई राहत
विराटनगर । विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्षका भए । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् ।
तीन चक्के वैशाखीको सहारामा हरेक दिन बेलुका उनी ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आँट पलाएको छ । ‘सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’ उनले भने, ‘यहाँ आएर पढ्न र लेख्न सिकेको छु ।’
महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउन थालेकी हुन् । उनीसँग ४२ जना बालबालिका ट्युसन पढ्छन् ।
विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन् ।
विराटनगरमा मात्र नभइ लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ । सेन्टरमा २ हजार ३२ हजार विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन् । जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् ।
बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए ।
‘सहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, बिहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने, ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाइ कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’
जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनियामा निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको हो ।
मण्डलले भने, ‘विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सिर्जना भएको छ ।’
ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।
निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाइप्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली