शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सालको रुख पुनरुत्पादन गर्न वनमा झाडी सफाइ

माईकेनिया झार, सिन्दुरे रुख र खुला चरिचरन वन संरक्षणमा ठुलो चुनौती
आइतबार, ०८ पुस २०८०, १४ : ३६
आइतबार, ०८ पुस २०८०

बारा । वनमा साल प्रजातिका रुखहरु पुनरुत्पादन गर्न बाराको गढीमाई साझेदारी वनमा झाडी सफाइ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको पथलैयामा रहेको गढीमाई साझेदारी वनमा साल प्रजातिको रुख पुनः उत्पादन गर्न ३४ हेक्टर वन क्षेत्रमा झाडी सफाइ गरिएको हो ।

बाराको ४७ हजार १८१ हेक्टर वन क्षेत्रमध्ये गढीमाई साझेदारी, सहजनाथ साझेदारी र निजगढको सिम्रीमा विशुद्ध साल प्रजातिको रुखसहितको जङ्गल छ । अन्य क्षेत्रमा भने मिश्रित प्रकारको रुखसहितको वन छ ।

डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउतले साल प्रजातिको वनलाई संरक्षण गर्न झाडी सफाइ गरिएको बताए । ‘समय समयमा वनमा झाडी सफाइ गरिएन भने माउ रुखहरु बुढो भएर ढलेर साल प्रजातिकोे वन नै लोप हुने अवस्थामा पुग्छ,’ राउतले भने, ‘प्रतिहेक्टर २० देखि २५ वटा सालको माउ रुख राखेर पुनः सालको वन कायम गर्ने उद्देश्यले झाडी सफाइ गरिएको हो ।’

झाडी सफाइ गर्दा नयाँ बिरुवा हुर्किन सजिलो हुने उनको भनाइ छ । धेरै वर्ष झाडी सफाइ नहुदाँ जङ्गलमा नयाँ बिरुवा हुर्कन नपाउने र वन क्षेत्र पनि स्वच्छ नदेखिने उनले प्रस्ट पारे ।

गढीमाई साझेदारी वन करिब १ हजार हेक्टरमा फैलिएको छ । सो साझेदारी वनलाई ८३ वटा प्लटमा छुट्याएर पशु चौपायाको चरिचरन रोक्न घेरबार समेत गरिएको छ ।

झाडी सफाइ गर्नुपूर्व वन क्षेत्रभित्र उमेर पुगेका उत्पादन दिन नसक्ने बुढा सालका रुखहरु काटिन्छ र उत्पादन दिनसक्ने जवान रुखमात्रै राखिन्छ ।

४० वर्ष उमेर पुगेका सालका रुखहरु पुनरुत्पादनका लागि उत्तम हुने डिभिजन वन प्रमुख विनोद सिंह बताउँछन् । उनले सालको रुखबाट बिउ झरेको २४ घन्टाभित्र माटोसँग स्पर्स भएमात्रै नयाँ बिरुवा उम्रन सक्ने बताए । ‘वनमा साल प्रजातिको रुख पुनरुत्पादनको लागि जवान रुखबाट झरेको बिउ २४ घन्टाभित्र माटोसँग स्पर्स हुनुपर्छ, अनि मात्रै बिउ उम्रनसक्ने क्षमता हुन्छ । जङ्गलमा धेरै झाडी छ भने झरेको बिउ माटोसँग मिल्न पाउँदैन र उम्रिँदैन,’ सिंहले भने, ‘साल प्रजातिको वनको लागि अहिले माईकेनिया झार, सिन्दुरे रुख र पशुचौपायाको चरिचरन सबैभन्दा ठुलो समस्या भएको छ ।’

चोरी तस्करीका कारण पनि राष्ट्रिय वन क्षेत्रभित्र साल प्रजातिका रुख धेरै पातलो भएको छ । बाराको ४ वटा साझेदारी वनमध्ये बजेट अभावमा यस वर्ष गढीमाई साझेदारीले मात्रै झाडी सफाइ गरेको छ ।

उपभोक्ताहरुलाई काठ दाउरा बिक्री गरेबापत वन समितिका निवर्तमान अध्यक्ष गणेजी साहको कार्यकालमा साझेदारी वनको खातामा करिब २ करोड बचत रकम थियो । सोही रकमबाट नयाँ आएको कार्यसमितिले झाडी सफाइको काम गरेको हो ।

g5

सो वन समितिका अध्यक्ष राम एकवाल प्रसाद तेलीले गढीमाई साझेदारी वनमा विगत ३ वर्षदेखि झाडी सफाइ हुन नसकेको बताए ।

‘हामीले यो वर्ष करिब ३४ हेक्टरलाई ३ वटा प्लटमा विभाजन गरेर दैनिक ज्यालादारीमा २४ जना मजदुरलाई खटाएर झाडी सफाइ गर्ने र साल प्रजातिको रुखको पुनरुत्पादन गर्ने काम गरेका छौँ,’ अध्यक्ष तेलीले भने  ।

वन समितिले झाडी सफाइमा यस वर्ष १२ लाख ८७ हजार रकम छुट्याएको छ । सो साझेदारी वनमा यसअघि वैज्ञानिक वन व्यवस्थापन पनि लागु भएको थियो ।

बारामा ४ वटा साझेदारी, ४१ वटा सामुदायिक, एउटा निजी वन र नेपाल सरकारद्वारा व्यवस्थित गरिएको वन क्षेत्र छ । तथ्याङ्कमा ४७ हजार १८१२ हेक्टर वन क्षेत्र देखिए पनि वनको ठुलो भूभाग वर्षौंदेखि अतिक्रमणमा परेको छ । डिभिजन वन प्रमुख विनोद सिंह साल प्रजातिको रुख मूल्यवान भएकाले यसको संरक्षणमा चासो नदेखाए केही वर्षमा लोप भएर जाने बताउँछन् ।

मधेस प्रदेशका ८ वटा जिल्लामध्ये साल प्रजातिको जङ्गल बारा र रौतहटको केही भूभागमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप