१४ किलो सुन तस्करी प्रकरण : यस्तो छ छानबिन समितिको निष्कर्ष र सुझाव (पूर्णपाठसहित)

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणका सम्बन्धमा गठित छानिबन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले १४ किलो अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश पाएको थियो । यस्तै समग्र सूचना तथा तथ्यांकहरुको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य कार्यहरू गर्ने समेतको कार्यादेश पाएर समितिले अध्ययन थालेको थियो ।
जसअनुसार सीसीटीभी फुटेज एनालाइसिसका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेन्जहरुको सम्पूर्ण डिटेलहरू समितिले अध्ययन गरेको थियो । यस्तै मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवम् अन्य आवश्यक वस्तुहरुलाई पनि आरोपीहरूको लिखित बयानमा सनाखत गरिएको थियो ।
यस्तै संकित तथा संलग्न व्यक्तिहरूको यात्रा विवरण, सीसीटीभी फुटेज तथा कर्मचारीहरूसँग सम्बन्धित जब डिस्क्रिप्सनलगायतका तथ्यहरूको पनि विश्लेषण गरिएको थियो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको उक्त छानबिन समितिले मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको निष्कर्ष समितिले निकालेको हो ।
समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ ।
यस्तै मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दन बहादुर गुरुङलाई प्रयोग गरेको देखिन आएको पनि समितिको ठहर छ । यस्तै एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।
भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौँको बानियाटार स्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्याउने गरेको देखिएको समितिले जनाएको छ । उक्त सुन मीन बहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ ।
समितिले भनेको छ, ‘पटक पटक गरी मीन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’
गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए ।
समितिको सुझाव
समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।
यस्तै भन्सार विभागले दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको छ ।
यस्तै व्यक्तिगत सवारी साधनहरू मोटरसाइकल, स्कुटर तथा कार सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लगि आफ्नो एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा राख्ने गरेको देखिएकाले त्यस्ता सवारी साधन सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लैजान रोक्नुपर्ने सुझाव समितिको छ ।
यस्तै नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नु पर्ने सुझाव समितिको छ । यस्तै आयल निगममा जाने कर्मचारीहरुको सवारी साधन पार्कीङ्ग गरे पश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनु पर्ने सुझाव पनि समितिको छ ।
यस्तै सिनामंगल ओरालोको छेउमा विमानस्थलको पेरिमिटर भित्र रहेको प्रहरी ब्यारेकको इन्ट्रान्स बाहिर चक्रपथ तर्फ खोली ब्यारेकको पछाडि तर्फको भागमा भेन्सिङ गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनु पर्ने सुझाव पनि समितिको छ ।
यस्तै अन्तर्राष्ट्रिय रन वे को १ नम्बर वे को छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवत जावत बन्द गर्नु पर्ने सुझाव पनि समितिको छ ।
निरीक्षणका लागि जाने ईन्जिनियरहरुको टिमले जहाजको नजिकै आफ्नो सवारी साधन् लैजाने गरेकोमा निजहरूले आफ्नो टुलबक्स लगायतका औजार विमानमा लैजानु अघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने पनि समितिको राय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी