बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

हरिको उत्कृष्ट सतकसँगै न्यु भिजनले डीएभीलाई ८३ रनले हरायो

आइतबार, ०८ पुस २०८०, १३ : १८
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट सङ्घद्वारा आयोजित छनोट प्रतियोगिताको आइतबार खेलिएको खेलमा न्यु भिजन क्लबले डीएभी क्रिकेट एकेडेमीलाई ८३ रनले हराएको छ । यसै वर्ष सञ्चालन हुने प्रधानमन्त्री कम पुरुष क्रिकेट प्रतियोगिताका लागि टोली चयन गर्न यो छनोट प्रतियोगिता आयोजना गरिएको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्यु भिजनले २१ ओभरमा चार विकेट गुमाएर एकसय ९० रन बनाएको थियो । न्यु भिजनका लागि हरिबहादुर चौहानले सतकीय पाली खेले । उनले एक सय २६ रन बनाए । उनले केवल ७३ बलको सामना गरी चार छक्का र १४ वटा चौका प्रहार गरे ।

सुसन कार्कीले २५ र ओपनर बबिन बोहराले १५ रन जोडे । न्यु भिजनले अतिरिक्त रूपमा पनि २१ रन पायो । डीएभीका बलर कमल शाही र भवेष अग्रवालले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको डीएभीले भने २१ ओभरमा ६ विकेट गुमाएर एक सय सात रनमात्र बनाउन सक्यो ।

डीएभीका लागि आयुष झाले सर्वाधिक ३९ रन बनाए । उनले १९ बलमा आठ चौका हिर्काए । प्रसिद्ध जैसीले ३३ रन जोडे । उनले ४८ बलमा चार चौका प्रहार गरे । दिलीप यादबले १२ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्यु भिजनका बलर बिनम बुढाथोकीले दुई विकेट लिए । शान्तमान तामाङले पनि एक विकेट हात पारेका थिए । काठमाडौँ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीले भाग लिएका छन् । 

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र पुष्पलाल स्पोर्टस क्लब छन् । समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी र जेम्स थन्डर्स क्रिकेट एकेडेमी छन् । 

यसैगरी समूह ‘सी’ मा नेक्सस क्रिकेट एकेडेमी, न्यु भिजन क्लब र डिएभी क्रिकेट एकेडेमी छन् । समूह ‘डी’ मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र फरएभर ब्वाइज क्लब छन् ।

प्रतियोगिताका खेलहरू लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेका छन् । समूहगत चरणका सबै खेल २५ ओभरको हुनेछन् । चारवटै समूहका शीर्ष टोली प्रतियोगिताको सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल र फाइनल खेल भने ५० ओभरको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप