बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा ‘क्रिसमस डे’को परम्परा र इतिहास

आइतबार, ०८ पुस २०८०, १२ : ४७
आइतबार, ०८ पुस २०८०

‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् ।

बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आआफ्नो धारणा भने राखेका छन् । एन्नो डोमिनीको काल प्रणालीको आधारमा येसु ख्रिस्टको जन्म इसापूर्व ७ देखि २ को बिचमा भएको हो भन्ने उल्लेख गरिएको छ । वासिङ्टन पोस्टको एक रेपोर्ट अनुसार येसुको जन्म २५ डिसेम्बरमा भएको हो भन्ने बाइबलमा कहीँकतै स्पष्ट रूपमा निर्देश नगरिए पनि शान्त र चिसो मौसमको कुनै दिनमा माता मरियमद्वारा बेथलेहेमा उनको जन्म भएको हो भन्ने दाबी गरिएको छ । मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘दी गोल्डेन बज’ मा २५ डिसेम्बर क्रिसमस डेको सम्बन्धमा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो ठिक उसै दिनमा क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको उल्लेख गरेका छन् ।

धार्मिक मान्यताअनुसार आजभन्दा दुई हजार २२ वर्षअगाडि ईश्वरद्वारा मरियमको सपनामा के बताइएको थियो भने उनीले एक खास बच्चाको जन्म दिनेछिन् जसको नाम येसु ख्रिस्ट प्रमेश्वरको पुत्र रहनेछ । यो भविष्यवाणी २५ मार्चमा मरियमलाई मिलेको थियो र नौ महिनापछि २५ डिसेम्बरमा येसुको जन्म भयो । यो नै एक भरपर्दाे र कमन इतिहास हुन सक्छ । भविष्यवाणीपछि येसुको जन्म बेथलेहेमको चरनमा भएको थियो । 

बाइबलको नयाँ नियममा बताइएअनुसार येसु ख्रिस्ट जन्मनुभन्दा एक दिन पहिले मरियमको स्वर्गदूत गाब्रिएलले दर्शन दिएर के भनेका थिए भने स्त्रीहरूमध्ये तपाईं धन्य हौ किनभने तपाईं ईश्वरीय पुत्रको माता बन्नका लागि चुनिनु भएको छ । यो सुनेर माता मरियम छक्क परेकी थिइन् । त्यसपछि मरियम र उनका लोग्ने योसेफ आफ्ना नाम दर्ता गराउन बेथलेहेम सहर गए । त्यहाँ बस्नका लागि उपयुक्त ठाउँ नमिलेपछि सहरदेखि एकान्त फलस्तिन चरन जग्गा नजिकै एक गुफामा रोकिए । त्यहीँ मरियमद्वारा येसुको जन्म भयो । जहाँ उनको जन्म भयो उही आज एक चर्च छ, जसलाई ‘चर्च आफ नेटिविटी’ भनिन्छ । यो आधुनिक इजरायलको राजधानी यरुसलेमदेखि दस किलोमिटर टाढा सेन्ट्रल वेस्ट बैङ्कमा अवस्थित छ । ख्रिस्ट प्रभुको जन्म एडी वानलाई पनि मान्ने गरिन्छ । यहीँबाट अङ्ग्रेजी क्यालेन्डरको सुरुवात भएको मानिन्छ । 

कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल इलाकामा मनाइने क्रिसमस पर्व आज विश्वभरी मनाउने गरिन्छ । यो हरेक साल डिसेम्बर २५ का दिन मनाउने गरिन्छ । क्रिसमस इसाई समुदायको मुख्य चाड हो । तर आजकल गैरइसाई मानिसहरूले पनि यो उत्सव धुमधामका साथ मनाउने गर्दछन् ।

क्रिसमस पर्वको खास मान्यता के छ भने संसारका मानिसहरूको पापलाई क्षमा (मुक्त) गराउन तथा रोक्नका लागि ईश्वरले आफ्नो एक मात्र पुत्र येसु ख्रिस्टलाई यस धर्तीमा पठाउनु भयो । यिनै ख्रिस्टले संसारभरीका मानिसहरूको पापलाई मुक्त गराउने उद्देश्यले प्रेम, विश्वास, शान्ति, धर्म, सत्य आदिको दिव्य उपदेश बाँड्ने क्रममा आफ्नो प्राण नै त्यागेको कुरा पवित्र धर्मशास्त्र बाइबलमा पढ्न पाइन्छ । यिनले संसारका मानिसलाई प्रेम र भाइचाराको साथ रहन सन्देश दिएका छन् । येसु एक महान् धार्मिक केन्द्रीय व्यक्ति थिए । उनले समाजलाई प्रेम र मानिसहरूलाई शिक्षा दिएका छन् । यिनलाई इसाई धर्मका संस्थापक पनि मानिन्छ । 

यिनै इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डेसेम्बर २५ का दिन संसारभरि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । यो इसाई समुदायको सबैभन्दा ठुलो र खुसीको चाड भएकाले नेपाल तथा छिमेकी देशहरूमा यसलाई ‘वडा दिन’ पनि भन्ने गरिन्छ । क्रिसमसको पूर्वसन्ध्यालाई क्रिसमस इभ भनिन्छ । यो इभ परिवारमा हर्साेल्लास र खुसीका साथ समय बिताउने एक उत्तम समय हो ।

डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने गर्दछन् । यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैन बत्ती बाल्ने गर्छन् । घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको छ । यस दिन अन्य धर्मका मानिसहरू पनि मैन बत्ती जलाएर प्रार्थना गर्ने गर्दछन् ।

नेपालमा विसं २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रूपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको हो । योभन्दा अघि नेपाली इसाइहरू क्रिसमस मनाउन भारततिर जाने गर्दथे । त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज गरिएको थियो । जब २००७ सालमा प्रजातन्त्रको घोषणा भयो तब इसाईहरू नेपाल आउने र क्रिसमस मनाउन थाले । त्यसपछि नेपालमा प्रत्यक्ष रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरू स्थापना हुँदै गए । यिनीहरूले मन्डली (चर्च) को माध्यमबाट घरबारविहीन बेसहारा, दीनदुःखी गरिब वर्गलाई लक्षित गरेर शिक्षा, स्वस्थ्य तथा खाध्यन्न सहयोग प्रदान गर्दै आउन थाले । जसले गर्दा इसाईहरूको सेवा सङ्गतिमा मन्डलीहरू वृद्धि हुँदै गयो । अहिले नेपालका प्रायः सबै क्षेत्रमा विभिन्न नाममा हजारौँ मन्डली (चर्च) हरू खडा भएका छन् । 

सन् २०११ को जनगणनाअनुसार नेपालका १.४ प्रतिशत मानिस इसाई थिए । तर त्यसपछिका विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा इसाई धर्मावलम्बीको सङ्ख्या बढिरहेको देखाएका छन् । हाल ३० लाखभन्दा बढी नेपाली अहिले इसाई धर्ममा आबद्ध छन् । 

अन्य मुलुकमा जस्तै नेपालमा पनि २५ डिसेम्बरका दिन नेपाली इसाई अनुयायीहरू धुमधामका साथ आफ्नै नेपाली शैलीमा क्रिसमस डे मनाउने गर्दछन् । विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा क्रिसमस राष्ट्रिय पर्वका रूपमा मानिँदै आएको छ । यस पर्वमा विश्वासीहरू आफ्नै नेपाली मौलिक वेशभूषामा सजिएर आआफ्नो रुचि अनुसारका मिठा मिठा परिकार बनाएर खाने र खुवाउने गर्दछन् । क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा गरिनुका साथै शुभकामना र प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ ।

देशको मुख्य सहरहरूमा क्रिसमस महोत्सवको आयोजना गर्ने, आफ्नो घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने र प्रार्थना गर्ने, केक काट्ने, साथी भाइसँग भेटघाट गरेर उपहार र शुभकामना साटासाट गर्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लाजबाट उपहार लिने, सार्वजनिक स्थलमा क्रिसमस सम्बन्धित सुसमाचारीय कार्यक्रम गर्ने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन् । 

बिलिवर्स चर्च, सदस्य 

विर्तामोड, झापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक बुढाथोकी
दीपक बुढाथोकी
लेखकबाट थप