बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
आयुर्वेद

जङ्गबहादुरका पालाको त्यो जीवनारायण तेल, जसलाई लिन मन्त्री र सचिवको चिट लिएर आउँथे

२०२७ सालमा आयुर्वेदमा आचार्य गरेकी माया गौतमसँग आयुर्वेदीय औषधीका कुरा
आइतबार, ०८ पुस २०८०, ०९ : १३
आइतबार, ०८ पुस २०८०

२०३५ सालतिर । असहायजस्तै देखिने एउटी महिलाले उपचारको अपेक्षासहित नरदेवी चिकित्सालयको प्राङ्गणमा पाइला राखिन् । त्यहाँ भर्ना भएर उपचार गर्न कोही अभिभावक साक्षी बस्नुपथ्र्यो । सुन्निएको शरीर, मैली–निन्याउरी, कपाल झ्याम्ल्याङ्ङ भएकी, हातमा सलाइनको बोतल र कपडाको पोको बोकेकी ती महिला एक्लै आएकी थिइन् । कविराज माया गौतमलाई दया पलायो र सोधपुछ गरिन् ।  

ती महिलाले भनिन्– ‘घर सिन्धुपाल्चोकतिर हो । बिरामी परेपछि लोग्नेले सौता ल्याएर घरबाट निकालिदिए । उपचार होला, कुनै काम पाइएला भन्ने आशाले काठमाडौँ आएकी थिएँ, न काम पाएँ न उपचार पाएँ । बेवारिसे भएँ ।’ 

मायाले कृत्य अभिभावक खडा गरेर ती महिलालाई भर्ना गरिन् । एनिमिया लगायत समस्या भएकी ती महिलाको एक महिनाजति उपचार गरियो । उनको स्वास्थ्यावस्थामा धेरै नै सुधार आएको थियो, पूर्ण निको भने भएको थिएन । चिकित्सालयका हाकिमले तिनलाई निकालिदिए । 

केही दिन राखेर पूर्ण निको बनाएर पठाउने मायाको चाहना थियो । चिकित्सालयले दिने निःशुल्कबाहेकको आवश्यक औषधी खर्च मायाले नै बेहोरेकी थिइन् । ती महिलालाई केही समय राख्न मायाले हाकिमसँग झगडा समेत गरिन्, तर सफल भइनन् । 

ती महिलालाई त्यत्तिकै बेवारिसे छाडिदिन मायाको मनले मानेन । मायाले उनलाई अभिनेत्री शुभद्रा अधिकारीकहाँ पठाइन्, शुभद्रासँग मायाको चिनजान थियो । शुभद्राको घरमा काममा सघाएर बस्दै गर्दा तिनलाई पुनः रोगले चाप्यो, मायाले नरदेवीमै ल्याएर उपचार गरिन् । यसपालि पूर्ण निको भएर ती महिला कतै लागिन् । 

यसको केही वर्षपछि । नरदेवीमा उपचाररत एक बिरामीको मृत्यु भयो । मृतकका आफन्त र चिनजानका मानिसले चिकित्सालयको प्रांगण भरिएको थियो । माया पनि त्यहीँ थिइन् । त्यो भीडबाट एउटी महिला आएर मायाको खुट्टा छुन खोजिन् । कपाल छोटो पारेकी, राताराता गाला भएकी ती महिलालाई चिन्न नसकेर माया अलमलमै थिइन् । त्यहाँ उपस्थित अन्य मानिस पनि अचम्म मान्दै थिए । 

Dr Maya Gautam (4)

मायाको अगाडि उभिएर ती महिलाले रुँदै भनिन्, ‘दिदी ! हजुरले मेरो उपचार गर्नुभएको थियो ।’ 

‘ऊ त कसरी–कसरी तुलसीमेहेरको गान्धी आश्रम (नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी) मा काम गर्न पुगिछ,’ केही दिनअघि रातोपाटीसँगको भेटमा ७९ वर्षीया माया गौतमले भनिन्, ‘गान्धी आश्रमकै एकजना पालेको मृत्यु भएकाले ऊ पनि भेट्न आएकी रहिछ । मलाई देखेर खुट्टै ढोग्न आई । धेरै खुसी लाग्यो ।’ 

मायाले जीवनका ३५ वर्ष आयुर्वेद चिकित्सा सेवामा बिताइन्, कविराज र डाक्टर भएर । २०२९ सालमा कविराजका रूपमा सेवामा प्रवेश गरेकी माया २०५१ सालमा डाक्टर भइन् र ०६४ सालमा अवकाश लिइन् । यो अवधिमा नरदेवी, सिंहदरबार वैद्यखाना, फर्पिङ आयुर्वेद औषधालय र आफ्नै क्लिनिकबाट उनले थुप्रै बिरामीलाई उपचार गरिन् । देशका उच्च पदस्थदेखि कोही नभएका असहाय कैयौँले उनको हात र हृदयको सेवा पाए । 

मायाकै भनाइ अनुसार, नेपालमा आयुर्वेदमा आचार्य गरेर सरकारी जागिरमा प्रवेश गर्ने उनी पहिलो महिला हुन् । उनले आयुर्वेदीय चिकित्सा कसरी पढिन्, सेवा कसरी सुरु गरिन्, सेवावधि कस्तो रह्यो र पहिले हामीकहाँ के–कस्ता आयुर्वेदीय औषधी बन्थे भन्ने सम्बन्धमा कुराकानी गर्न हामीले उनको समय लिएका थियौँ । आफ्नो अध्ययनकाल र सेवाकालतिर फर्केर उनी हामीसँग निकै गफिइन् । 

हालै नरदेवीबाट सिंहदरबार वैद्यखानामा कार्यकारी निर्देशकको रूपमा कामकाजका खटाइएका डा. प्रदीप केसीका अनुसार, जीवनारायण तेल बन्न छाडेको धेरै अघिदेखि हो ।

जङ्गबहादुरका पालाको जीवनारायण तेल

‘जङ्गबहादुरले आफ्नी श्रीमती सुत्केरी हुँदाका लागि भनेर जीवनारायण तेल बनाउन लगाएका थिए रे,’ गफिँदै जाँदा मायाले भनिन्, ‘संंसारभरि पाइने जडिबुटी, सारा जीवजन्तु, कसैले मान्छे पनि भन्छन् त्योचाहिँ मलाई थाहा छैन, सबैलाई मिलाएर बडेमानको तामाको भाँडोमा तीन वर्षसम्म अखण्ड आगो बालेर जीवनारायण तेल पकाइएको थियो रे । अहिले पनि त्यो तेल बनाइएको भाँडोलाई सिंहदरबार वैद्यखानामा भैरव भनेर राखिएको छ ।’

मायाका अनुसार, त्यो तेल सरकारका ठुल्ठुला मान्छेले लैजान्थे । कसैको कुनै रोग केही गर्दा पनि निको भएको छैन, उसको शरीरमा जीवनारायण तेल घसिदिने हो भने निको हुन्छ भन्ने विश्वास थियो । त्यसरी निको हुनेहरू पनि थिए । 

यो तेलको बारेमा सबै सर्वसाधारणलाई थाहा थिएन । वैद्यखानामा यो तेल छ भन्ने थाहा पाउने सर्वसाधारणहरू मन्त्री र सचिवकहाँ अनुनय–विनय गर्न पुग्थे । मन्त्रीले दिएको चिटका आधारमा उनीहरूलाई वैद्यखानाका कर्मचारीले तेल दिन्थे । कर्मचारीले त्यो तेल झिक्दा अर्को अधिकृत स्तरको कर्मचारीलाई साक्षी राख्नुपथ्र्यो । तेल झिकिसकेपछि ढोकादेखि नै लाहाछाप हानेर राखिन्थ्यो । 

Dr Maya Gautam (5)

एकपटक चल्न चलमलाउन नसक्ने एक व्यक्तिलाई वैद्यखानामा बोकेर ल्याइएको थियो । मन्त्रीको चिट लिएर आएका उनलाई जीवनारायण तेल दिएर पठाइयो । केही दिनपछि ती व्यक्ति निको भई हिँडेर वैद्यखाना आएको माया बताउँछिन् ।

‘मैले वैद्यखानामा काम गर्दासम्म जीवनारायण तेल थियो । अहिले के छ मलाई थाहा छैन,’ माया भन्छिन्, ‘चन्द्रनिघण्टु भन्ने छुट्टै तरकिब संग्रह सिंहदरबार वैद्यखानामै छ । त्यसको केही भाग देश–विदेश गयो पनि भन्छन् । त्यसमा जीवनारायण तेलदेखि अनेक औषधी बनाउने विधि थियो ।’

हालै नरदेवीबाट सिंहदरबार वैद्यखानामा कार्यकारी निर्देशकको रूपमा कामकाजका खटाइएका डा. प्रदीप केसीका अनुसार, जीवनारायण तेल बन्न छाडेको धेरै अघिदेखि हो । ‘त्यसमा मान्छेको मासु पनि राखिन्थ्यो भनिन्छ, त्यो पनि जीवितै मान्छेको । जीवनारायण तेल बनाउने विधि वैद्यखानाकै तरकिबमा छ, अन्य आयुर्वेदिक ग्रन्थमा यसको विधि पाइँदैन र त्यो तेल अन्यत्र बनेको छैन,’ सोमबार साँझ डा. केसीले टेलिफोनमार्फत भने, ‘अहिले म वैद्यखानामा हाजिर भइसकेको छैन, त्यसैले अहिले त्यहाँ त्यो तेल भए वा नभएको मलाई जानकारी भएन ।’ 

सिंहदरबार वैद्यखानाका निवर्तमान कार्यकारी निर्देशक डा. रामदेव यादवले भने जीवनारायण तेल वैद्यखानामा भए वा नभएको बारे आफूलाई जानकारी नभएको बताए ।

पाठेघर खस्ने रोग र मुसाको तेल

मायाको जन्म काठमाडौँ सिफलमा भएको हो । उनका बुवा पण्डित कृष्णप्रसाद भट्टराई १६ भाषाका ज्ञाता थिए । दर्शन र तन्त्रमा आचार्य गरेका कृष्णप्रसादले वीर पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा सेवा गरे । विवाह पद्धति, व्रतबन्ध पद्धति, हरमेखला आदि पुस्तक लेखेका उनले राजा वीरेन्द्रका गुरु धनशमशेरलाई लेखनमा सघाएका समेत गरे । ‘संस्कार पद्धति’ पुस्तक धनशमशेर र कृष्णभट्टराईले संयुक्त रूपमा लेखेका छन् । 

मायाले सामान्य प्राथमिक शिक्षा घरबाटै लिइन् । उनका बुवाले टोलका केटाकेटीलाई बोलाएर घरमै पढाउँथे । पछि उनका बुवाले समाजका गन्यमान्य मानिसको सहयोगमा कालिकास्थानमा नारी विद्यापीठ नाम दिएर स्कुल खोलेका थिए । त्यहाँ उनले प्रथमासम्म पढिन् । यही बेला उनका बुवा कलकत्ता जानुपर्‍यो, विदेशी भाषा पढ्नका लागि । बुवा घरमा नभएका बेला मायाले पढाइमा त्यति रुचि देखाइनन्, संगिनीहरूसँग घुमफिर गर्नमै मन दिइन् र केही समय उनको पढाइ छुट्यो । 

मायाका अनुसार, आयुर्वेदशास्त्रले भनेका सबै विधि पुर्‍याएर औषधी बनाउन सजिलो छैन । कुनै कुनै औषधी बनाउन महँगो र मेहनत पनि पर्छ । शास्त्रले भनेकै द्रव्य खोज्न सकियो भने रोग अझ छिटो निको हुन्छ । 

आफ्नी आमाले कान्छो भाइ जन्माएका बेला ‘दशमूल काँढा’ किन्न माया नरदेवी पुगेकी थिइन् । त्यतिबेला नरदेवीमा आयुर्वेदिक मध्यमाका लागि भर्ना खुलेको थियो । त्यहाँ २०२० सालमा भर्ना भएर मध्यमा, शास्त्री हुँदै २०२७ सालमा आचार्य गरिन् । आचार्यपछि एक वर्षसम्म वीर हस्पिटल, प्रस्तुतिगृह आदिमा प्राक्टिकल गरेपछि उनको जागिरे जीवन सुरु भयो । त्यतिबेला उनीहरूले संस्कृतमा लेखिएका किताब पढ्नुपथ्र्यो, प्रश्नपत्र पनि संस्कृतमै हुन्थे, संस्कृतमै लेख्नुपथ्र्यो । ‘मैले पढ्दा नेपालमा कति किताब किन्न नपाएर बनारसबाट मगाउनुपथ्र्यो,’ माया भन्छिन्, ‘कति किताब रत्न पुस्तकलाई बनारसबाट मगाइदेऊ भन्थ्यौँ ।’

यहीबिच (२०२२ फागुन)मा उनले बिहे गरिन्, पशुपतिका अग्निहोत्री रामप्रसाद गौतमसँग । छोराछोरी हुर्काउँदै उनले जागिरे जीवन अगाडि बढाइन् । उनकी छोरी प्रतिमा गौतम यतिखेर कांग्रेस सांसद् छन् । छोरा अनुयाज गौतम तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।

सुरुमा अस्थायी जागिर खान माया फर्पिङ आयुर्वेद औषधालयमा पुगेकी थिइन् । त्यहाँ उनले जीवनमै पहिलोपटक पाठेघर खसेकी महिलाको उपचार गर्नुपर्‍यो । ‘बिचरीले भर्खरै छोरी गुमाएकी रहिछन् । त्यहाँका बुढा–बुढा बाठा कविराजहरूले सरकारले पठाएको राम्रा औषधी सबै घरमा लगेर सकेका थिए । अब औषधी के दिने ?’ माया भन्छिन्, ‘तैपनि त्यहाँ भएका औषधीलाई नै मिसाएर, मात्रा मिलाएर उनलाई दिएँ । सफा गर्ने, लगाउने, खाने औषधी दिएकी थिएँ । आयुर्वेदमा एउटा रोगको औषधीले अर्को रोगलाई पनि निको गर्छ । आयुर्वेदको प्रभावकारिता त्यो छ ।’

ती महिलालाई त्यहीँको औषधीले निको भयो । एकपछि अर्को बिरामीलाई निको पारेपछि फर्पिङमा माया सबैकी प्रिय हुन थालिन् । ‘मैले छोएपछि धेरैको रोग सजिलै निको भएको छ,’ माया आफ्नो आस्था र विश्वासमा टेकेर भन्छिन्, ‘रोग निको हुन औषधी दिएर मात्रै हुँदैन, बिरामीको भाग्य र भगवानको कृपा पनि चाहिन्छ ।’ 

मायाले पाठेघर खसेकी अर्की एक महिलाको पनि उपचार गरेकी छन् । कुपोण्डोलको एक धनीमानी परिवारकी बुहारीको पाठेघर खसेर मायाकहाँ ल्याइयो । मायाका अनुसार, आयुर्वेदशास्त्रले भनेका सबै विधि पुर्‍याएर औषधी बनाउन सजिलो छैन । कुनै कुनै औषधी बनाउन महँगो र मेहनत पनि पर्छ । शास्त्रले भनेकै द्रव्य खोज्न सकियो भने रोग अझ छिटो निको हुन्छ । 

Dr Maya Gautam (7)

ती महिलाको उपचारमा मायाले मुसाको तेल पनि प्रयोग गरिन् । ‘मुसाको छाला फ्याँकेर उसुन्ने । त्यसपछि तेलमा के के फुर्याउनुपर्छ विधि अनुसार फुर्‍यायो अनि मुसालाई पकाएर तेल बनाउने । यो तेल खसेको पाठेघरमा लगाउँदा फाइदा हुन्छ,’ माया भन्छिन्, ‘मुसाको तेललाई आँखुतेल भनिन्छ । अहिले त यो विधि गर्दैनन् ।’

उनका अनुसार, आयुर्वेदिक औषधी बनाउँदा कुनै द्रव्यको अभाव भयो भने त्यो ठाउँमा अर्को उस्तै गुणको द्रव्य राख्न सकिन्छ । च्यवनप्रास बनाउन मात्रै ४२ थोक चाहिन्छ । त्यसमध्ये केही पाइएन भने, त्यसको अभावमा अर्को राख्न सकिन्छ । प्रकृतिमा औषधीय गुण भएका चिज धेरै छन् तर अहिले त्यसलाई प्रयोग गर्न जान्ने मान्छेको अभाव भयो । अर्कोतिर, अचेल कानुन र सन्धिहरूका कारण पनि सबैको औषधी बनाउन पाइँदैन । ‘आयुर्वेदमा कस्तुरीको विशेष महत्त्व छ । यसबाट मृगमदासव, कस्तुरी भूषण आदि नाम दिएर औषधी बनाइन्थ्यो । शीतांग गम्भीर बिरामी पनि अलिकति कस्तुरी चटाइदियो भने उठ्छ,’ माया भन्छिन्, ‘अहिले कस्तुरी ब्यान्ड गरेको छ । पहिले त जफत भएका कस्तुरी, सुन, चरेस आदि राजाकहाँ जान्थ्यो । महेन्द्र र वीरेन्द्रकै पालासम्म ती चिज औषधी बनाउनका लािग सिंहदरबार वैद्यखानालाई दिइन्थ्यो ।’ 

उनका अनुसार, वैद्यखानामा २०४०–५० सालसम्म (उनलाई घटना वा प्रसंगका मिति त्यति सम्झना रहेनछ) सुन लगायत धातु गालेर औषधी बनाइन्थ्यो । ‘एकपटक चार किलो सुन ल्याएर गाल्ने बेला मलाई काजमा खटाइएको थियो । त्यो सुनको काममा आरोप लाग्ला, के होला भनेर मैले काज फिर्ता लिएँ,’ उनी भन्छिन्, ‘सुनलाई भस्म बनाउन धेरै लामो प्रक्रिया छ ।’ 

औषधीजन्य चरेस, अफिम आदिलाई प्रतिबन्ध गर्न नहुने उनी बताउँछिन् । उनका अनुसार, चरेस, अफिमसँगै अनेक किसिमका सर्पको विषबाट विभिन्न औषधी बनाइन्छ । ‘अहिले सर्पको विषबाट औषधी बनाउन कसले सक्नु ? पहिले पुराना बुढाहरूले निकै फाइदाजनक औषधी बनाउँथे,’ उनी भन्छिन्, ‘पहिले मेरा गुरुहरुले बनाएको अमिलो पाचक भन्ने थियो, एउटा गोली खाएपछि पेटलाई आनन्द हुने । औषधी धेरै छन्— काष्टादि, रसादि, विषादि ।’ 

मायाका कुरा सुन्दा यस्तो लाग्छ, कतिपय आयुर्वेदिक ज्ञान क्रमशः हराउँदै छन् । मायाले रक्त क्यान्सरदेखि जन्डिसका थुप्रै बिरामीलाई निको पारेकी छन् । १० वर्षको उमेरमा रक्त क्यान्सर भएका व्यक्तिलाई मायाले निको पारिदिइन्, अहिले उनले बिहे गर्दै छन् । माया यस्ता बिरामीको नाम खुलाउन चाहन्नन् । ‘नाम नलेख्नुस् है,’ मायाले भनिन्, ‘मान्छेले आफ्नो रोग सबैलाई सुनाउन भन्दा लुकाएकै राम्रो मान्छ ।’

पशुपतिनाथमा अञ्चल अस्पताल

कविराज (नासु स्तरको पद, जसले आयुर्वेदीय उपचार गर्छ) मा स्थायी हुनका लागि उनले २०३० सालमा  लोकसेवा दिएकी थिइन् । नाम निकालेर नियुक्तिपत्र बुझेको भोलिपल्ट सिंहदरबार आगलागी भयो । त्यतिबेलै मायाले अधिकृत अर्थात् डाक्टरका लागि पनि लोकसेवा दिएकी थिइन् । तर सिंहदरबारमा आगलागी हुँदा कागजपत्र सबै जले र त्यसको रिजल्ट निस्केन । 

Dr Maya Gautam (10)

स्थायीमा नाम निकालेपछि उनी नरदेवी आइन् । त्यहाँ डेढ वर्षजति बसेपछि उनलाई पुनः फर्पिङ पठाइयो । यसपालि स्थायी भएर गएकाले त्यहाँको आयुर्वेद औषधालयलाई उनले अञ्चल आयुर्वेद औषधालयमा परिणत गरिन् । 

२०५१ सालमा आएर मात्रै उनी डाक्टर अर्थात् अधिकृत भइन् । त्यतिबेला धेरैले मध्यमा र शास्त्री पढेपछि जागिर खान्थे । फेरि पढेर आचार्य भएपछि अधिकृत दिन्थे । आचार्य गरेर जागिरमा आएकी मायालाई अधिकृत हुन निकै धौ भयो । ‘अधिकृत दिँदा मैले लिखितमा सधैँ नाम निकाल्थे तर इन्टरभ्युमा फालिन्थेँ । त्यतिबेला मसँग परीक्षा दिने सबै बुढा–बुढा हुन्थे, म भर्खरकी थिएँ । उनीहरू पावरको मान्छे भएकाले इन्टरभ्युमा उनीहरूकै नाम निस्कन्थ्यो,’ माया कर्मचारीतन्त्रभित्रको तत्कालीन विकृतिप्रति गुनासो गर्छिन्, ‘इन्टरभ्युमा बडो स्वार्थ हुँदो रहेछ, मान्छेहरूले खुवाउन जान्दा रहेछन् । कसैको पाउ पर्दारहेछन् । मलाई सबैले तारिफ गर्थे तर इन्टरभ्युमा पास अर्कै हुन्थ्यो । दशचोटि जति परीक्षा दिँदा पनि नाम ननिस्केकामा मलाई सबैभन्दा बढी दुःख लागेको छ ।’ 

सोर्सफोर्स लगाउन माया कम होइनन्, लोकसेवाकै तत्कालीन अध्यक्षले उनका बुवालाई मान्थे । दरबारमा सोझै सम्पर्क थियो तर उनले सोर्सफोर्सलाई उचित मान्दैनथे । परीक्षा दिँदादिँदा हारेर उनी परीक्षा नदिने मनस्थितिमा पुगेकी थिइन् । तर उनलाई माया गर्ने आयुर्वेदका भाइहरूले कर गरे – दिदी ! हाम्रो निम्ति भए पनि परीक्षा दिइदिनू ।’ 

यसरी पशुपतिनाथको ढोकैभन्दा बायाँतिर दुईतले घरमा अस्पताल राखियो । त्यसको केही समयपछि माया सरुवा भइन् । उनले अस्पताल सित्तैमा राखेकी थिइन्, भाडा तिर्नुपरेको थिएन । त्यसो हुँदा हाकिमले पैसा खान पाउँदैनथे । पछि आउनले खै कुन स्वार्थले हो अस्पतालाई त्यहाँबाट सारे ।

अन्तिमपटकका लागि भनेर उनले लोकसेवा दिइन् — बढुवा र खुला दुवैमा । खुलामा नाम निस्क्यो । ‘त्यतिबेला अन्तर्वार्ता हुँदा लोकसेवा आयोगका अध्यक्ष आफैँ बस्नुभएको रहेछ । लोकसेवाकै एक महिला सदस्य पनि बस्नुभएको रहेछ । हाम्रो आयुर्वेदका मान्छे पनि दुईजना बसेका थिए,’ माया भन्छिन्, ‘आयुर्वेदसम्बन्धी मेरा कुरा सुनेर लोकसेवाका मान्छेहरू दंग पर्नुभयो । मलाई लाग्छ, लोकसेवाकै मान्छेले नम्बर दिएर मेरो नाम निस्क्यो ।’ 

अधिकृत भएपछि सुरुमा उनलाई आयुर्वेद विभाग पठाइयो, त्यसपछि फर्पिङ । यसपालि उनले अञ्चल अस्पताल फर्पिङलाई काठमाडौँ ल्याइन् । तर कहाँ राख्ने भन्ने समस्या भयो । ‘अस्पताल खोल्ने भनेपछि पैसा आउने रहेछ । यस्ता कुरामा मेरो कुनै चासो थिएन । त्यसैले ठाउँ खोज्न धेरै मान्छे खटिए । उनीहरूले कहीँ ठाउँ पाएनन् र मलाई भेट्न घरैमा आए,’ माया भन्छिन्, ‘मैले उनीहरूलाई पशुपति क्षेत्रका प्रख्यात व्यक्ति नरोत्तम वैद्यकहाँ लिएर गएँ र आफ्ना कुरा राखेँ । उनले खुसी हुँदै भने— माया दिदी ! यति राम्रो काम गर्न लाग्नुभएको रहेछ मैले हजुरलाई देउपाटनको मुटु दिन्छु ।’ 

यसरी पशुपतिनाथको ढोकैभन्दा बायाँतिर दुईतले घरमा अस्पताल राखियो । त्यसको केही समयपछि माया सरुवा भइन् । उनले अस्पताल सित्तैमा राखेकी थिइन्, भाडा तिर्नुपरेको थिएन । त्यसो हुँदा हाकिमले पैसा खान पाउँदैनथे । पछि आउनले खै कुन स्वार्थले हो अस्पतालाई त्यहाँबाट सारे । ‘जयवागेश्वरी हुँदै कता कता सारे, अहिले भीमसेनगोलामा छ भन्ने सुन्छु,’ माया भन्छिन्, ‘मैले के जानिनछु भने पशुपति क्षेत्रबाट अन्यत्र सार्न नपाइने भनेर लेख्नुपथ्र्यो, त्यो गरिनछु । अहिले मेरो निकै चित्त दुखेको छ । त्यहाँ अस्पताल भए बाहिरबाट आउने भक्तजनले पनि उपचार पाउँथे ।’ 

Dr Maya Gautam (2)

राज्यले के गर्नुपर्छ ?

मायाको अनुभवमा, आयुर्वेदको विकास गर्न देशमै जडिबुटी उद्यान खोलिनुपर्छ । जिल्ला–जिल्लामा माटो अनुसार जडिबुटी खेती गर्नुपर्छ । 

‘किसानकै जग्गामा किसानलाई नै अर्गानिक किसिमले जडिबुटी खेती गर्न लगाउने, पैसा पनि दिने तर रेखदेख सरकारले गर्ने । अनि त्यहाँबाट उत्पादित वस्तु सरकारले किनिदिने । एक–दुईचोटि पैसा दिएर सरकारको रेखदेखमा जडिबुटी खेती गर्ने हो भने पछि किसानले आफैँ सिक्छन्,’ माया भन्छिन्, ‘औषधीजन्य धातुहरू पनि सरकारले संकलन गरेर औषधी उत्पादनका लागि दिनुपर्छ । आधुनिक प्रविधि भित्र्याएर योग्य चिकित्सकबाट आधुनिक किसिमले औषधी बनाइनुपर्छ । यससम्बन्धी ज्ञान बढाउन विदेशतिर पढ्न पठाउनुपर्छ, गएका छन् तर थोरै गएर पुगेन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप