निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।
निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए ।
शिविरमा पाँच सय ९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा एक सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, साकेला गाउँपालिकालगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका सेवाग्राही हलेसी आएका थिए ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन भएको हो । आँखाको समस्या भएका नागरिकको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो । शिविरको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले उद्घाटन गरेकी थिइन् ।
त्यस अवसरमा पाठेघरको निःशुल्क शल्यक्रियादेखि नगर अस्पताल सञ्चालन गरेर बीमा गर्ने र बीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको काम गरिरहेको नगरप्रमुख राईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान