बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

गहिरो कलागत दर्शन बोकेर हिँडेका कलाकार जो हामीबिच आज छैनन्

शनिबार, ०७ पुस २०८०, १९ : १०
शनिबार, ०७ पुस २०८०

दिवंगत मूर्धन्य कलाकारहरूको स्मृति दिवस मनाउने चलन नेपालमा भित्रिसकेको छैन, १३औँ शताब्दीका कलाकार अरनिकोलाई यदाकदा सम्झनेबाहेक । यसपालि भने ‘नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान’ले दिवंगत कलाकार पुरन खड्का (वि.सं. २०१२–२०७३)का कलालाई प्रदर्शनी गरेर नयाँ सुरुवात ग¥यो । नौ दिन (गएको मंसिरको १९ देखि २८ गते)सम्म सीता भवन परिसरस्थित प्रतिष्ठानकै सबैभन्दा ठूलो कक्ष अरनिको कलादीर्घामा कलाकार खड्काका कलालाई ‘सूत्रपातदेखि सम्पूर्णता’ शीर्षक दिएर प्रदर्शनी गरिएको थियो । 

उद्घाटनको दिन (मंसिर १९ गते) शान्त वातावरणमा पुरनका मात्र कला राखेर ती कलाको प्रकृति र लक्षणमाथि चर्चा–परिचर्चा गरिएको थियो । उपस्थित भावक शान्त भई धैर्यका साथ बसिरहेका थिए । भावकको यो धैर्यताले दिवंगत कलाकारमाथि श्रद्धा–सुमन चढाएको अनुभूत हुन्थ्यो । कार्यक्रममा अग्रज कलाकारको पनि बाक्लो उपस्थिति थियो । 

ठूलो प्रदर्शन कक्ष एकनासका देखिने चित्रले टनाटन भरिएको थियो, अवलोकन गर्ने दर्शकले अचम्मको भाव राख्दै खासखुस गरेको मसिना आवाज सुन्न सकिन्थ्यो । अटपट र अस्वाभाविकजस्ता लाग्ने उनका कलालाई बुझ्न गाह्रै हुन्थ्यो, तथापि बग्रेल्ती यी एकनासे चित्र बनाइराख्ने जाँगर र एकाग्रता कसरी बटुले होला भनेर भावक अचम्भित भएका देखिन्थे । 

पूर्ण–अमूर्तता (कलागत शैलीका चार तह हुन्छन् :मूर्त, अर्ध–अमूर्त, अमूर्त र पूर्ण–अमूर्त) बोकेका सपाट क्युबिक फर्ममा संयोजित चित्रहरुले कक्ष भरिएको थियो, साधारण भावकले कुनै एउटा अवलोकन गरेपछि सबैलाई उस्तै देख्थ्यो, एउटै चित्रको सयौँ प्रतिलिपि बनाएजस्तो पारामा देखिनु पनि यो प्रदर्शनी थोरै अनौठो खालको थियो । पूर्ण–अमूर्तताको सन्दर्भ पनि उनको जीवनसँग धेरै ठाउँमा जोडिने गर्दछ । 

DSC09890

अमूर्त कलाको एउटा परिभाषालाई यहाँ जोड्दा सान्दर्भिक नै हुन्छ । अमूर्त कलाले एउटा रचना सिर्जना गर्न जहिले पनि आकार (सेप) फर्म, रङ र रेखाहरूको भिजुअल ल्याङ्ग्वेजलाई प्रयोग गर्ने गर्र्छ । यसर्थ यस्ता कलाबाट कलाकारको स्वतन्त्रता र निजी स्वभाव आदि प्रकट हुन्छ भनिन्छ । 

देहावसान हुनु केही महिनाअघि (२०१५ को अगस्टमा) भएको पुरनको एकल कला प्रदर्शनीको थिम नै थियो, ‘होलनेस’ अर्थात् सम्पूर्णता । मानौँ उनी सम्पूर्णतामा समाहित भइसकेका थिए । हुन त यो निचोडमा पुग्न उनी सीता भवनको माथिल्लो तलाको अँध्यारो सानो कोठामा १७ वर्ष व्यतित गरेको इतिहास पनि छ । यो उनको कला स्टुडियो थियो । राति सुत्न मात्र उनी आफ्नो डेरामा जान्थे, नत्र दिनभरि यो अँध्यारो कोठामा कोरकार गरेर बसिरहन्थे । साना–ठूला कपीमा, स–साना क्यानभासमा जीवन दर्शनलाई कोरी बस्ने उनको बानी थियो ।

मैले उनीसँग भेट्नेबित्तिकै सोध्थेँ, ‘किन तपाईं सधैँभरि यसरी कोरकार गरिरहनुहुन्छ ?’ उनी भन्थे, ‘मेरा जीवनका पाटालाई यी रेखामा खोज्दै छु । सायद कुनै दिन पाइहाल्छु कि ?’ यो एउटा अनौठो स्वभावले पनि अन्य कलाकारभन्दा उनी पृथक् हुन् । मैले पनि कैयौँ दिन उनको नजिकै बसेर कलाको बारेमा घन्टौँँ चर्चा परिचर्चा गरेको छु । 

निरन्तर एक्लै घोरिएर कैयौँ रेखा कोर्दै जीवनको अर्थ खोज्दै अध्ययन अनि कलागत तपस्या गरेपछिको परिणति हो, होलनेस । रङ–संयोजन, संगठनको परिकल्पना, चित्रको प्रकृति एवं स्वरूप एक–अर्काको कपी गरेको जस्तो देखिनु तर हरेकको पहिचान नितान्त अलग–अलग रहनु, देखिनु नै उनका कलाको मूल विशेषता थियो । 

यसपालिको प्रदर्शनीमा एउटैजस्तो देखिने सयौँ चित्र भित्ताभरि टाँगिँदा भावकमा कुतूहलता बढेको देखिन्थ्यो । यस्तो कला प्रदर्शनीको दृश्य न पहिला कसैको भएको देखिएको थियो, न त भविष्यमै हुने सम्भावना छ । सबैजसो चित्रका रङ र आकार पनि एकै छन् । रातो, सेतो, कालो, खैरो रङ सपाट, समतलीय भएर चित्रपटमा बस्नु, रेखाहरू तल–माथि कुदेजस्तो देखिनु उनको कलाको अर्को कलागत स्वभाव थियो । पचासौँ अन्य रङले उनलाई किन कहिले छुन सकेन होला ? यो भने रहस्यकै गर्भमै रह्यो । छिटै दिवंगत भएकाले उनीसँग धेरै अन्तक्र्रिया र उनको कामको अभिलेखन गर्न सम्भव भएन । उनीबारे लेखिनुपर्ने धेरै कुरा बाँकी नै छ । 

पश्चिम नेपाल अछामको एउटा सानो गाउँ गन्जरामा जन्मिएका खड्काले मुम्बईको सर जे जे स्कुल अफ आर्टबाट २०३७ सालमा कलामा स्नातक गरेका थिए । अमूर्त कलाकारको लहर लैनसिंह बाङ्देलदेखि उर्मिला गर्ग, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ विजय थापा, प्रमिला गिरी, कृष्ण मानन्धर हुँदै किरण मानन्धरसम्म आइपुग्छ । तर पुरनका कलामा जति अमूर्तताको स्पष्ट स्वरूप कसैमा देखापरेको देखिँदैन । अलिकता आकृति अनि तेस्रो आयामिक रङ्गीय धरातलमै सबैजसो कलाकार रमाएको देखिन्छ । खड्कापछिका अमूर्त कलाकार पनि यो कलागत शैलीमा प्रवेश गरेको देखिँदैन । यसर्थ यो अमूर्तताको स्वरूप नेपाली कला इतिहासमा नौलो ढंगबाट स्थापित भएको मान्नुपर्छ । 

IMG_20231205_164144 - Copy

उनीभित्र कलागत–सजगता, गहिरो रूपमा कलागत संचेतना हुनुले पनि नेपाली कला जगत्मा उनको एक अलग्ग पहिचान छ । एकान्त रुचाउने, कम बोल्ने उनको स्वभाव थियो । सधैँजसो अलग पहिरन (कालो चस्मा, ह्याट र कोट)मा देखिने पुरनलाई धेरैले अस्वाभाविक रूपमा हेर्ने गर्दथे, उनको कलालाई झैँ । यसपालिको उनको कला प्रदर्शनी सार्थक र सान्दर्भिक रहेकोे सबैजसो सहभागीको ठहर थियो । सहयात्रीको रूपमा देखापरेको ‘एन्सेन्ट नेपाल’को ठुलै सहयोगले गर्दा यो कार्यक्रम सम्भव हुन गयो । एन्सेट नेपालका संस्थापक प्रकाश खड्का कलाकार पुरनका सहोदर काकाका छोरा हुन् । 

उनै प्रकाशले एउटा मार्मिक घटनालाई उल्लेख गर्दै अभिलेखन गरेका छन् । देहावसान हुनु करिब एक महिनाअघि उनले कलाकार पुरनलाई सोधेका थिए, ‘होलनेस (उनको अन्तिम एकल कला प्रदर्शनीको थिम, टाइटल) पछि अर्को चरण के हुन्छ ?’ पुरनले मार्मिक जवाफ दिएका थिए, ‘यही नै पूर्णता हो, मैले जे पाउनु थियो पाइसकेँ, म आजै, अहिले नै मरे भने पनि केही फरक पर्ने छैन ।’

उनलाई मृत्युको पूर्वाभास भएको थियो वा थिएन, थाहा भएन यद्यपि त्यसो भनेको एक महिनापछि नै उनी संसारबाट बिदा भए । यो कला नै उनको सम्पूर्णता थियो थिएन, थाहा छैन । आफ्ना चित्रबारे व्याख्या विश्लेषण गरेर केही लेख्छु भनी उनी आफैँले भनेका थिए रे, त्यो पनि पूरा हुन सकेन । उनले अक्षरमा केही लेख्न भ्याएको भए उनका धेरै कुरा अगाडि आउँथ्यो होला । 

प्रकाशले उनलाई अर्को प्रश्न गरेछन्, ‘मैले तपाईंको कला बुझिनँ नि, कसरी बुझिन्छ होला ? 

जवाफमा उनले भनेछन्, ‘जब मानिसको सोच्ने क्षमताको अन्त्य हुन्छ, अनि मेरो कला बुझ्ने प्रक्रिया प्रारम्भ हुन्छ ।’ यो जवाफ अटपटजस्तो लाग्छ तथापि उनको कलागत गहिराइ नै यही हो ।

विचारमा अमूर्तता भएका यस्ता धेरै उदाहरण छन् । कलाकार लक्ष्मण श्रेष्ठले पनि खड्कालाई सोधेका थिए– मान्छेमा कन्फ्युजन किन हुन्छ ? जवाफ आएछ, ‘जबसम्म तिमी कन्फ्युजनसँग साक्षात्कार गर्दैनौँ, तबसम्म तिमीलाई साँचो र यथार्थ अवस्था थाहा हुँदैन ।’ 

कलाकार मनीषलाल श्रेष्ठ सुनाउँछन्– कहिल्यै नआउने उहाँ (पुरन) एक दिन मकहाँ आउनुभयो र भन्नुभयो — मनीष मलाई अहिले नै पाँच हजार चाहियो लेउ त । कसैसँग माग्ने खालको मान्छे नै होइन उहाँ, चिया–नास्ता खाँदा पनि उहाँ नै पैसा तिर्ने । उहाँको कुरा सुनेर एकछिन म अलमलिएँ, उहाँ तुरुन्तै हिँड्नुभयो, म कहिले पनि बोल्दिनँ भनेर । त्यसको अर्को महिना उहाँको मृत्युको खबर सुन्नुप¥यो । 

यस्तायस्तै जीवनका दर्शनसँग लुकामारी खेली बस्ने पुरनका विचारहरू पनि एक प्रकारको अमूर्तता नै थियो । 

कलागत संचेतना

कलागत–सजगता वा कलागत संचेतना भन्नाले कलालाई भित्री तहसम्म बुझेर, त्यसको मर्मलाई आत्मसात गरी आध्यात्मिक चेतसहित अथ्र्याउने भन्ने बुझिन्छ । यस्ता कलामा कलागत अर्थ, कला दर्शनसहित मानवीय गुणका अनेकौँ अवयव जोडिएका हुन्छन् । पुरनका कलाहरू यस्तायस्तै लक्षण बोकी कुदिरहेका देखिन्छन् । उनको चित्रपटमा नितान्त सपाट रङहरू दृढ, स्थिर भएर उभिँदा पनि केही रेखाले चलखेल वा उछलकुद गरेजस्तो देखिन्छ । यस्तो लाग्छ, लुकामारी खेल्दै माथि–तल भित्र–बाहिर हुँदै कुदिरहेका यी रेखाले एउटा गन्तव्यको खोजी गर्दै छन् । उनको क्यानभासमा गहिरो गाढा रातो रङ, निक्खर खरानी रङसँगैको कालो रङले ठुल्ठुला खण्ड बोकेको देखिन्छ । 

IMG_20231205_164144

उनका अधिकांश चित्रमा एउटा वा दुईवटा रेखा कि होरिजेन्टल वा भर्टिकल रूपमा बस्न आइपुगेका छन्, यो उनको कलागत स्वभाव थियो । यस्तो खालको रेखा–पात्रको छनोटले उनीमा रहेको अद्भुत परिकल्पनालाई संंकेत गर्छ । यहाँनेर उनी विश्व विख्यात कलाकार मोन्ड्रियनदेखि प्रभावित थिए भन्ने पनि आभास हुन्छ । 

पश्चिमी कला दर्शन, कला पद्धति र पश्चिमी कला अंकन पद्धतिमा शिक्षा हासिल गरे पनि उनको आस्था पूर्वीय दर्शन र परम्परातिर थियो । पश्चिमी र पूर्वीय दर्शनलाई फ्युजन गर्दै उनले आफ्नो कलामा मौलिकता झल्काए । कलागत ज्ञानमा परिपूर्णता र जीवन दर्शनमा अगाध आस्था भएका पुरनजस्ता अन्य नेपाली कलाकार नगन्य रूपमा छन् । 

मोन्ड्रियन 

खुलेर भन्नुपर्दा पुरन परोक्ष रूपमा प्रभावमा परेको भनेको कलाकार पिट मोन्ड्रियन (सन् १८७२–१९४४) सँगै हो । डच कलाकार मोन्ड्रियन सिद्धान्तकार समेत थिए । उनले पूर्ण अमूर्तसँगै उपयोगी कला समेत सिर्जना गरेका छन् । 

रङसम्बन्धी उनको दृष्टिकोण अझ गहन छ । विश्वव्यापी सौन्दर्यता स्थापित गर्न मोन्ड्रियन तीनवटा आधारभूत रङहरू (रातो, नीलो र पहेँलो) प्रयोग गर्दथे । यस्तै, कालो, सेतो र खैरो रङलाई समतल (होरिजोन्टल) र ठाडो (भर्टिकल) फर्ममा प्रयोग गर्दथे ।

पश्चिमी कलाको अध्ययन गर्दै गर्दा पुरनले सम्भवतः यी कलाकारबारे थप अध्ययन गरे । त्यसपछि उनको जस्तै कलामा नयाँ आयाम खडा गर्ने प्रक्रियामा उनी जुटेको देखिन्छ । त्यही कला अंकन पद्धतिलाई थाहा नपाएको जस्तो गरेर पुरनले पछ्याएको देखिन्छ । एउटा कलागत दर्शनलाई निर्माण गर्नेदेखि निश्चित रङको छनोटको प्रक्रियामा समेत पुरन मोन्ड्रियनको गहिरो प्रभावमा परेको देखिन्छ । 

मोन्ड्रियनको कलागत यात्रा यस्तो देखिन्छ, उनी साधारण यथार्थबाट अमूर्तता हुँदै अन्तमा साधारण ज्यामितीय तत्त्वमा ओर्लिएका थिए । उनका कलालाई हेर्दा गहिरो अर्थपूर्ण केही लाग्दैन, साधारण ज्यामितीय फर्ममा देखापर्दछ । सरलता र सहजता नै उनको मूल विशेषता हो । क्लिष्टतालाई सरल र सहजपनामा ओर्लन दिनु नै उनको कलामा ठुलो योगदान मानिन्छ । एकातर्फ उनका काम काल्पनिक लाग्थे, तर उनका कलामा अन्तर्निहित सौन्दर्यलाई भावकले अनुभूत गर्न सक्थे । उनी भन्ने गर्दथे– यथार्थभन्दा कला अझ माथि हो अनि यसले प्रत्यक्ष रूपमा यथार्थतासँग नाता राख्दैन । कलामा आध्यात्मिकताको दृष्टिकोण हुनु भनेको यथार्थको थोरै अंशको प्रयोग हो किनभने यथार्थ भनेकै विपरीत हो । अमूर्त कलामा हामी आफूलाई नै पाउँछौँ । यसर्थ कला यथार्थभन्दा माथि हुनुपर्छ, होइन भने मान्छेका लागि यो कसरी मूल्यवान हुन सक्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन्) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप