राष्ट्रपति पौडेललाई मुख्यमन्त्री कार्कीले भने, ‘केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे सङ्घर्ष गर्छौँ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद् र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र सङ्घर्ष गर्ने बताएका हुन् ।
उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगी व्यवसायी छुट्टै नभई राज्यको नै अङ्ग भएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका हुन् । ‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ । उनले भने, नेपाली जनताको आवश्यकता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनु होस् ।’
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुन्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् । उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताए ।
विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका छन् । कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको आफन्त अझै न्यायको प्रतीक्षामा
-
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
-
तराई र उपत्यकामा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?
-
चिनी उद्योगले समयमै भुक्तानी दिएपछि उखु किसानलाई राहत
-
एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
-
आज महालक्ष्मीको बार, कस्तो छ तपाइको दिन ? हेरौँ राशिफल