बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

‘नेकपा’ ले माओवादी–नेसपा एकतामा किचलो

शनिबार, ०७ पुस २०८०, १३ : ५६
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बिच एकताको विषय पुनः किचलोमा फसेको छ । एकताका लागि दुवैतर्फ कार्यदल गठन भइसकेको छ भने दुवै पार्टीले एकताका लागि पटक–पटक संवाद पनि गरिरहेका छन् । तर, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अस्पष्ट धारणाका कारण एकता प्रक्रिया ठोसरुपमा अगाडि बढ्न नसकेको माओवादी नेताहरूको गुनासो छ ।

माओवादी केन्द्रका एक नेताले भने, ‘एकता गर्ने कि नगर्ने विषयमा बाबुरामजी स्पष्ट हुनुहुन्न । कहिले एकताका लागि तयार हुनुहुन्छ भने कहिले के बहाना बनाएर पछाडि हट्नु हुन्छ ।’ नेसपाकै प्रस्तावका कारण माओवादीले आफ्नो पार्टीको नाम परिवर्तन गर्न तयार भएको तर अध्यक्ष भट्टराई नै स्पष्ट नभएपछि एकता प्रक्रिया अगाडी नबढेको ती नेताले बताए ।

तर नेसपाकै अर्का अध्यक्ष एवं खानेपान मन्त्री महिन्द्रराय यादवले भने माओवादी केन्द्रसँग एकता गर्ने भनेर आफ्नो पार्टीले सर्वसम्मतिले निर्णय गरिसकेका कारण अब पछाडि हट्ने कुरा नहुने बताए । उनले भने, ‘कुन नेताले कहाँ के बोल्नुहुन्छ, त्यो कुरा छाडिदिनुस् । पार्टीले एकता गर्ने निर्णय गरेको छ, एकता हुन्छ ।’

२०७९ मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदा नै एकता गर्ने सहमति भएको थियो । त्यति बेला नै एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको थियो सोही सहमतिका आधारमा माओवादीले चुनावका लागि आफ्नो पार्टी आफ्नो चुनाव चिन्ह दिएको थियो । यो कुरा आफ्नो पार्टीले बिर्सन नहुने यादवको भनाई छ ।

माओवादी केन्द्रसँग एकताका लागि आफूहरू तयार रहेको बताउँदै उनले माओवादीको निर्णयको प्रतीक्षामा रहेको बताए । उनले भने, ‘चुनावकै समयमा पनि एकता गर्ने सहमति भएको थियो, त्यसपछिको दिनमा पटक–पटक छलफल भएकै छ । हाम्रो पार्टीको केन्द्रीय समितिले निर्णय पनि गरिसकेको छ, त्यसैले एकताबाट पार्टी हट्नुहुँदैन ।’

यता डा. भट्टराईले भने पार्टी एकता भन्दा पनि मोर्चा वा गठबन्धन बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादी पार्टीको नामबाट नेकपा माओवादी केन्द्रबाट माओवादी केन्द्र हटाएर नेकपा समाजवादी पार्टी बनाउन लगभग सहमत भएको छ । तर अध्यक्ष भट्टराईले नेकपा पनि रहन नहुने तर्क अघि थालेका छन् । समाजवादीसँग नेकपाको पुच्छर राख्न नहुने उनको भनाई छ । 

तर यादव भन्छन्, ‘नेकपा समाजवादी पार्टी नाम राखेर पार्टी एकता गर्ने सहमति भइसकेको छ । यसबाट कुनै पनि बहानामा पछाडि हट्नु हुन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप