शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ’

शनिबार, ०७ पुस २०८०, ११ : ५४
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै धानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अङ्गदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अङ्ग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।”

सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण एवं रचनात्मक हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

मानव अङ्ग प्रत्यारोपणका विज्ञ एकैठाउँ भेला भएर प्रत्यारोपणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपण क्षेत्रका चुनौती सम्बोधन गर्न  सम्मेलन सहयोगी हुने प्रधानमन्त्रीले बताए । सामूहिक छलफलका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्रीले गत वर्ष पनि यसबारे पुनः प्रतिबद्धता व्यक्त गरिसकेको दोहोर्याए। “मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुङ्गोमा पुर्याउन सरकार प्रतिबद्ध छ”, उनले भने ।

मस्तिष्क मृत्युपछि अङ्गदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय रहेको प्रधानमन्त्रीको भनाइ थियो । “मस्तिष्क मृत्युपछि अङ्गदान गर्न आमसर्वसाधारण हिचकिचाइरहेको देखिन्छ । 

शरीरका विभिन्न अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने महान् अभियानलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप