सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ कलाकार लिँदा फिल्म चलाउन गाह्रो रहेछ : बुढाथोकी

शनिबार, ०७ पुस २०८०, ११ : ४५
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । ‘पर्खी बसेँ तिमीलाई’ पौष २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्मको हो । नव कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म अहिले प्रचार प्रसारमा छ ।   फिल्ममा नयाँ कलाकार लिएपछि प्रचार प्रसारदेखि रिलिजसम्म केही असहज हुने गर्छ । त्यही अनुभव ‘पर्खी बसेँ तिमीलाई’ का निर्माता राजाराम बुढाथोकीको पनि छ ।

‘फिल्मको काम जति नै राम्रो भए पनि प्रचार प्रसारमा मिडिया र प्रदर्शनमा हलले नयाँ कलाकार खोज्दा रहेछन्’ बुढाथोकीले भने– ‘अहिले हामी पनि त्यही अनुभव गर्दैछौं ।’ फिल्मका कलाकार नयाँ भए पनि अभिनय हेर्दा कसैले नयाँ भन्न नसक्ने उनको दाबी छ । फिल्मका नयाँ कलाकार भए पनि निर्देशकदेखि सबै पुरानो भएकोले फिल्म राम्रो बनेको उनले खुलाए ।

केही म्युजिक भिडियो र ‘रक्षा’ नामक एक छोटो फिल्म निर्माण गरेका बुढाथोकीको यो पहिलो फिचर फिल्म हो । पहिलो फिल्म भए पनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन् । फिल्मका निर्देशक दीपक श्रेष्ठ हुन् । निर्देशक श्रेष्ठ थुप्रै हिट फिल्म दिएका छन् । उनले प्रेमकथामा ‘पर्खी बसे’ हिट दिएका थिए । यही फिल्म मार्फत राजबल्लभ कोइराला र युना उप्रेतीको फिल्म उद्योगमा प्रवेश भएको थियो । ‘पर्खी बसेँ तिमीलाई’ पनि दीपक श्रेष्ठले निर्देशन गरेको र प्रेमकथामा बनेकोले हिट हुने विश्वास बुढाथोकीको छ । ‘फिल्म हिट मात्र होइन, यसका कलाकार किरण र रक्षा पनि चल्छन्’, बुढाथोकी थप्छन्– ‘हलवालाले यसका लागि साथ भने दिनुपर्छ ।’ 

फिल्म धेरै सिक्किममा र अन्य बाँकी काठमाडौँ, ललितपुर, कालिन्चोक लगायतका ठाउँमा खिचिएको छ । बुढाथोकीले फिल्म निर्माणमा कुनै कन्जुस्याइँ गरेका छैनन् । फिल्मको व्यावसायिक पाटोको समेत राम्रो ज्ञान भएका उनी यो फिल्मको व्यवसाय जे भए पनि लगातार फिल्म निर्माण गर्ने बताउँछन् । फिल्मको केही दिन अगाडि दुई पोस्टर समेत सार्वजनिक भएको थियो । सार्वजनिक दुई पोस्टरमध्य एउटामा किरण र रक्षाको प्रेम र अर्को फिल्ममा रहेका अन्य कलाकारको भावना प्रस्तुत गरिएको छ । पोस्टरबाट फिल्मका लागि राम्रो प्रतिक्रिया मिलेको उनी सुनाउँछन् । 

फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रिमेक गरिएको छ । ‘बादलपारी’ फिल्ममा समावेश लोकप्रिय गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् । सट फिल्म ‘रक्षा’ को चर्चा र सफलता पछि बुढाथोकीले यो बनाएका हुन् । सट फिल्मभन्दा फिल्म निर्माण निकै गाह्रो रहेको उनको बुझाइ छ ।

‘फिल्ममा धेरै पक्ष हुने भएकोले पैसा भए पनि सबै मिलाउँदा  हुँदो रहेछ’ बुढाथोकीले थपे । रोमान फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा किरण र रक्षाको अलवा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय  छ । कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप