सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
सङ्घर्ष र सफलताका कथाः

व्यवसायमा अब्बल बनेका अपाङ्गता भएका वीरबहादुरहरू

शनिबार, ०७ पुस २०८०, ०६ : ०६
शनिबार, ०७ पुस २०८०

धनगढी । कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–३ का वीरबहादुर तमाङले बाल्यकालमै आँखाको ज्योति गुमाए । जन्मिदा भने उनी सबलाङ्ग नै थिए । सानैदेखि विद्यालय पनि जान थाले तर विस्तारै उनको आँखामा समस्या देखिन थाल्यो । आँखाका ज्योति कम हुने समस्या देखियो । कक्षा ७ मा पुगेपछि उनका दुवै आँखा बन्द भए अनि पढाइ पनि छोडे । 

समयमा उपचार नपाएका उनले हेर्दै आएको उज्यालो संसार पूरै अन्धकारमय बन्यो । आँखा देख्न छोडेपछि उनको शिक्षा प्राप्त गर्न विद्यालयको ढोका पनि बन्द हुन पुग्यो । अनि उनको जीवन झनै सकसपूर्ण बन्दै गयो । 

तर उनले जीवनदेखि हार मानेनन् । सङ्घर्ष गर्दै गए । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ उनी अहिले एक सफल उद्यमी बन्नेका छन् । बाँसको मुढा बनाउने व्यासाय गर्दै आएका उनी त्यसैबाट आफ्नो घरपरिवारको जीविकोपार्जन गर्दै आएका छन् । अहिले मुढा बुनेर नै सबै खर्च कटाएर मासिक २० हजारभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएका छन् ।

वीरबहादुर भन्छन्, ‘२३ वर्षदेखि वेतबाँसका मुढा बनाएर बेच्दै आएछु । मेरो पेसा नै यही हो ।’

उनी छामछुम गरी बाँस चिर्ने र मुढा बनाउन चाहिने सिन्का तयार गर्ने गर्छन् । अनि ती सिन्कालाई डोरीले बुनेर आकर्षक मुढा बनाउँछन् । एउटा मुढा बनाउन उनलाई डेढदेखि दुई दिन लाग्छ भन्छन् उनी । मुढा तयार भएपछि उनी आफैँ बजार लगेर बिक्री गर्छन् । बजारमा उनले प्रतिमुढा पाँच सय रूपैयाँमा बिक्री गर्दै आएका छन् । तयार भएका मुढा उनले धनगढी, महेन्द्रनगर, बेलौरी बजार पुगेर बिक्री वितरण गर्दै आएका छन् ।

वीरबहादुरका परिवारमा श्रीमती, एउटा छोरा र एउटी छोरी गरी चार जना छन् । उनले मुढा बनाएर खाना, छोराछोरीको पढाइलेखाइको खर्च गरी बचेको आम्दानीले पाँच कट्ठा जमिन समेत जोर्न सफल भएका छन् । 

यो पेसाका लागि उनले तालिम लिए । पुनर्वासस्थित नेत्रहीन कल्याण सङ्घले उनलाई मुढा बनाउने तालिम दिएको थियो । त्यहाँबाट तालिम लिएपछि त्यसैलाई उनले आफ्नो व्यवसाय बनाए ।

मोबाइल मर्मत गर्छन् प्रदेशु
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२, कोटाका प्रदेशु डंगौरा थारू पनि शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर उनी आफूलाई सबलाङ्गकै दर्जामा आफूलाई उभ्याउन सफल भएका छन् । उनका दुवै खुट्टा चल्दैनन् । तर उनको सफलताको रफ्तार भने असीमित छ ।

Pradesu Chaudhary

उनले गाउँमै मोबाइल ग्यालरी सञ्चालन गरेका छन् । त्यसबाट उनले महिनाको ५० देखि ६० हजार रूपैयाँसम्मको कारोबार गर्छन् । उनले मोबाइल मर्मत तालिम लिई १० वर्षदेखि गाउँकै त्रिवेणी बजारमा मोबाइलको एसेसरिज सामग्री बिक्री र मर्मत गर्ने पसल थापेका हुन् । पसलबाट नै उनले आफ्नो घरखर्च र जीविकोपार्जन गर्दै आएका छन् ।

उद्यमी छविलाल
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १, सुक्खडका छविलाल चौधरी एक सफल किसान र उद्यमी भनेर चिनिन्छन् ।

शारीरिक रूपमा अपाङ्ग भए पनि आफ्नो मेहनत र लगनशीलताले उनी गाउँमै उदाहरणीय व्यक्ति बनेका हुन् । वीरबहादुर जस्तै उनी पनि घरमै वेतबाँस फर्निचर उद्योग र कृषि फर्म सञ्चालन गर्दै आएका छन् । उनले आफ्नो उद्योगमा अन्य दुई जना व्यक्तिलाई पनि रोजगारी दिन पनि सफल भएका छन् ।

उनको उद्योगमा टेबल, सोफा, मुढा, कुर्सी, ह्याङ्गर, फूलदानी, स्ट्यान्ड, र्याकलगायतका सामग्री उत्पादन गर्छन् । त्यस्तै कृषि फर्ममा उनी च्याउ उत्पादन गर्छन् ।
चार लाख रूपैयाँ लगानी गरी उद्योग सञ्चालन गरेका उनले महिनामा लाखौँका कारोबार गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप