शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
सिम्रौनगढ शिक्षक–कर्मचारी आन्दोलन

आइतवारदेखि सिम्रौनगढका सामुदायिक विद्यालय र नगर अस्पताल सञ्चालन गर्ने सहमति

जनप्रतिनिधिलाई प्रजिअको प्रश्न : अर्को चुनावमा जनताले तपाईंहरुलाई किन भोट हाल्ने ?
शुक्रबार, ०६ पुस २०८०, २२ : १७
शुक्रबार, ०६ पुस २०८०

बारा । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढका जनप्रतिनिधिहरूलाई जनताले अर्को चुनावमा के का लागि भोट हाल्ने भन्दै प्रतिप्रश्न गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा आज भएको छलफल कार्यक्रममा  सिम्रौनगढका प्रमुख किशोरी साह कलवार, उपप्रमुख नजमु शेहर, शिक्षक सङ्घका अध्यक्ष राजकिशोर सहनी र वडाध्यक्षहरूलाई सहभागी भएका थिए ।

सो छलफलमा प्रजिअ सापकोटाले स्थानीय अस्पतालमा सिटामोल नपाउने, गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालय बन्द गर्ने यस्ता जनप्रतिनिधिलाई आगामी चुनावमा जनताले के का लागि भोट हाल्ने भन्दै प्रतिप्रश्न गरेका हुन् । 

उनले सिम्रौनगढमा राजनीति ‘टु मच’ अवस्थामा पुगेको पुगेको समेत बताएका छन् । जिल्लाको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि आकस्मिक सेवा सहितको नगर अस्पताल बन्द छ भने करिब एक महिनादेखि सामुदायिक विद्यालयहरूको पठनपाठन पनि ठप्प छ । 

स्थायी, अस्थायी, करारका शिक्षक,कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरीले ६ देखि १४ महिनासम्मको तलव सुविधा नपाएपछि विरोध स्वरूप अस्पताल र विद्यालय बन्द भएका हुन् । सेवा सुविधाको माग गर्दै  कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले ३ महिनादेखि गरेको विरोध सभामा प्रहरीले गोली चलाउँदा एकजना स्थानीयको ज्यान गएको थियो भने धर्नाको क्रममा एकजना शिक्षकले समेत ज्यान गुमाएका थिए ।

‘यही रवैया गर्नुहुन्छ भने अब अर्को वर्ष के हिसाबले भोट माग्ने हो तपाईंहरुले ? कसले भोट हाल्छ तपाईंहरुलाई ? ल भन्नुस्, मलाई त भोट माग्नु पनि छैन, मलाई कसैले भोट दिनु पनि पर्दैन’ प्रजिअ सापकोटाले भने, ‘अस्पतालमा एउटा सिटामोल पाइएको छैन, आफ्नो छोराछारी पढ्ने सरकारी स्कुल बन्द छ, धनीले लगेर बुढानीलकण्ठमा पढाइसक्यो, सिम्रौनगढको गरिब मान्छेले पढ्न पाएको छैन औषधी उपचार पाएको छैन तपाईलाई अब किन भोट हाल्ने ? यो कुरा तपाईंहरुले सोच्नु्पर्यो ’

११ वटा वडा रहेको सिम्रौनगढ नगर कार्यपालिकामा कांग्रेसको बहुमत छ । नगरप्रमुख किशोरी प्रसाद कलवार पालिकाको हित विपरीत मधेस प्रदेशका मुख्यमन्त्रीको इसारामा चल्ने गरेको कांग्रेसका वडाध्यक्षहरूको आरोप छ । सिम्रौनगढ नगरपालिका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको गृहपालिका पनि हो । यसै पालिकाको वडा नं ३ मा उनको निजी निवास छ ।

‘सिम्रौनगढमा धेरै कुरामा टु मच भयो  बन्दमा पनि टु मच भयो, राजनीतिक सहमतिमा पनि टु मच भयो, अब सबै कुरा बिर्सिएर सर्व सहमतिको कागजपत्र बनाउन हामीले प्रयास गरेका छौं’ प्रजिअ सापकोटाले भने– ‘जनताले साह्रै दुख पाए भनेर यो पटक समस्या समाधानमा हामी पनि लागेका हौं ।’

सापकोटाले मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति भइसकेको जनाएका छन् । स्थानीय प्रशासन कार्यालयमा आज बसेको बैठकले ३ बुँदे सहमति समेत गरेको छ ।

जसमा आइतवारदेखि सिम्रौनगढका सबै सामुदायिक विद्यालयहरू, नगर अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तह अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरू सञ्चालन गर्ने, स्थानीय तहका स्थायी, अस्थायी करारका कर्मचारीहरूको बाँकी तलब सुविधा पुस १५ गतेभित्र भुक्तानी गर्ने र शिक्षा, स्वास्थ्य, नगर अस्पताल तथा करारका कर्मचारीहरूको माग सम्बन्धमा क्रमशः सम्बोधन गर्दै जाने सहमतिमा उल्लेख छ । 

प्रजिअ सापकोटाले  पुस १५ गते अगावै खाता सञ्चालन गरेर कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब, भत्ता खुवाउने टार्गेट रहेको बताएका छन् । ‘प्रमुख जिल्ला अधिकारीले बोलेको छु, तपाईंहरुले १५ गते अगावै तलब भत्ता पाउनुहुन्छ’ सापकोटाले भने, ‘तलब भत्ता खाइसकेपछि मेयर साबले क्रमशः तपाईंहरुसँग बसेर सबै सहमति कार्यान्वयन गर्दै जानुहुन्छ ।’

सो छलफलमा  नगरप्रमुख किशोरीप्रसाद कलवारले भएका सहमति कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएका छन् । तर वडाध्यक्षहरूले भने नगरप्रमुख कलवारले यसअघि पटक पटक गरेका सहमतिहरू कुनै पनि कार्यान्वयन नगरेको गुनासो गरेका छन् । 

si2si1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप